घाम चिह्नलाई दानको घर, घाम नामलाई मामाको घर

 कात्तिक ४, २०८१ आइतबार १३:०:४७ | मिलन तिमिल्सिना
unn.prixa.net

यो दशैँमा घामको नाम बडो ख्यातनाम भयो । दशै नसकिँदासम्म एउटाले नाम कमायो । दशै सकिँदा अर्कोले त्योभन्दा ठूलो नाम कमायो । दशैँ लाग्दालाग्दै घाम पार्टीले एउटा मामाबाट जग्गादान पायो । दशैँ सकिएपछि घण्टी पार्टीका माउ नेताले मामाघरको मेजमानी पाए । दशैँअघि घाम बादल र झरीभित्र थियो, सबैले दुःख मात्रै पाए । दशैँमा पारिलो घाम लागेपछि घाम पार्टीले दान पायो । दशैँपछि घाम मधुरो हुन के थालेको थियो, घण्टी पार्टीका घामनामी नेताले मामाघरको मेजमानी पाए ।

त्यसैले हामी पनि गफको शुरुआत दशैँअघि प्राप्त जग्गादानको कुराबाट गरौँ । घामसँग जोडिएको पार्टी अहिले सरकारको नेतृत्वमा छ । घामपार्टीका मुलीले चमत्कार मात्रै गर्न जानेका छन् । कहिले डाँडापाखामा रेल कुदाउँछन्, कहिले खोलानालामा पानीजहाज । अहिलेसम्म कुनै सरकारले गर्न नसकेको काम चुड्कीको भरमा सिध्याउँछन् । मुखले बोलेअनुसार काममा नदेखिएर पो, नत्र अहिलेसम्म के के पो भैसक्थ्यो !

देश र पार्टीका यी मूलीले नजानेको क्यै छैन । नागरिकको पीर व्यथादेखि देश दुनियाँका दर्शन, शास्त्र, विधि, प्रविधि सबै जानेका छन्, तर बिचरा बालाई धेरै कुरा थाहा छैन । त्यसैले कहिले यही ठाउँमा पहिरो खस्छ भनेर कसले भन्या थियो भन्दै मौसम भविष्यवाणी गर्ने विधि, प्रविधि र शास्त्रको खिल्ली उडाउँछन् । भ्यू टावरको टुप्पोबाट दुरबिन तेर्साएर सबैतिर सबैथोक ठीकठाक छ भनेर दङ्ग पर्छन् । बिहानदेखि बेलुकासम्मै सुशासनका गफ हाँक्छन्, तर भ्रष्टाचारको दाग लागेकाहरूसँग उठबस गर्न पनि मरिहत्ते गर्छन् । दान, दक्षिणा र प्रलोभनमा फस्छन् ।

बाढी पहिरोको शोक भन्दै यसपालिको दशैँमा अरूलाई अक्षता लगाइदिने परम्परा रोकेका घामपार्टीका मूलीले दक्षिणा चाहिँ करोडभन्दा पनि बढीको थापे । आफ्ना लागि होइन, पार्टीका लागि भन्दै । पार्टीका नेता, कार्यकर्ता र अरू नागरिक दशैँको टीकाटालोमा व्यस्त हुँदा घामपार्टीका मूलीले भ्रष्टाचारको आरोप खेपिरहेका व्यवसायीले दान गरेको जग्गा र शीर रातो टीकाले रङ्गाए । त्यसपछि घाम चिह्नवाला पार्टीभित्र बादल मडारियो । तर आफ्नै पार्टीका नेता कार्यकर्ताले समेत विरोध गर्दा पनि घामपार्टीका मूली पार्टीको घरलाई ‘मीनभवन’ बनाउन तल्लीन छन् ।

दशैँमा घाम चिह्नलाई दक्षिणाको घर मिलिरहँदा घाममा नाम मिल्ने नेतालाई चाहिँ दशैँ सकिनेबित्तिकै मामाघरको मेजामानी जुरेको छ । घामलाई सूर्य पनि भन्छन्, रवि पनि । घाम चिह्नका मूली दान थापेर चम्किएको बेला घाम नामका रवि मामाहरूको मेजमानी खान पोखरा पुगेका छन् । मामाहरूको मेजमानीमा खानपान र बासको भव्य व्यवस्था त हुने नै भयो । मामाहरूले काठमाण्डौबाट जहाज चढाएर पोखरा लैजान खोजेका थिए । तर जहाज उड्ने आकाशमा घाम र बादल मात्रै छन्, कार्यकर्ता छैनन् । आफ्नो नाम घामसँग जोडिए पनि आकाशको घामले चिन्दैन, समर्थनमा नारा लगाउँदैन । त्यसैले सडकको बाटो रोजे । सुत्ने तरखरमा लागेका कार्यकर्तालाई सडकमा बोलाए । रातमा समेत सडकमा भीड देखेर दङ्ग परे । ०८४ को चुनाव यही बेला यही सडकमा गर्न पाए कसो होला भनेर गमक्क परे ।

सूर्य नाम गरेका संसद्का एक सदस्य संयोजक रहेको संसदीय समितिले सहकारीको दाम हिनामिनामा नाम जोडेपछि रविलाई सूर्य पार्टीकै नेतृत्व रहेको सरकारले मामाघर पठायो । तर सडक र चोकमा उर्लेका कार्यकर्ता उनलाई फसाएकोमा उफ्रन पाएर दङ्ग छन् । त्यति देखेपछि उनलाई मामाघरको मेजमानीमा थप स्वाद प्राप्त भएको छ ।

त्यसो त घामसँग जोडिएका रविलाई मामाको साथमा पठाएपछि धनसँग जोडिएका धनराज हुन् वा शक्तिसँग जोडिएका शक्तिराजहरूबारेका प्रश्न पनि उठेका छन् । दाइ, भाउजू, देवर, बा, छोराहरू संलग्न सबैलाई कानूनको कठघरामा ल्याउन कसको घैँटोमा घाम लाग्ला भनेर पर्खनेहरू धेरै छन् । तर घामसँग नाम र चुनाव चिह्न जोडिएका/नजोडिएका सबै आफूलाई परिवर्तन र उज्यालोको प्रतीक मान्छन् । घाममा लाग्ने ग्रहणलाई जस्तै आफूमा लागेको दागलाई स्वाभाविक र सामान्य ठान्छन् । आफ्नो अनुहारमा लागेको दाग नदेख्दासम्म यिनीहरूले हिँड्ने र देखाउने बाटो सधैँ अँध्यारो हुने निश्चित छ । नाममा घाम र चुनाव चिह्नमा घाम भएर मात्र के गर्नु !

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया