देशमा भारतको प्रभाव कम गर्ने प्रतिज्ञा गरेका माल्दिभ्सका राष्ट्रपति ५ दिने भारत भ्रमणमा

 असोज २०, २०८१ आइतबार १८:३०:५ | एजेन्सी
unn.prixa.net

तस्वीर : एएनआई

निकै बिग्रिएको सम्बन्ध सुधारका लागि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आजदेखि भारत भ्रमणमा जानुभएको छ । राष्ट्रपतिमा नियुक्त भएपछि भारतसँग विभिन्न विषयमा बिग्रिएको सम्बन्ध सुधारमा मुइज्जुको पाँच दिने भ्रमणले भूमिका खेल्ने बीबीसी हिन्दीले जनाएको छ ।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले भारत भ्रमणका क्रममा राहत प्याकेज माग्ने सम्भावना पनि छ ।  माल्दिभ्सले ८ अर्ब डलरको सार्वजनिक ऋण र आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

माल्दिभ्समा भारतको प्रभाव कम गर्ने प्रतिज्ञासहित गएको वर्ष चुनाव जितेका मुइज्जु सत्तामा आएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण छ । निर्वाचित भएपछि भारतबाटै भ्रमणको शुरू गर्ने चलन तोड्दै मुइज्जुले चीन र टर्कीको भ्रमण गर्नुभएको थियो । टर्की र चीनको भ्रमणलाई भारतको उच्चस्तरीय कूटनीतिक अपमानको रूपमा व्याख्या भएको थियो ।

यस्तै माल्दिभ्समा मुइज्जु सत्तामा आएपछि मन्त्री र अन्य नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई तानाशाही र इजरायलको कठपुतली भनेका थिए । त्यसपछि भारतले घुमाउरो हिसाबले धम्की दिएको थियो । राष्ट्रपति मुइज्जुले पनि माल्दिभ्स सानो देश भए पनि कसैले आफूहरूलाई धम्काउने अधिकार नभएको जवाफ दिनुभएको थियो । मुइज्जुको प्रशासनले चिनियाँ अनुसन्धान जहाज सियाङ याङ हङ–३ लाई पनि आफ्नो बन्दरगाहमा पुग्न अनुमति दिएपछि भारत झनै झस्किएको थियो ।

खाद्य, पूर्वाधार निर्माण र चिकित्सा सेवालगायत धेरै विषयमा भारतसँग निर्भर रहेको माल्दिभ्सको अवस्था बिग्रिन थालेपछि राष्ट्रपति मुइज्जु भारतसँग नजिक नभई नहुने अवस्थामा पुग्नुभएको छ । मुइज्जुले यस वर्षको जुन महिनामा नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिएपछि दुई देशबीचको सम्बन्ध सुमधुर भएको छ । त्यसपछि भारतीय विदेशमन्त्री एस जयशङ्करको अगस्ट महिनामा भएको माल्दिभ्स भ्रमणले पनि द्विपक्षीय सम्बन्धमा नयाँ जीवन दिएको छ ।

गएको जनवरीमा राष्ट्रपति मुइज्जुको प्रशासनले माल्दिभ्समा रहेका ८० जना सैनिक फिर्ता बोलाउन भारतलाई अल्टिमेटम दिएको थियो । तर आफूले सहयोगमा दिएका हेलिकप्टरको सञ्चालन र मर्मतका लागि सेना माल्दिभ्समा रहेकाले यो विषयलाई ठूलो नबनाउन भारतले आग्रह गरेको थियो । अन्तिममा दुवै देशले विमान सञ्चालन गर्नका लागि सैनिकको बदलामा भारतीय नागरिक प्राविधिक कर्मचारीमा नियुक्त गर्ने सहमति गरेका छन् ।

यस्तै पदभार ग्रहण गरेको एक महिनापछि मुइज्जुको प्रशासनले भारतसँग हाइड्रोग्राफिक सर्वेक्षण सम्झौता नगर्ने घोषणा पनि गरेको थियो । यो विषयमा मुइज्जु अहिले पनि अडिग हुनुहुन्छ ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया