देशभरका सबै सरकारी कार्यालयमा डेङ्गीविरुद्धको अभियान सञ्चालन हुने

 कात्तिक ९, २०८१ शुक्रबार ८:३४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले हरेक हप्ता शुक्रवार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेङ्गी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय गरेको छ ।

डेङ्गी सङ्क्रमणको बढ्दो स्थितिलाई हेर्दै स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले शुक्रवार १० बजे १० मिनेटका लागि सबै सरकारी कार्यालयमा सरसफाई अभियान चलाउने निर्णय गरेको हो ।

सरकारी कार्यालयमा रहेको ग्यारेजसहितका ठाउँहरुमा प्रयोगविहीन टायर वा गाडीमा पानी जमेर बस्ने तथा त्यसले डेङ्गी फैलाउने लामखुट्टेको फैलावटमा मद्दत पुग्ने भएकाले त्यस्ता सबै ठाउँको सरसफाई गरिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी सार्ने लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी रूपमा सञ्चालन गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले लामखुट्टेको प्रजनन्स्थल नष्ट गर्ने अभियानलाई कम्तीमा हप्ताको एकपटक सञ्चालन गर्न आह्वान गर्नुभएको हो ।

डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल जस्तै पानी जम्ने ठाउँ खोजी लामखुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कामलाई कम्तीमा हप्ताको एकपटक शुक्रवार १० बजेर १० मिनेट देशव्यापी अभियानका रूपमा सञ्चालन गर्न उहाँको अपील छ ।

डेङ्गी लामखुट्टेबाट सर्ने र थोरै जमेको पानीमा पनि लामखुट्टेले फुल पार्ने भएकाले त्यस्तो पानी कतै जम्न नदिन विज्ञहरुले सुझाव दिँदै आएका छन् ।
 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया