जुम्लाको पातारासीमा उमेर पुगी विवाह गर्ने जोडीलाई गाउँपालिकाको बधाई पत्र

 मंसिर १६, २०८१ आइतबार ८:५३:१४ | रासस
unn.prixa.net

फाइल फाेटाे

जुम्ला – जुम्लाको पातारासी गाउँपालिकाले उमेर पुगी विवाह गर्ने जोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्दै आएको छ । गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने नव जोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्ने गरेको हो ।

हरेक वर्ष विवाह गर्ने महिनामा प्रहरी, जनप्रतिनिधि, महिला बालबालिका शाखा, बाल क्लब र अनुगमन, अभियान, अन्तरक्रिया, सडक नाटक र गाउँबस्ती बस्तीमा पुगेर बालविवाह रोकथामका लागि सचेतना कार्यक्रम गर्नेलगायत काम निरन्तर भइरहेको महिला तथा बालबालिका शाखाकी प्रमुख भगवती गिरीले बताउनुभयो ।  

बाल विवाह बढी हुने वडामा विवाहित नयाँ जोडीलाई बधाई पत्र दिएर यो कार्यको सुरूवात गरेको महिला तथा बालबालिका शाखा प्रमुख गिरीले जानकारी दिनुभयो । उमेर पुगेपछि मात्र विवाह गर्ने प्रचलनलाई प्रवर्द्धन गर्न यो उपाय अपनाइएको र यसले नयाँ पुस्तामा सही सन्देश पुर्‍याएर बालविवाह गर्ने परम्परागत हानिकारक अभ्यास अन्त्य गर्न सहयोग पुर्‍याउने विश्वास पालिकाले लिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराको भनाइ छ ।

प्रमाण पत्र दिने योजनाअनुरूप पातारासी गाउँपालिका–७ रिनीका अर्जुन खड्का र लालमाया बुढा (खड्का) लाई पहिलो बधाई पत्र प्रदानसमेत गरिएको छ । यो जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेकाले बालविवाह न्यूनीकरणको लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान गरेको गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया