जथाभाबी 'हर्न' बजाउन रोक्न ट्राफिक प्रहरीले 'प्ले कार्ड' मार्फत सचेतना जगाउँदै

 कात्तिक ९, २०८१ शुक्रबार १५:१२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ट्राफिक प्रहरीले केही दिनयता काठमाण्डौका चोकचोकमा 'नो हर्न' लेखिएका 'प्ले कार्ड' सहित गाडी चालकको नजिकै गएर अनावश्यक हर्नको प्रयोग नगर्न अनुरोध गरिरहेको छ ।

काठमाण्डौ उपत्यकामा २०७४ साल वैशाख १ गतेदेखि 'हर्न निषेधित क्षेत्र' घोषणा भएको थियो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा ध्वनि सङ्केत दिन निषेध गरेको ठाउँमा 'हर्न' बजाएमा ट्राफिक नियम उल्लङ्घन हुने व्यवस्था छ । कानूनी व्यवस्था हुँदाहुँदै पनि कतिपय चालकले लापर्बाही गरी अनावश्यक रूपमा 'हर्न' बजाउने गरेका ट्राफिक प्रहरीको भनाइ छ ।

अनावश्यक 'हर्न' बजाएर उत्पन्न हुने ध्वनि प्रदूषणलाई कम गर्न कडाइका साथ प्रस्तुत हुँदै आएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा गुड्ने झन्डै १५ लाख गाडीबाट निस्किने धुवाँसँगै ध्वनि प्रदूषणका कारण जनस्वास्थ्यमा ठूलो असर गरेको र यसको प्रत्यक्ष मारमा ट्राफि प्रहरी पनि पर्ने गरेका डीआईजी बोहराले बताउनुभयो ।

जथाभाबी 'हर्न' बजाउन रोक्न कारबाहीसँगै चोकचोकमा 'प्ले कार्ड' देखाएर चालकलाई थप सचेत गराउने प्रयत्न भइरहेको उहाँले बताउनुभयो । यसले अनावश्यक 'हर्न' बजाउने प्रवृत्तिमा कमी आउने र ध्वनि प्रदूषण नियन्त्रणमा आउने अपेक्षा रहेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी बोहराले उल्लेख गर्नुभयो ।

ट्राफिक प्रहरीले यही कात्तिक १ गतेदेखि 'हर्न' निषेधलाई थप कडाइ गर्दै चोकचोकमा 'प्ले कार्ड' सहित सचेतना अभिवृद्धि गर्ने कार्य गर्दै आएको छ । त्यसयता नौ सय ६६ जना चालक अनावश्यक 'हर्न' को प्रयोग गरेको कसूरमा कारबाहीमा परेका छन् । जथाभाबी 'हर्न' बजाउन जरुरी छैन भन्ने सन्देश प्रवाह गर्न चालकले धैर्य भई अनावश्यक 'हर्न' नबजाइकन यात्रा गर्न र 'नो हर्न' अभियानलाई सफल बनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया