गुल्मीको धुर्काेटमा एउटै परिवारले चार सय मुरी धान फलायो
मंसिर ५, २०८१ बुधबार
सोलुखुम्बुको विकट क्षेत्र माप्य दूधकोशी गाउँपालिकामा २४ वर्षअघि नै लघु जलविद्युत् आयोजनाबाट बिजुली बल्न थालेको हो । बिजुली बलेपछि कैयौं दिन हिँडेर मट्टीतेल ल्याउनुपर्ने बाध्यता मात्रै हटेन, कुटानी पिसानी मिल पनि चल्यो । वडा नम्बर ३ का गणेश विश्वकर्माले कोइलाबाट चल्ने आरन हटाएर बिजुलीबाट चल्ने ल्याउनुभयो ।
विश्वकर्मा भन्नुहुन्छ, ‘बिजुली बल्दाको खुशी त भनिसाध्य छैन । टुकीको उज्यालोमै बस्न बाध्य हामीले बिजुली बाल्न पायौँ । घरै झलमल्ल भयो । पछि कुटानी पिसानी मिल चल्यो । केही समयपछि मैले आरन पनि चलाएँ, निकै सजिलो भएको छ ।’
सोलुखुम्बुको कर्णाली उपनाम पाएको कोशीपारिको बुङमा पनि १४ वर्षअघि ८८ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाबाट बिजुली बल्यो । आयोजनाका लागि गाउँभरका मानिसले हप्तौं श्रमदान गरे । महाकुलुङ गाउँपालिका वडा नम्बर २ की सम्झना कुलुङ बिजुली बल्दा गाउँमा नसोचेको खुशी आएको बताउनुहुन्छ ।
कुलुङ भन्नुहुन्छ, ‘सधैँभरि मट्टीतेल हुन्नथ्यो, बेलुका सिँटा बालेर काम गर्नुपर्थ्याे, बिजुलीले काममा निकै सजिलो भयो, अहिले पनि लघु जलविद्युत्बाट नै बिजुली बालिरहेका छौँ ।’
महाकुलुङ गाउँपालिकामा कुल दुई सय ७१ किलोवाट क्षमताका चार वटा लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । अहिले पनि सोलुखुम्बुका धेरैजसो गाउँमा लघु जलविद्युत् आयोजनाबाटै बिजुली बलिरहेको छ ।
लघु जलविद्युत् आयोजनामा बढ्दो सङ्कट
ग्रामीण भेगमा पनि राष्ट्रिय प्रसारण लाइन विस्तारको कामले तीव्रता पाएको छ । योसँगै लघु जलविद्युत् आयोजनाहरू सङ्कटमा पर्न थालेका छन् । माप्य दूधकोशीमा सञ्चालित लघु जलविद्युत् आयोजना उपभोक्ता समितिका सचिव महेश खालिङ राष्ट्रिय प्रसारण लाइन पुगेपछि लघु जलविद्युत् आयोजनाहरूप्रति बेवास्ता भइरहेको बताउनुहुन्छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्माण भएका झन्डै १८ सय वटा आयोजना अहिले सञ्चालनमा छन् । जसको कुल जडित क्षमता ४० मेगावाटभन्दा धेरै छ । ग्रामीण क्षेत्रमा अन्य दातृ निकायहरूको सहयोगमा पनि आयोजनाहरू बनेका छन् । सबैगरी दुई हजार वटाभन्दा धेरै आयोजना रहेका छन् । अहिले पनि बिजुलीकाे पहुँच पुगेकामध्ये झन्डै तीन प्रतिशतले 'अफग्रिड' भनिने लघु जलविद्युत्, सौर्य ऊर्जालगायतबाट बिजुली बालिरहेका छन् । तर यी आयोजनाहरूको दिगोपना र कार्यक्षमता भने चुनौतीपूर्ण रहेको छ । याे कुरा सोलुखुम्बुको ग्रामीण भेगमा पनि देखिएको छ ।
सोलुखुम्बुका धेरै गाउँमा ६० को दशकमै बिजुली बल्यो । गाडी गुड्ने सडक भेटाउन तीन/चार दिन हिँड्नुपर्ने त्यो समयमा बिजुली बाल्न गाउँलेहरूले कैयौं दिन श्रमदान र लगानी पनि गरे । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा मात्रै ३८ वटा लघु जलविद्युत् आयोजना बनेका छन् भने अन्य क्षेत्रबाट समेत गरी झन्डै ६० वटा आयोजना बने । तर अहिले कम्तीमा ६ वटा आयोजना बन्द भइसकेका छन् । अरू धेरै सङ्कटमा छन् । करोडौं लगानी र स्थानीयवासीको श्रमदान परेका आयोजना जोगाउन सके देशको नवीकरणीय ऊर्जा उत्पादनमा सहयोग पुग्ने देखिन्छ ।
माप्य दूधकोशी गाउँपालिकाको आयोजनाका सचिव महेश खालिङ भन्नुहुन्छ, ‘लघु जलविद्युत् बिग्रिएमा उपभोक्ताले नै लगानी गरेर बनाउनुपर्छ, मर्मतका लागि समय लाग्छ, यस्ता कारण पनि लघु जलविद्युत् आयोजनाहरू सङ्कटमा पर्न थालेका हुन् ।’
उहाँका अनुसार पुराना उपकरणहरूको मर्मत–सम्भार, दक्ष प्राविधिक जनशक्तिको अभाव, स्थानीयस्तरमा पार्टपुर्जाको उपलब्धता नहुनुलगायतका समस्या लघु जलविद्युत् आयोजना सङ्कटमा पर्दै जानुका कारण हुन् ।
