भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार 'एआई' सम्बन्धी आविष्कारका लागि २ जनाले संयुक्त रूपमा पाउने

 असोज २२, २०८१ मंगलबार १८:९:११ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसियल इन्टेलिजन्स (एआई) सम्बन्धी अनुसन्धानका लागि दुई जना वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन् । अमेरिकी वैज्ञानिक जोन जे हप्फील्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनलाई भौतिकशास्त्रतर्फको पुरस्कार दिने निर्णय भएको बीबीसीले जनाएको छ ।

आर्टिफिसिएल न्यूरल नेटवर्कमार्फत मेशिन लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविष्कार गरेकोमा उनीहरूलाई पुरस्कार दिने निर्णय गरेको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ ।

मेशिन लर्निङ भनिने विधि एआईको महत्त्वपूर्ण अङ्ग हो । यसले कम्प्युटरलाई सूचना उत्पादन गर्न सक्ने बनाउँछ । कम्प्युटरमा प्रयोग गर्ने अनेकौं प्रविधिमा, इन्टरनेट सर्चदेखि तस्वीर सम्पादन गर्नसम्म यसको प्रयोग भएको हुन्छ ।

हप्फील्ड अमेरिकको प्रिन्स्टन युनिभर्सिटीमा र हिन्टन क्यानडामा रहेको युनिभर्सटी अफ टोरन्टोमा प्राध्यापन गर्नुहुन्छ । उहाँहरूले एक करोड १० लाख स्विडिश क्रोनर र पदक संयुक्त रूपमा पाउनुहुनेछ ।

भौतिकशास्त्रतर्फ अहिलेसम्म दुई सय २४ जनाले नोबेल पुरस्कार पाएका छन् । गएको वर्ष सुक्ष्म कालखण्ड पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि तीन जना भौतिकशास्त्री पुरस्कृत भएका थिए ।

पुरस्कार छनाेट समितिले हिजो चिकित्साशास्त्रतर्फको पुरस्कार घोषणा गरेको थियो ।

नोबेल पुरस्कार समितिका अनुसार भोलि रसायनशास्त्र, पर्सि बिहीवार साहित्य, शुक्रवार शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फ पुरस्कार विजेताको नाम घोषणा हुने छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया