बिहान गएको ठूलो भूकम्पको म्याग्निच्युडबारे फरक–फरक विवरण
पुस २३, २०८१ मंगलबार
भित्ताको ऐना नहेरी नेताजी बुरुक्क उफ्रिए– ‘म र मेरा मान्छेबाहेक अरू सबै भ्रष्टाचारी । अहिलेसम्म मलाई ठाउँमा बस्न दिएको भए भ्रष्टाचारीको उठीबास लगाइसक्थेँ । धोकाधडी र जालझेल गरेर मलाई हटाए, त्यसपछि भ्रष्टाचार झन्झन् मौलायो । पर्ख न अर्को चुनावपछि एक–एक हिसाब हुन्छ ।’
यति भनेर नेताजीले कुम हल्लाए । टोपी लगाए र ऐना हेरेर जुँगा मिलाउन थाले । ऐनामा जुँगा मात्रै होइन, अनुहारका दाग पनि देखिए । आफू र आफ्ना मान्छेले मच्चाएका थरीथरी काण्डका दाग ! कतै छोप्न खोज्दा पनि नछोपिएका दाग, कतै मेट्न खोज्दा पनि नमेटिएका दाग ! पहिले आफ्नो भाग ठूलो पार्न खोज्दा बसेका दाग ! आफ्नो भाग खोसिएको झोँकमा अर्कोको अनुहार चियाउँदा देख्न छोडेका आफ्नै अनुहारका दाग !
अर्कोको दागमा दागा धर्न तम्सिँदा आफ्नै दागमा प्रश्न उठ्ने डर भयो । नेताजीले आफू र वरपर दागैदागको लहरो देखे । तलको लहरो तान्दा माथि खस्न ठिक्क परेका पहिरो देखे । लहरामा आफू नभएर अर्को मात्रै जेलिएको भए र ऊ जेलिएको पहरो मात्रै खस्ने भए त ठिकै थियो । तर आफू र आफ्ना मान्छेदेखि विपक्षी र उसका मान्छेसम्म सबै त्यही लहरोमा जेलिएका छन् । तलको लहरा तानिन थाल्यो भने माथितिरका लहरामा अल्झेका सबै पहराबाट गुल्टिन्छन् । लहरोका भरथेगमा जो जो अडिएका छन्, ती सबै पहरो बनेर खस्ने भएपछि सबै स्वाहा !
के के न गर्छाैँ भनेर कत्रा खत्रा सपना देख्ने मान्छेहरूको यत्रो जमात जाबो एउटा त्यान्द्रो लहरा चुडिँदा स्वाहा भए भने देश कसले बनाउँछ ? लहरो तानिन थाल्यो भनेर मख्ख पर्दै पहरोतिर फर्केर ताली पिट्ने ठेट्नाहरूले देश धान्न सक्छन् ? कदापि सक्दैनन् । त्यसपछि नेताजीले विपक्षी नेताजीसँग बातचित गर्ने विचार गरे ।
हेलो नेताजी के छ हालखबर ?
हाल पनि ठिक छ, खबर पनि ठिक छ । अहिलेसम्म गठबन्धन फेरिहाल्ने अवस्था छैन । आनन्द छ ।
आनन्द त तपाईंलाई भन्दा बढ्दा मलाई छ । भाग खोसिँदा त झन् जनस्तरबाट स्याबासी र वाहीवाही बढेजस्तो लागेर आफ्नो काँधमा आफैं धाप मारेर बसेको छु । बरु तपाईंलाई पो सञ्चो छैन जस्तो छ त, अनुहार पनि मलिनो देख्छु ।
तपाईंलाई पो सञ्चो नहुनुपर्ने हो । बिसञ्चो हुनुपर्ने बेलामा पनि तपाईंको चुरीफुरी देखेर उदेक लागेको छ ।
मलाई के नपुग्दो छ र बिसञ्चो हुनलाई ?
अनि कहिले आफ्ना लागि, कहिले आफ्नाका लागि लामो हात मात्रै गर्न खोज्दा लहरो तानिएर पहरो खस्छ भन्ने डर छैन ?
हेर्नुस् नेताजी अहिलेको यो लहरोमा हामी तानिएका छैनौँ । तपाईंहरूका मान्छे, अर्का नेताजीका मान्छे पो तानिएको देख्छु । हाम्रा मान्छे तानिएका भए हामी अस्ति नै सडकमा उफ्रेर सबैलाई तर्साइसकेका हुन्थ्यौँ ।
भाषण त चर्कै सुन्छु । अर्कोलाई चोर औंला ठड्याउँदा बाँकी औंला आफैंतिर तेर्सिएको देख्नुभएको छ कि छैन ? लहरो सबै तानिएर पहरो खस्यो भने पनि तपाईंहरू पुरिनुहोला, हामीलाई केही हुँदैन । बरु हामी त लहरो अझै तान्ने पक्षमा छौँ ।
ए डाडुपन्युँ सधैँ आफ्नै हातमा हुन्छ भन्ने ठान्नुभएको छ ? डाडुपन्युँ समाउने पालो हाम्रो आउँदैन ? धेरै बुरुकबुरुक नगर्नुस् नेताजी, तपाईंका डाडुपन्युँ समाउने हात लुला भैसके । हामीले डाडुपन्युँ समाउन थाल्यौँ भने के होला ?
त्यहाँ माथि हेर्नुहोस् त, त्यो लहरोमा को जेलिएको छ ? छेउको, माथिको, अलि परको, तलको लहरो पनि हेर्नुस् । आफ्नै अनुहार पनि देख्नुभयो होला नि !
त्यही देखेर त बात गर्न आएको नि । अहिले तपाईंहरू जेलिएको लहरो तान्नुपर्छ भनेर चिच्याउन थाल्यो भने त तपाईंले हाम्रो लहरो पनि बाँकी राख्नुहुन्न, हैन त ?
बाँकी राख्ने त कुरै भएन नि । तपाईंको आलोपालोको सूत्र यसमा पनि काम लाग्छ । तपाईंको पालोमा तपाईं चुप लाग्ने, हाम्रो पालामा हामी चुप लाग्ने ।
त्यो त हो नेताजी तर भ्रष्टाचारको जरै उखेलेर फालिन्छ, भ्रष्टाचारीलाई पाता फर्काइन्छ भनेर धेरै बुरुकबुरुक गरियो, भाषण ठोकियो ।
फेरि गर्ने नि बुरुकबुरुक । भाषण गर्न त कसले रोक्छ र ? भाषण गर्दैमा काम गर्नुपर्छ भन्ने छैन क्यारे । त्यस्ता भाषण तपाईंले कति गर्नुभयो, मैले कति गरेँ । फेरि पनि गर्ने नै त्यही भाषण हो । पालैपालो गरौँ न । तपाईं नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास, यती, ओम्नी काण्ड भन्नुहोस् ।
उहाँले नक्कली सुन प्रकरण, लाउडा प्रकरण, सुडान घोटाला, वाइडबडी काण्ड, एनसेल काण्ड भन्नुहुन्छ ।
अनि म चाहिँ लडाकु शिविर अनियमितता प्रकरण, शेरा दरबार प्रकरण भन्छु ।
यसो भनिरहँदा ऐनामा चाहिँ हेर्न हुन्न है नेताजी !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।