रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

 कात्तिक ४, २०८१ आइतबार ८:३७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । कास्की प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागेको हो ।

लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अस्ति शुक्रवार बेलुकी काठमाण्डौबाट पक्राउ गरेर राति पोखरा लगेको थियो । पोखरामा रहेको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा अदालतले पूर्वगृहमन्त्री लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । लामिछानेमाथि सूर्यदर्शनलगायतका सहकारी ठगीको आरोप छ ।

लमिछानेलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिश गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत मिडियामा लगेर अपचलन गरेको आरोप छ । गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा र काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको कम्तीमा ६५ करोड ५४ लाख रुपैयाँ बचत रकम राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ल्याइएको र त्यसको धेरैजसो रकम लामिछानेले आफैँले चेक काटेर खर्च गरेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच लामिछानेविरुद्ध परेको सहकारी ठगी र सङ्गठित अपराध मुद्दा प्रभावित बनाउन रास्वपा कार्यकर्ता आन्दोलनमा लागेको भन्दै सहकारी पीडितले पनि आन्दोलन घोषणा गरेका छन् । उनीहरूले पीडकको पक्षमा नभई पीडितको पक्षमा साथ दिन पनि आग्रह गरेका छन् ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया