कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
चियापसलका नौला नाम र फरकफरक स्वादमा आकर्षण बढेसँगै चिया व्यवसाय पनि फस्टाएको छ । शहरबजारका ठाउँठाउँमा खुल्न थालेका व्यवसायिक चिया पसलले धेरैलाई रोजगारी दिएको छ ।
ललितपुरको जावलाखेमा चर्चित ‘बाबा कुकर कफी’ पसल छ । पसलभित्र छिर्नेबित्तिकै तातो कफीको वाफ र बास्ना आउँछ । पसलको एक कुनामा दिपेश बोटे कुकरमा कफी उमाल्दै हुनु हुन्छ ।
कुकरमा उम्लिएको कफीलाई सावधानीपूर्वक चिटिक्कका गिलासहरुमा खन्याउँदै दिपेश ग्राहकहरुको टेबलसम्म मुस्कानसहित कफी पुर्याउनु हुन्छ । कफी पसलको यो कामले दिपेशलाई आफैँ केही गर्ने आत्मविश्वास पनि दिएको छ ।
तनहुँको व्यास नगरपालिका घर भएका १९ वर्षका दिपेशले १० कक्षासम्म पढ्नु भएको छ । घरको कमजोर आर्थिक अवस्थाका कारण उहाँले पढाइलाई निरन्तरता दिन सक्नु भएन । तीन महिनाअघि उहाँ काठमाण्डौ आउनु भयो । नयाँ शहरमा भविष्य खोज्न सङ्घर्ष गर्न थाल्नु भयो । गाउँको परिवेश छोडेर ठूला घर र भीडभाडले भरिएको शहरमा शुरूवाती दिनमा काम नपाउँदा निकै कष्ट भोग्नुभयो ।
काम खोज्दै जाँदा उहाँलाई जावलाखेलको ‘बाबा कुकर कफी’ पसलमा काम गर्ने मौका मिल्यो । अहिले दुई महिनादेखि यहीँ काम गरिरहनु भएको छ । शुरूका केही दिन सामान्य काम गर्दै बिते । बिस्तारै उहाँले नयाँ कुरा सिक्न थाल्नु भयो ।
कफी बनाउने कला मात्रै होइन, ग्राहकहरुसँग कसरी बोलेर मन जित्ने भन्ने कुरा पनि सिक्नुभएको छ । कफी पसलमा काम गर्दै जाँदा उहाँको आत्मविश्वास र सीप दुवै बढेको छ । कुकर कफी, हट चकलेट कफी, कोल्ड कफी लगायत बनाउन खप्पिस भैसक्नु भएको छ ।
मासिक १५ हजार तलब, निःशुल्क खाने बस्ने सुविधा, अनि हप्तामा एक दिन मनोरञ्जनको व्यवस्था । यस्तो अवसरले सधैँका लागि ठूला सपनाहरु त देखाउन नसक्ला, तर दिपेशका लागि भने यही कामले जीवनलाई अघि बढाउने आधार दिएको छ ।
कफी बनाएर आफ्नो मेहनतले कमाएको थोरै रकम खर्च कटाएर बचत गर्ने बानी छ दिपेशको । अलिकति भए पनि घर पठाउन पाउँदा दिपेश भित्रैदेखि खुशी हुनुहुन्छ । दिपेश भन्नुहुन्छ, ‘ सायद त्यही पैसाले घरमा केही खर्च चलाउन पुग्यो होला, बाआमाको अनुहारमा थोरै भए पनि चमक थपियो होला ।’
दिपेश भन्नु हुन्छ, ‘साना कामबाट शुरू गर्दा पनि ठूलो सफलता हात पार्न सकिन्छ भन्ने मैले यहीँबाट बुझेँ । यहाँबाट सिकेको सीप र अनुभवले मलाई धेरै कुरा सिकायो । भोलि यहाँबाट पाएको ज्ञान र सीपले आफ्नै व्यावसाय खोल्ने सोच छ ।’
दारीभाइको चियापसलमा रमाएका कमल
‘दारीभाइको चिया पसल’ले चियाप्रेमीहरुको मन मात्र जितेको छैन, रोजगारीका अवसर पनि सिर्जना गरेको छ । शङ्खमुल, कालोपुल र बसुन्धरामा रहेको यो चियापसलले १९ जना युवालाई रोजगारी दिएको छ ।
१९ जना युवामध्ये एक हुनुहुन्छ बानेश्वरकै कमल थपलिया । कमल तीनकुनेमा रहेको नासा इन्टरनेशनल कलेजमा स्नातक तह पढ्दै हुनु हुन्छ । बिहान १० बजेसम्म क्याम्पसमा पढ्नुहुन्छ । त्यसपछि बेलुका ८ बजेसम्म चियापसलमा काम गर्नुहुन्छ ।
कमलले दारीभाइको चिया पसलमा काम गर्न थालेको चार वर्ष भयो । कमल भन्नुहुन्छ, ‘ग्राहकलाई सेवादेखि सफाइसम्मको काम सबैजना मिलेर गर्छौं । मेहनत गरे अनुसार राम्रो आम्दानी पनि भइरहेको छ ।’ कमललाई चिया पसलबाट कमाएको पैसाले धेरै सहयोग मिलेको छ ।
क्याम्पस पढ्नलाई घरबाट पैसा माग्नु परेको छैन । कहिलेकाहीँ घरमा पैसा पठाउनुहुन्छ, चाहिएको सरसामान किन्नुहुन्छ । यही कमाइले साथीभाइसँग कहिलेकाहीँ घुम्न, मिठो खान र रमाइलो गर्न पुगेकै छ ।
कमललाई दाँतको समस्या थियो । डाक्टरलाई देखाउँदा थाहा भयो दाँतको उपचारमा एक लाख २५ हजार रुपैयाँ भन्दा बढी खर्च लाग्ने रहेछ । पहिले चियापसलमा काम नगर्दा उहाँले खर्च जुटाउन सक्नुभएन र दाँतको उपचार पनि गर्नुभएन । चियापसलमा काम गर्न थालेपछि दिनरातको मेहनतबाट थोरै थोरै पैसा बचाउँदै आफ्नै कमाइबाट दाँतको उपचार गर्नुभयो ।
कमल भन्नुहुन्छ, ‘चियापसलमा काम गर्दा म केवल कमाइमै सीमित भइनँ, मैले ग्राहकको मनोविज्ञान बुझ्न र व्यवसाय चलाउने वास्तविक सीप सिक्न पाएँ । यो कामले मलाई धेरै कुरा सिकायो । ग्राहकसँग गफ गर्दा उनीहरुको भावना र सोचाइ बुझ्ने मौका मिल्छ । चियापसल कमाइ गर्ने ठाउँ मात्र नभएर जीवन बुझ्ने पाठशाला पनि भएको छ ।’
उहाँ अगाडि थप्नुहुन्छ, ‘सबैभन्दा ठूलो कुरा भनेको धैर्य र निरन्तरता हो । आजको कामले भोलि नै केही विशेष परिणाम नदेखाउन सक्छ, तर यदि सही तरिकाले मेहनत गरिरहँदा एकदिन त्यो मेहनतको फल पक्कै आउँछ । शुरूवातमा केही कठिनाइ र दुःख पनि आउन सक्छ, तर त्यसैको माध्यमबाट हामी धेरै कुरा सिक्छौँ र परिपक्क बन्छौँ।’
जे काम गरे पनि नेपालमै अवसर रहेको उहाँको भनाइ छ । कमल भन्नुहुन्छ, ‘विदेश त घुम्न जाने हो । कामको लागि हाम्रो देशमा धेरै अवसरहरू छन् ।’
चियापसलमा काम गर्न थालेपछि देशमै बसेर केही गर्ने आत्मविश्वास
काठमाण्डौको आलोकनगरमा रहेको ‘बम्बु टी मास्टर’ मा पाँच वर्षदेखि काम गर्दै आएकी उदयपुर गाईघाटकी अस्मिता खड्काले चिया पसलबाट धेरै कुरा सिक्नुभएको छ । पहिले बेरोजगार बस्नुपरेको समयमा उहाँलाई भविष्य के हुने हो भन्ने अन्योल थियो ।
यही अन्योलकाबीच ‘बम्बु टी मास्टर’ चिया पसलमा काम गर्न थाल्नुभयो । शुरूमा उहाँलाई समय कटाउन गरेको सामान्य काम लाथ्यो । तर काम गर्दै जाँदा उहाँको आत्मविश्वास बढ्यो र नेपालमै बसेर केही गर्ने आशा जगायो ।
‘चिया पसलमा काम गर्दै गर्दा चिया पसलबाट पनि राम्रो व्यावसाय गर्न सकिने रहेछ भन्ने थाहा भयो । म केवल चिया मात्रै बेच्दिनँ, आफ्नो भविष्य र आत्मसम्मानको निर्माण पनि गर्दैछु’ उहाँले भन्नुभयो ।
शुरूमा अस्मिताले काम गर्न विदेश जाने सोच बनाउनुभएको थियो । चियापसलमा काम गर्दै जाँदा देशमै बसेर पनि ठूलो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने लाग्यो । ‘चिया पसलमा काम गर्दा मलाई थाहा भयो कि ठूलो सपना केवल विदेश जानुमा छैन, ठूलो सपना भनेको जहाँ छु त्यहाँबाट केही नयाँ सिर्जना गर्नु पनि हो’ अस्मिता भन्नुहुन्छ ।
चियापसलको कामले आफैँ व्यवसाय थाल्ने प्रेरणा
काठमाण्डौका ठाउँठाउँमा खुलेका यस्ता चियापसलहरुमा धेरै युवाहरूलाई यसैगरी रोजगारी र सन्तुष्टी मिलेको छ । यस्ता पसलमा काम गर्ने केही युवाले आफ्नै व्यवसाय थाल्ने प्रेरणा पाएका छन् । यस्तै प्रेरणा मिलेको छ, शङ्खमुलमा रहेको चियादानीमा एक वर्षदेखि काम गर्दै आएका बानेश्वरका दीपक सापकोटालाई पनि ।
स्नातक पढ्दै गर्दा दीपक बेरोजगार हुनु हुन्थ्यो । आफ्नो भविष्यप्रति चिन्ता लाग्थ्यो । कहीलेकाहीँ आफ्ना कुरा र अनुभवहरु सुनाउने साथीहरुको रमाइलो जमघटमा बस्न पनि उहाँलाई अप्ठ्यारो महसुस हुन्थ्यो । यही कारणले दीपकको ठूलो सपना विदेश जाने थियो । विदेश गएर काम गर्न पाएमा आफ्नै खुट्टामा उभिन सक्थेँ जस्तो लाग्थ्यो दीपकलाई ।
काम खोज्ने क्रममा दीपकलाई चिया पसलमा काम गर्ने अवसर मिल्यो । आफ्नै कमाइले खर्च जुटाउन थालेपछि आत्मविश्वास बढ्दै गयो । बिस्तारै पसलको काममा मन लाग्दै गयो ।
पसलमा आउने भिड र त्यसबाट भएको कमाइ देख्दा सामान्य जस्तो देखिने र कम लगानीबाट शुरू गरेको व्यावसायबाट पनि राम्रो कमाइ हुने कुरा थाहा भयो ।
अहिले दीपकलाई यस्तै अवसर आफैँले सिर्जना गर्नुपर्छ भन्ने लागेको छ । दीपक भन्नु हुन्छ ‘मलाई थाहा थिएन कि कम लगानीमा पनि देशमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ । चिया पसलमा काम गर्दै गर्दा मैले धेरै कुरा सिकेँ । यहाँ मैले कामको सीपसँगै आफूलाई जीवनका लागि नयाँ उद्देश्य र लक्ष्यहरू थाहा पाएँ ।’
दीपकले अब वैदेशिक रोजगारीमा जाने होइन, आफ्नै व्यवसाय खोल्ने र काठमाण्डौका गल्लीहरूमा अरु युवाहरूलाई रोजगारीको अवसर दिने सपना देखिसक्नुभएको छ ।
यसरी काठमाण्डौका चिया पसलहरू केवल चिया पिउने ठाउँ मात्र हैनन्, युवाहरूलाई जीविकोपार्जन र व्यवसायिक सीप सिक्ने माध्यम पनि बनेका छन् ।
याे पनि पढ्नुहाेस् :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ ।