आज विश्व शौचालय दिवस : सार्वजनिक शौचालयको अवस्थामा सुधार, ढल र नाली व्यवस्थापनमा अझै समस्या

 मंसिर ४, २०८१ मंगलबार ८:०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विश्व शौचालय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १९ तारिखमा सरसफाइका लागि शौचालयको महत्त्वबारे चेतान जगाउन विश्व शौचालय दिवस मनाउने गरिन्छ ।

यो वर्ष संयुक्त राष्ट्र सङ्घले सुरक्षित शौचालयको प्रयोगलाई शान्तिसँग जोडेर नारा तय गरेको छ । विश्व शौचालय दिवसको अवसरमा नेपालमा सप्ताहव्यापी रूपमा सुरक्षित सरसफाइको व्यवस्था नभएको समुदाय र ठाउँलाई लक्षित गरी विभिन्न कार्यक्रम भइरहेका छन् ।

नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त घोषणा गरिएको हो । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो । तर खुला दिसामुक्त देश घोषणा भएको पाँच वर्षसम्म पनि  नेपालको पूर्ण सरसफाइसम्बन्धी अभियान आवश्यकताअनुसार अघि बढ्न सकेको छैन ।

निजी शौचालयको प्रयोग बढेको भए पनि अझै झण्डै ५ प्रतिशत जनसङ्ख्या शौचालय प्रयोगको पहुँचमा छैनन् ।

बढ्दो शहरीकरण र सार्वजनिक खुला ठाउँको अभावले शहरी क्षेत्र वा बाक्लो मानव बस्ती भएका ठाउँमा अति आवश्यक सार्वजनिक शौचालयको निर्माण र प्रयोगमा झन् चुनौती रहेको सरसफाइको क्षेत्रमा काम गर्दै आएको स्मार्ट वास सोलुसनका अध्यक्ष इञ्जिनीयर रामदीप साहले बताउनुभयो । सबैभन्दा धेरै समस्या ढल र नाली व्यवस्थापनमा रहेको उहाँको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ । तर सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ६ वर्षमात्र बाँकी रहँदा नेपालको कार्यप्रगति भने सुस्त गतिमा भइरहेको छ ।

यसैबीच, पछिल्लो समय राजमार्गहरुमा सार्वजनिक शौचालयको अवस्था सुधार भएको छ । तर राजमार्गका सार्वजनिक शौचालय व्यवस्थित बन्दै गएका बेला व्यवस्थापनका लागि भएका मापदण्ड पालना नहुँदा भने दिगो हुनेमा विज्ञहरुले शङ्का व्यक्त गरेका छन् । महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण भए पनि महिलामैत्री भने अझै हुन सकेको छैन ।

नेपाल विकास अनुसन्धान परिषद्का वरिष्ठ अनुशन्धान विशेषज्ञ, वातावरण इञ्जिनियर डा.नवराज खतिवडाले नयाँ बनेका अत्याधुनिक प्रविधियुक्त शौचालयको व्यवस्थापन पनि राम्रो नहुँदा शौचालयको दिगोपनामा चुनौती रहेको बताउनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया