तिहारमै झिलिमिली बत्तीसहितका विद्युतीय सामग्रीको व्यापारमा कमी

 कात्तिक १२, २०८१ सोमबार १८:२५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – तिहारको बेलामा नै विद्युतीय सामग्रीको व्यापारमा कमी आएको व्यवसायीहरूले बताएका छन् । पोहोरकै विद्युतीय सामग्री बिक्री नभएकाले यस वर्ष नयाँ सामग्री खासै नकिनेको व्यवसायीहरूको भनाइ छ ।

तिहारमा धेरै बिक्री हुने भनेको झिलिमिली बत्ती हो । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था कमजोर रहेको बताउनुभयो । उहाँका अनुसार विगतका वर्षहरूमा झैँ यस वर्ष विद्युतीय सामग्रीको व्यापार छैन ।

कोलकताबाट वीरगञ्ज नाका हुँदै भारतबाट आउने सामान आइसकेको भए पनि तातोपानी र केरुङ नाका भएर चीनबाट आउने विद्युतीय सामग्री आएका छैनन् । तातोपानी नाकाबाट केही दिनभित्रै सामग्री आउने जानकारी पाए पनि बजार भने काठमाण्डाै केन्द्रित मात्रै हुने निश्चित भएको महासङ्घका अध्यक्ष देवकाेटाको भनाइ छ ।

महासङ्घले यस वर्षको तिहारमा ३० करोड रुपैयाँसम्मको सामान बिक्री गर्ने अनुमान गरेको छ । तर विगतका वर्षहरूमा ५०/६० करोड रुपैयाँको विद्युतीय सामग्रीको व्यापार हुन्थ्यो ।

काठमाण्डौको सुन्धारामा विद्युतीय सामग्रीको व्यापार गर्दै आउनुभएका सुशील प्रधानाङ्गले पनि अहिले व्यापार खासै राम्रो नभएको गुनासो गर्नुभएको छ । पैसाको अभावका कारण नै बजारमा चहलपहल कम रहेको व्यापारी प्रधानाङ्गको भनाइ छ ।

सुन्धारा क्षेत्रमै विद्युतीय सामग्रीको व्यवसाय गर्दै आउनुभएकी सङ्गीता श्रेष्ठ पनि यस वर्ष खासै व्यापार नभएको बताउनुहुन्छ । रमाइलो गर्ने युवा जनशक्ति बाहिरिँदा यस्ता व्यापारमा समेत असर पर्ने गरेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया