बीपी राजमार्गमा ठूला गाडी चलाउन रोक, साना गाडी चलाउँदा सावधानी अपनाउन आग्रह

 असोज २८, २०८१ सोमबार १५:४५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनका लागि पहिरो पन्छाउने र साघुँरो सडक फराकिलो बनाउने काम भइरहेको छ । अहिले पनि ठूला मेसिनको प्रयोगबाट अवरुद्ध सडकमा काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले उज्यालोलाई जानकारी दिनु भयो ।

उहाँले सुक्खा पहिरोले अवरुद्ध बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्ले खण्डमा अहिले पनि दुई पाङ्ग्रे तथा साना गाडीलाई मात्रै आलोपालो गरेर चल्न दिइएको बताउनु भयो । कच्ची बाटो भएकाले सकभर फोर ह्वीलर गाडी मात्रै चलाउन प्रहरीको आग्रह छ । दुईतर्फी सडक खुलाउने प्रयास भइरहे पनि अझै केही समय लाग्ने उहाँको भनाइ छ ।

त्यस्तै अझै पनि सडकको अवस्था कमजोर रहेकाले ठूला गाडी चलाउन रोक लगाइएको छ । दुई पाङ्ग्रे तथा साना गाडीबाट यात्रा गर्नुपरेमा सावधानीपूर्वक यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो ।

बीपी राजमार्गको विकल्पमा हेटौँडाबाट काठमाण्डौ आउने गाडीका कारण हेटौँडा–काठमाण्डौ छोटा सडकमा गाडीको चाप छ । कान्ति लोकपथको ललितपुरको बगुवामा बाग्मतीले पुल नै बगाएपछि बनाएको अस्थायी डाइभर्सन एकतर्फी हुँदा लामोे जाम हुनेगरेको छ । फर्पिङ–कुलेखानी सडक पनि धेरै ठाउँमा एकतर्फी छ । त्रिभुवन राजपथ हुँदै नौबिसे निस्किएर काठमाण्डौ आउने सडक भने ठिकठाक रहेको छ ।

यस्तै, काठमाण्डौ–नौबिसे मुग्लिन सडक ठाउँ ठाउँमा पहिरोले बिग्रिएकाले कतै जाम र कतै कष्टकर यात्रा रहेको छ । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक धुलाम्मे र खाल्डाखुल्डी हुँदा यात्रुले दुख पाइरहेका छन् भने गाडी बिग्रने समस्या पनि बढेको छ । 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया