दाम एक, रूप अनेक : कतै दानको दाग र कतै हिरासतको बास !

 कात्तिक ११, २०८१ आइतबार १३:४२:४ | मिलन तिमिल्सिना
unn.prixa.net

दशैँमा लाखौंले दक्षिणा थापे, तर एक जनाले दान ! दक्षिणाको चर्चा दशैँसँगै सकियो, तर दानको तातोले अझै एमालेका नेता कार्यकर्तालाई पोलिराखेकै छ । दानको तातोले तातेको दशैँ सकिएकै भोलिपल्ट सहकारी ठगीले हिरासत ततायो । कसैलाई दानको दामले दाग लाग्यो, कसैलाई ठगीको दामले बात लाग्यो । दानमा पनि दामकै कुरो, ठगीमा पनि दामकै कुरो । टन्न दाम कमाएर दाममै ढलीमली गर्नेहरू भन्छन्– पैसो केही होइन, हातको मैलो हो । त्यही पैसा नभएर हातको मैलोसमेत राम्ररी पखाल्न नपाएकाहरूका लागि पैसा सबैथोक हो । यता फर्के, उता फर्के, जता फर्के पनि नभई नहुने त्यही एउटा पैसो । पैसा अर्थात् दाम चाहिँ त्यही एक हो, तर रूप चाहिँ अनेक !

खेतीपाती र अरू शारीरिक परिश्रमबापत मिल्ने दामको नाम ज्याला । कार्यालयमा काम गर्ने कर्मचारीले पाउने दामको नाम तलब, तनखा र वेतन । धूलोमैलो भएर काम गरेपछि ज्याला मिल्छ, सुकिलोमुकिलो भएर काम गरेपछि तलब मिल्छ । ज्यालामा मिल्ने पनि दाम नै हो, तलबमा मिल्ने पनि दाम नै हो । तर ज्याला र तलबमै कति धेरै भेदभाव । ज्याला बुझ्नेलाई पेन्सन नमिल्ने टेन्सन, तलब बुझ्ने धेरैलाई चाहिँ पेन्सनको नो टेन्सन !

आफूसँग दाम नभएर साथीभाइसँग माग्नुपर्दा सापटी । त्यही सापटीलाई अलि कसेर लिनुपर्दा ऋण । त्यही ऋण बैंकसँग लिँदा कर्जा । कर्जा र ऋणबापत बुझाउनुपर्ने अतिरिक्त दाम चाहिँ ब्याज । लेनदेन हुने त्यही दाम हो । तर त्यही दाम कुनै बेला सापटीमा सीमित हुन्छ, कुनै बेला ऋण र कर्जामा जरो गाड्छ र ब्याजमा फैलिन्छ ।

ज्याला, मजदूरी, ऋणधन र सापटी गरेर जोहो गरेको दाम बिजुली र खानेपानीको अड्डा अनि स्कुल, क्याम्पसमा बुझाउनुपर्छ । ती ठाउँमा बुझाउँदा चाहिँ दामको नाम हुन्छ शुल्क । अर्थात् खानेपानी र बिजुली अड्डा अनि स्कुल, क्याम्पसमा शुल्क बुझाउनुपर्छ । शुल्क मात्रै बुझाएर सुख पाइँदैन, कहिलेकाहीँ समयमै बुझाउन सकिएन भने थप शुल्क तिर्नुपर्छ । त्यसको नाम जरीमाना हुन्छ । शुल्कमा बुझाउने पनि दाम नै हो, जरीमानामा बुझाउने पनि दाम नै हो । तर शुल्क तिर्दा जरीमाना भन्न मिल्दैन, जरीमाना तिर्दा शुल्क भन्न पाइँदैन ।

दाम बुझाउने ठाम त कति छ कति ! आफ्नै घरजग्गा छ भने हरेक वर्ष वडा कार्यालयमा दाम तिर्नुपर्छ । अर्काको घरजग्गामा भाडामा बसिएको छ भने हरेक महिना घरबेटीलाई दाम बुझाउनुपर्छ । वडा कार्यालयमा बुझाएको चाहिँ तिरो, घरबेटीलाई बुझाएको चाहिँ बहाल । दाम त्यही हो तर घरधनीले बुझाउँदा चाहिँ तिरो हुन्छ, भाडामा बस्नेले बुझाउँदा चाहिँ बहाल । अनि सरकारलाई बुझाउने बेलामा चाहिँ फेरि त्यही दाम कर बन्छ । तिर्दिनँ भन्दा सुख नपाइने र सरकारले कर्‍यापझ्याप पारेर असुल गर्ने दामको नाम कर हुन्छ । फूल सार्दा पनि कर, पुल तर्दा पनि कर । जता फर्के पनि करकै डर । बुझाएको कर कहाँ के हुन्छ भर हुन्न, तर कर नतिरी धर पाइँदैन ।

सरकारले कर भन्दै दाम लिन्छ । पुलिसले चाहिँ जरीमाना । अपहरणकारीले दाम माग्नुपर्‍याे भने फिरौती भन्छ । श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेद भयो भने श्रीमान‍्ले श्रीमतीलाई निर्वाह व्यय दिनुपर्छ । मलाई त अहिलेसम्म शुल्क र करबाहेक अरूको चिन्ता छैन भनेर के गर्नु जरीमाना र निर्वाह व्ययले कुन दिन निम्तो दिन बेर मान्दैन ।

हरेक ठाउँमा दाम बुझाउनुपर्ने चिन्ताले होटलतिर पस्यो, त्यहाँ चाहिँ टिप्स बुझाउनुपर्छ । दिनुहँ गाडीमा ओहोरदोहोर गर्दा भाडा बुझाउनुपर्छ । तिर्ने त्यही दाम हो, होटलमा तिर्दा टिप्स अनि बसमा तिर्दा चाहिँ भाडा !

दामको यतिसम्मको रूप त ठिकै थियो । तर त्यही दामले घुस, ठगी र दानको रूप लिँदा धेरैलाई बेरूप बनाएको छ । सरकारी अड्डामा भुसमुनिको आगोझैँ फैलिएको घुसले बेलाबेला कर्मचारीलाई ढुस बनाउँछ । ठगी र दानले चाहिँ नेतालाई । अहिले कोही नेतालाई ठगी काण्डको हतकडी लागेको छ, कोही नेतालाई दानको दाग । तिहारको रमझममा दानको दर अझै बढ्छ । देउसीभैलो भट्याएर मिल्ने कात्तिकको दान पनि दान, व्यापारी पट्याएर मिल्ने असोजको दान पनि दान । दानमा मिल्ने दाममा कतै दागको चिन्ता, कतै भागको । दाम नभएर कतिलाई बैराग, कतिको दाममा चाहिँ घुस र दानको राग ! तपाईंसँग भएको दाममा त छैन होला नि केहीको दाग ?

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया