चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेशन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ ।
धरापानी सबस्टेशन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । खुदी सबस्टेशन आउँदाे तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेका छन् । धारापानी सबस्टेशन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने ठाउँ, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरूको निर्माण धमाधम भइरहेको छ ।
धारापानी र खुदी सबस्टेशनमा क्रमशः २२०/१३२ केभी, १०० एमभीए तथा १३२/३३ केभी, ३० एमभीए र २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरू रहने छन् । दुवै सबस्टेशनमा स्थानीय रूपमा बिजुली आपूर्तिका आवश्यक व्यवस्था गरिएको छ । निर्माण सम्पन्न भई सबस्टेशनबाट स्थानीय रूपमा बिजुली आपूर्ति शुरू भएपछि लमजुङ र मनाङको बिजुली आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत सबस्टेशन तथा प्रसारण लाइन निर्माण प्रगति, निर्माणमा भइरहेका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी जनशक्ति थप गरी प्रसारण लाइन तथा सबस्टेशन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गर्नुभएको छ । साथै कार्यकारी निर्देशक घिसिङले धारापानी क्षेत्रका स्थानीयवासीसँग छलफल गरी सबस्टेशन तथा प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको छ ।
‘मर्स्याङ्दी करिडोर प्रसारण लाइनमा जोड्ने गरी सम्झौता गरिएका जलविद्युत् आयोजनाहरूको निर्माण शुरू भइसकेको छ, त्यसैले यो लाइन जतिसक्दो छिट्टो निर्माण सम्पन्न गर्नुपर्ने छ । समयतालिका, कामको गुणस्तरलगायतलाई विशेष ध्यान दिएर निर्माणलाई तीव्रता दिनुपर्ने छ’, घिसिङले भन्नुभयो, ‘भौगोलिक विकटतालाई चिर्दै मनाङमा राष्ट्रिय प्रसारण लाइनको बिजुली त पुगेको छ तर भरपर्दो र गुणस्तरीय बिजुली आपूर्तिको समस्या छ, आपूर्तिकाे सुधारका लागि पनि जतिसक्दो छिटो प्रसारण लाइन तथा सबस्टेशन निर्माण सम्पन्न गर्नुपर्ने छ ।’
सबस्टेशन निर्माणस्थल वरपरका स्थानीयवासीले राखेका जायज माग पूरा गर्न आयोजना सधैँ तयार रहेको बताउँदै घिसिङले पर्यटकीयस्थल मनाङको बिजुली आपूर्ति सुधारका लागि योजनाबद्ध रूपमा काम अगाडि बढाइसकिएको उल्लेख गर्नुभयो ।
मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना शुरू गरिएको हो । प्रसारण लाइनबाट झन्डै १ हजार ६ सय मेगावाट बिजुली प्रवाह गर्न सकिने छ ।
आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको १ सय १४ किलोमिटर डबल सर्किट प्रसारण लाइनलाई तीन वटा प्याकेजमा विभाजन गरी निर्माण अगाडि बढाइएको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै नयाँ भरतपुर सबस्टेशनसम्मको झन्डै ६८ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । यस खण्डमा पर्ने १ सय ९९ वटा टावरमध्ये १ सय २५ वटाको जग हालिएको छ । ६५ वटा टावर खडा गरिएको छ । बाँकी ठाउँमा काम भइरहेको छ ।
दोस्रो प्याकेजअन्तर्गत लमजुङको उदीपुर र चितवनको भरतपुरमा २२० केभीका सबस्टेशन निर्माण सम्पन्न भइसकेका छन् ।
तेस्रो प्याकेजअन्तर्गत धारापानी–खुदी–उदीपुर ४६ किलोमिटर प्रसारण लाइन र धारापानी तथा खुदी सबस्टेशन निर्माणाधीन छन् । खुदी–उदीपुरकाे झन्डै १६ किलोमिटर प्रसारण लाइन खण्डमा १७ वटा टावरको जग हालिएको छ । यस्तै ८ वटा खडा गरिएको छ । यस खण्डअन्तर्गत बेसीँशहर नगरपालिका–८ का केही स्थानीयवासीले प्रसारण लाइनको मार्ग परिवर्तन गर्नुपर्ने र यदि लाइन नसार्ने भएमा मार्गधिकारमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने माग राख्दै विगत दुई वर्षदेखि अवरोध गर्दै आएका छन् । याे ठाउँमा १२ वटा टावर निर्माण गर्नुपर्ने छ । टावर निर्माणका लागि जग्गा अधिग्रहणका लागि मुआब्जा रकम निर्धारण भई झन्डै ८० प्रतिशत जग्गाधनीले रकम बुझिसकेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई भेटेर खुदी–उदीपुर खण्डमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गर्नुभयो । ‘दुई वर्षदेखि निर्माणमा अवरोध छ, हाम्रोतर्फबाट स्थानीयवासीका जायज माग पूरा गर्ने प्रतिबद्धता पटक–पटक जनाउँदै त्यही बमोजिम काम पनि गरिरहेका छौँ, यस्तो महत्त्वपूर्ण प्रसारण लाइन निर्माण अब रोक्न सकिँदैन, यसका लागि आवश्यक सहयोग सहजीकरण गरिदिनु पर्याे’, घिसिङले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो ।
निर्माणमा देखिएको अवरोध हटाउन स्थानीय प्रशासनका तर्फबाट सहजीकरण तथा समन्वय भइरहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले राष्ट्रिय प्राथमिकता प्राप्त प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गरिने बताउनुभयो ।
खुदी–धारापानी खण्ड प्रसारण लाइन निर्माणका लागि अधिग्रहण गरिने निजी जग्गाको मूल्याङ्कनको प्रक्रियामा छ । यस खण्डमा भौगोलिक रूपमा विकट र चुनौतीपूर्ण ठाउँमा प्रसारण लाइन निर्माण गर्नुपर्ने छ ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआईबी) को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको समग्र अनुमानित लागत झन्डै १६ अर्ब रुपैयाँ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।