सोलुखुम्बुमा लघु जलविद्युत् आयोजनाहरू निर्माणको अभियानमा सहभागी दिनेश राजभण्डारी सञ्चालन खर्च व्यवस्थापनमा कठिनाइ, महसूल सङ्कलनमा समस्या, लगानी आकर्षण गर्न नसक्नुलगायतका कारण यस्ता आयोजनाहरूका उपभोक्ता समितिमा बस्न अग्रसर हुनेहरूको कमीले पनि सरकारलाई मासिक महसूल बुझाउनुतर्फ लागेको पाइएको बताउनुहुन्छ ।
राजभण्डारीका अनुसार जलवायु परिवर्तनको प्रभावले बाढी पहिरोको जोखिम बढ्नु, पानीको स्रोत सुक्दै जानुजस्ता कारण पनि लघु जलविद्युत् आयोजनाहरू सङ्कटमा पर्न थालेका छन् ।
आयोजना संरक्षणका उपाय
आयोजना मर्मत, सञ्चालनलगायतको समस्या र राष्ट्रिय प्रसारण लाइनको विकल्प दुवै कारण लघु जलविद्युत् आयोजनाहरूमा सङ्कट बढिरहेको हो । यसका कारण गाउँघरमा उज्यालो दिएको धेरै बिजुलीको उत्पादन नै बन्द हुने अवस्था देखिएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल लघु जलविद्युत् आयोजनाहरूको दिगो सञ्चालनका लागि नियमित मर्मत–सम्भार र प्राविधिक स्तर वृद्धि आवश्यक रहेको बताउनुहुन्छ । स्थानीयस्तरमा दक्ष प्राविधिक जनशक्ति तयार गर्न केन्द्रले तालिम दिइरहेको भन्दै उहाँ यस्ता तालिम लिएर सञ्चालन गर्न सुझाव दिनुहुन्छ ।
यस्तै स्थानीय उपभोक्ता समितिहरूको क्षमता विकास, आयोजना व्यवस्थापनमा पारदर्शिता, नियमित अनुगमन र मूल्याङ्कन प्रणालीको विकास, उचित महसूल दर निर्धारण, आय–व्ययको पारदर्शी व्यवस्थापन, मर्मत–सम्भार कोषको व्यवस्थाजस्ता कुरा पनि लघु जलविद्युत् आयोजना संरक्षणका उपाय रहेको उहाँले बताउनुभयो ।
ढकाल भन्नुहुन्छ, ‘लघु जलविद्युत् आयोजनाहरू जोगाउन सरकारले नीतिगत सुधार गरेर सहुलियतपूर्ण ऋणको व्यवस्था, प्राविधिक सहयोगको सुनिश्चितता, आधुनिक प्रविधिको प्रयोगमा सहुलियत, स्मार्ट मिटरिङ सिस्टम र ग्रिड कनेक्टिभिटीको विकास गरेमा यस्ता आयोजनाले देशको ऊर्जा उत्पादनमा सहयोग पुर्याउँछ ।’
राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्छ
जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला राष्ट्रिय प्रसारण लाइनको पहुँचसँगै लघु जलविद्युत् आयोजनाहरू सङ्कटमा परेकाले संरक्षणका लागि प्रयास भइरहेको बताउनुहुन्छ ।
जिल्लामा सञ्चालित ठूला जलविद्युत् आयोजनाहरूलाई लघु जलविद्युत् आयोजनाको पनि जिम्मा लिएर त्यसबाट उत्पादित बिजुली स्थानीयवासीलाई निःशुल्क दिने वा त्यस्ता आयोजनाको बिजुली ठूला आयोजनाले किन्ने विकल्पमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
लघु जलविद्युत् आयोजनाहरूको संरक्षणका लागि स्थानीय स्वामित्व प्रवर्द्धन, जनचेतना अभिवृद्धि र स्थानीय रोजगारी सिर्जनालगायतका कुरा पनि आवश्यक रहेकोले त्यसतर्फ पालिकामार्फत प्रयास भइरहेको निरौलाले बताउनुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल केन्द्रले नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर 'अफग्रिड' भनिने लघु आयोजनाहरूको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने काम भइरहेको बताउनुहुन्छ । अहिलेसम्म १० वटा लघु जलविद्युत् आयोजना र एउटा सौर्य आयाेजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका कम्पनी वा सहकारीमार्फत सञ्चालन भइरहेका आयोजनाहरूले राष्ट्रिय प्रसारण लाइनमा जडान गर्दा लाग्ने लागतको ५० प्रतिशतसम्म अनुदान पनि पाउँछन् ।
नेपालको ग्रामीण विद्युतीकरणमा लघु जलविद्युत् आयोजनाहरूको महत्त्वपूर्ण योगदान रहेको छ । यी आयोजनाहरूको संरक्षण र प्रवर्द्धन गर्न सकेमा मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ । देशमा ऊर्जाको उपलब्धता र ग्रामीण क्षेत्रमा आम्दानीसमेत हुने भएकोले 'अफग्रिड' का आयोजनाहरूलाई व्यवस्थित सञ्चालनसहित उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नु नै सबैभन्दा उत्तम तरिका रहेकोले त्यहीअनुसार प्रयास भइरहेको केन्द्रका कार्यकारी निर्देशक ढकाल बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राई साेलुखुम्बुकाे साेलु एफएममा कार्यरत हुनुहुन्छ ।