जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रका महिलाको स्वास्थ्यमा चुनौती

 मंसिर २५, २०८१ मंगलबार १५:२०:४५ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने महिलाको स्वास्थ्यमा चुनौती थपिएका छन् । सोलुखुम्बुको खुम्बु क्षेत्रका स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार महिनावारीको अवधि लम्बिने, असामान्य रक्तस्राव हुने र गर्भधारणमासमेत समस्या हुने घटना बढेका छन् । यो जलवायु परिवर्तनको एक प्रभावका रूपमा लिन सकिने उहाँको भनाइ छ ।

हिमाली क्षेत्रमा बेमौसमी हिमपात र अस्वाभाविक तापक्रम वृद्धिले प्रजनन स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको विज्ञहरु बताउँछन् । स्थानीय पर्यावरण मात्र नभई महिलाको जीवनशैली र स्वास्थ्यमासमेत असर पुर्‍याएकाे अभियान्ता प्रजिता कार्कीले बताउनुभयो ।

स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाहरूको हर्मोन सन्तुलनमा असर गरिरहेको अनुमान गर्न सकिन्छ । यस्ता समस्या समाधान गर्न विशेष स्वास्थ्य योजना र परामर्श सेवाको आवश्यकता छ । जलवायु परिवर्तनका कारण हर्मोन असन्तुलन र त्यसको शारीरिक तथा मानसिक प्रभावले महिलाको प्रजननमा असर गरेको हुनसक्ने नेपाल चिकित्सक सङ्घका महासचिव सञ्जिव तिवारीको तर्क छ ।

महिलामा जलवायु परिवर्तनको असर भएको महसुस भयो अब यो विषय गहिरो खोज र अध्ययनको विषय बनेको उहाँको भनाइ छ । खुम्बु क्षेत्रका खेतीयोग्य बालीमासमेत गिरावट आएको छ । खुम्जुङकी पासाङ ल्हामु शेर्पाका अनुसार गहुँ, जौ र फापरजस्ता बाली अब उब्जाउन कठिन भएको छ । कृषि उत्पादन घट्नुले महिलाहरूको पोषण र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ ।

खुम्जुङ क्षेत्रमा फल्ने हिमाली खेतीहरु अहिले उत्पादन हुनै छोडेको स्थानीय बताउछन् । यसले गर्दा बालबालिकादेखि महिलाहरुको पोषणमा असर पर्नसक्ने सम्भावना बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । खेती नै हुन छोडेपछि विगतमा उवा, फापर, जौ जस्ता बालीहरु उब्जाउ हुने जग्गाहरु बाँझो पाखामा परिणत भएको स्थानीय फुरी शेर्पाले बताउनुभयाे । 

हिमनदीहरू खस्कँदै, हिमालहरु कालापत्थरमा परिणत हुँदै 

सगरमाथा क्षेत्रका हिमनदीहरू छोटिँदै र पातलिँदै गइरहेका छन् । आरोहीहरूका लागि आधार शिविरका रूपमा परिचित क्षेत्रहरू अहिले पहिरोको जोखिममा परेका छन् । पर्यटन व्यवसायी कर्मा शेर्पा १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आउनुभएको छ । पछिल्लो एक दशकमा हिमनदीहरूको पग्लिने दर तीव्र भएको छ । 

स्थानीय जानकार पासाङ शेर्पाका अनुसार यस क्षेत्रको तापक्रम वृद्धि र विगतमा आरोहीहरूद्वारा छोडिएका फोहोरले ग्लेसियरको संरचनामा प्रत्यक्ष असर पारेको छ । सगरमाथा क्षेत्र जलवायु परिवर्तनको सबैभन्दा प्रत्यक्ष असर भोग्ने हिमाली क्षेत्रहरूमध्ये एक हो । बेमौसमी हिमपात अनियमित वर्षा र अस्वाभाविक तापक्रमले यहाँको हावापानीलाई परिवर्तन गरिरहेको छ । यस्तो परिवर्तनले हिमालको फेददेखि शिखरसम्मको जैविक र भौतिक संरचना जोखिममा परेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया