भारतको ओडिसा घटना : नेपाली विद्यार्थी केही छात्राबास फर्किए, धेरैजना अझै त्रासमा

 फागुन ८, २०८१ बिहीबार ९:१३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतको ओडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) पढ्ने सबै विद्यार्थी छात्राबास फर्कन सकेका छैनन् ।

विश्वविद्यालयले माफी माग्दै फर्कन आग्रह गरे पनि कोही विद्यार्थी स्वदेश आइपुगेका छन् भने कोही भारतमै आफन्त कहाँ बसिरहेका छन् । थोरै विद्यार्थी मात्रै छात्राबास फर्किएका छन् ।

त्यहाँ एक हजारभन्दा धेरै नेपाली विद्यार्थी रहेकोमा झण्डै एक सय जनामात्रै छात्राबास फर्किएका हुन् । झण्डै दुई सय नेपाली विद्यार्थी विभिन्न नाका हुँदै स्वदेश आइपुगेका छन् ।

विश्वविद्यालयको छात्राबासमा गरिएको अमानवीय व्यवहारका कारण विद्यार्थीहरू अझै त्रासमा छन् । नेपाल आइपुगेका विद्यार्थीहरूले आफूहरु तत्काल विश्वविद्यालय फर्किने मनसायमा नरहेको बताएका छन् ।

विश्वविद्यालयले भने विद्यार्थीहरूलाई फोन, म्यासेज तथा ईमेल गरेर समेत फर्किन अनुरोध गर्दै आएको छ । विश्वविद्यालयका पदाधिकारीहरुले विद्यार्थी र अभिभावकसँग जुम बैठक गरेर रेल खर्च बेहोर्ने र पूर्ण सुरक्षा तथा सम्मानको प्रत्याभूति रहने आश्वासन दिएका छन् ।

दिल्लीमा रहेको नेपाली दूतावासका पदाधिकारीले पनि ओडिसा पुगेर त्यहाँको सरकार र विद्यार्थीसँग समन्वय गरेका छन् । विश्वविद्यालयका पदाधिकारीले माफी मागेको र अवस्था सामान्य बन्दै गएको दूतावासका पदाधिकारीहरुको भनाइ छ । भारतीय पक्षले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाली विद्यार्थीलाई कुटपिट र दुर्व्यवहार गर्ने विश्वविद्यालयका पदाधिकारीहरु यसअघि नै निलम्बनमा परिसकेका छन् । यसैबीच केआईआईटी विश्वविद्यालयमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव हिजो भैरहवा ल्याएर आज बिहान स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया