काठमाण्डौ जोड्ने सडकमा सास्ती : पानी पर्नेबित्तिकै फेरि पहिरो खस्ने डर

 पुष १४, २०८१ आइतबार १६:५:३६ | विकाश चापागाईँ
unn.prixa.net

काठमाण्डाै – अघिल्लो दिन दिउँसो २ बजे धरानबाट काठमाण्डौका लागि छुटेको रात्रिबसका चालक राजकुमार ठकुरी नागढुङ्गा नाका हुँदै भोलिपल्ट बेलुकी ६ बजे मात्र कलङ्की आइपुग्नुभयो । सामान्य बेला १२ घण्टामा धरानबाट काठमाण्डौ पुग्न सकिन्छ । तर हिजोआज १५ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।

सडकका ठाउँठाउँमा खाल्डाखुल्डी छन् । सडकको पहिरो पन्छाए पनि पहिरो खसेको ठाउँमा फेरि ढुङ्गा र माटो खस्न ठिक्क परेका छन् । २२ वर्षदेखि धरान–काठमाण्डौ रात्रिबस चलाइरहेका राजकुमार बिग्रिएको बाटोमा गाडी चलाउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । दैनिकजसो धरानबाट काठमाण्डौ आउजाउ गर्दा नागढुङ्गाबाट मुग्लिनसम्मको बाटो कष्टकर हुने गरेको उहाँको अनुभव छ । ‘एक पटक यात्रु ल्याउँदा बाटोकै कारणले गाडी मर्मतमा आठदेखि १० हजार रुपैयाँसम्म खर्च हुन्छ’, राजकुमार भन्नुहुन्छ । गाडीबाट आएको आम्दानीबाट समयमै कर बुझाउँदा पनि राम्रो बाटोमा गाडी चलाउन नपाएको उहाँको गुनासो छ ।

तस्वीर : नागढुङ्गा–मुग्लिन सडक 

असोज दोस्रो हप्ताको पहिरोले नागढुङ्गा नाका तीन दिनसम्म बन्द रह्यो । ३५ जनाको ज्यान जाने गरी तीन वटा गाडी पुरिएको नागढुङ्गा नजिकैको झ्याप्ले खोलामा बल्लतल्ल पहिरो पन्छाए पनि जोखिम उस्तै छ । सडक फराकिलो बनाउने काम पनि भइरहेकाले कतै खाल्डाखुल्डी र कतै धूलोले यात्रा कष्टकर हुने गरेको छ । गोरखाको शहीद लखन गाउँपालिकाबाट बस चढेर काठमाण्डौ आउनुभएकी मनिषा दुवाडी नयाँ बसपार्कमा धुलाम्मे भएको झोला टकटक्याउँदै गरेको अवस्थामा भेटिनुभयो । ‘गोरखाबाट मुग्लिनसम्म आउँदा बाटो ठीकै लाग्यो । तर यता लागेपछि जताततै भत्किएको र बिग्रिएको मात्र । काठमाण्डौ नजिकैको बाटो त गाउँको बाटोभन्दा पनि कच्ची र बिग्रिएको छ । धुलोले हामीजस्ता युवालाई त रुघाखोकी लाग्ने बनायो, बुढाबुढी र बालबालिकालाई झनै गाह्रो बनाउँछ’, उहाँले भन्नुभयो ।

काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा ओहोरदोहोर गर्ने यात्रु र चालकको यो साझा व्यथा हो । अरू सडकको अवस्था पनि नागढुङ्गाभन्दा फरक छैन । काठमाण्डौलाई पूर्वसँग जोड्ने बीपी राजमार्गमा झन् धेरै समस्या छ । असोज दोस्रो हप्ताको बाढी पहिरोले चौकीडाँडादेखि नेपालथोकसम्म सडकमा क्षति पुर्‍याएपछि बीपी राजमार्ग दुई हप्तासम्म बन्द भयो । ठाउँठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक प्रयोग गरिएको छ । बगरको अप्ठ्यारो र धुलाम्मे बाटोमा यात्रा निकै कष्टकर छ । गाडी चालकलाई पनि उस्तै समस्या छ । काठमाण्डौदेखि सङ्खुवासभाको खाँदबारीसम्म माइक्रोबस चालाउने चालक लालबहादुर तामाङ यात्रामा दुईदेखि तीन घण्टा बढी लाग्ने गरेको बताउनुहुन्छ । ‘चौकीडाँडादेखि नेपालथोकसम्मको बाटो कच्ची छ, गाडी र यात्रु धुलाम्मे हुन्छन्,’ उहाँले भन्नुभयो, ‘सडक एकतर्फी मात्र चल्ने भएकाले जाम पनि बढेको छ ।’

तस्वीर : बीपी राजमार्ग

असोजको बाढी पहिरोले काठमाण्डौलाई हेटौँडासँग जोड्ने पाँच वटै सडक अवरुद्ध भए । त्रिभुवन राजपथको हेटौँडा–पालुङ–नौबीसे खण्ड, कान्ति लोकपथअन्तर्गत आँपचौर खण्ड, हेटौँडा–ठिङ्गन–टीकाभैरव, दक्षिणकाली–छैमले–सिस्नेरी खण्ड, कुलेखानी–फाखेल–फर्पिङ र फाखेल–हुमाने–चखेल–मातातीर्थ–सतुङ्गल सडक खण्डका ठाउँठाउँमा क्षति पुर्‍यायो । सबै सडक खुलाउन १० दिनसम्म लाग्यो । अहिले सडक सञ्चालनमा आए पनि यात्रा सहज छैन ।

हेटौँडा–काठमाण्डौ जीप चलाउने सुजन सुनार सडक बिग्रिएका कारण गाडी चलाउन अप्ठ्यारो हुने गरेको बताउनुहुन्छ । ‘बाटो बिग्रिएका कारण गाडीमा टुटफुट धेरै हुन्छ,’ उहाँले भन्नुभयो, ‘यात्रु बाेकेर कमाएको आधी पैसा गाडी बनाउनमै जान्छ ।’

रौतहटबाट काठमाण्डौसम्म जीप चलाउने चन्दु चौधरी हेटौँडा–फर्पिङ–दक्षिणकाली हुँदै बल्खुसम्मको बाटो प्रयोग गर्नुहुन्छ । बिग्रेको सडकमा गाडी गुडाउँदा जीपको पाटपुर्जामा क्षति पुग्ने गरेको छ । ‘धेरै पटक बाटो बन्द गरेरै मर्मत भइरहेको हुन्छ, बाटो बने पनि छिट्टै बिग्रिरहन्छ,’ उहाँले भन्नुभयो, ‘भत्किएको बाटोका कारण यात्रु पनि धुलाम्मे हुन्छन् ।’

तस्वीर : थानकोट–चित्लाङ सडक

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बस्तीपुर बस्ने अशोक सुनार कामको सिलसिलामा काठमाण्डौ आउजाउ गरिरहनुहुन्छ । ठाउँ–ठाउँमा भत्किएको सडकका कारण धूवाँधूलोले स्वास्थ्यमा समेत असर पारेको उहाँले बताउनुभयो । ‘बाटोको दुरी छोटो छ भनेर यो बाटोबाट आउजाउ गर्छु तर साह्रै असहज लाग्छ,’ उहाँले भन्नुभयो, ‘सरकारले नागरिकको कुरा सुन्न र समस्या समाधान गर्न तत्पर देखिँदैन, सरकार निकम्मा भएर बसेको छ ।’

काठमाण्डौ जोड्ने मुख्य सडक बन्द हुँदा विकल्पका रूपमा सीतापाइला–धार्के र टोखा–छहरे–गल्छी सडक प्रयोगमा आएको छ । तर यी सडकमा ठूला गाडी चलाउन मिल्दैन । ठूला बस र मालवाहक गाडीका लागि मुग्लिन–नागढुङ्गा तथा पूर्वदेखि काठमाण्डौसम्म ओहोरदोहोर गर्न बीपी राजमार्ग नै सजिलो र भरपर्दाे सडक हो । तर पहिरोले भत्काएको बीपी राजमार्ग स्थायी रूपमा बनाउनै समस्या छ । मुग्लिन–नारायणगढ सडकमा पनि पानी पर्नेबित्तिकै फेरि पहिरो खस्ने डर छ ।

तस्वीर : सूर्यविनायक–धुलिखेल सडक 

पानी परेर राजमार्ग बन्द हुने अवस्था आउन नदिन वर्षाअघि नै सडक मर्मतको काम सक्ने गरी तयारी भइरहेको सडक विभागका महानिर्देशक रामहरि पोखरेल बताउनुहुन्छ । राजमार्गका सडकमा परेका खाल्डा पुर्ने र पहिरो हटाउने काम भइरहेको उहाँले बताउनुभयो । ‘अहिले हामीले पानी परेको बेलामा पनि सञ्चालन गर्न सकिने गरी वैकल्पिक सडकलाई विस्तार र मर्मत गर्ने योजना बनाएका छौँ’, महानिर्देशक पोखरेलले भन्नुभयो, ‘यो योजनाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छौँ । बजेट व्यवस्थापन हुनेबित्तिकै काम अगाडि बढ्छ ।’

काठमाण्डौबाट हेटौँडा जोड्ने फाखेल र दक्षिणकालीको सडकमा बजेट अपुग हुँदा काम गर्न नसकेको महानिर्देशक पोखरेलले बताउनुभयो । ‘नागढुङ्गाबाट नौबीसेसम्मको सडकमा काम भइरहेकाले केही असहज छ’, उहाँले भन्नुभयो, ‘निर्माणको चरणमा भएको हुँदा गाडी चलाउन गाह्रो भएको छ । हामीले ठेकेदार कम्पनीलाई छिटो सक्न ताकेता गरिरहेका छौँ ।’

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकाश चापागाईँ

विकाश चापागाईँ ​उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया