‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

 चैत ४, २०८१ सोमबार १६:१७:१४ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ बाट प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन् । कप्तान सुब्बालाई इलामदेखि काठमाण्डाै ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलकाे एपीएफ कल्बमा फुटबल खेलाएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन् ।

उनले भने, ‘यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाउने छौँ । नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट सङ्कलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौँ ।’

प्रेमकुमार श्रेष्ठ कप्तान सुब्बाको धर्मपिताका रूपमा परिचित छन् । गएकाे फागुन २९ गते होलीलाई लक्षित गर्दै प्रदर्शन शुरू भएको चलचित्रले ३ दिनमा २ करोड सात लाख रुपैयाँको व्यापार गरेको वितरक करण श्रेष्ठले जानकारी दिए ।

‘प्रदर्शनकै दिनदेखि हामी काठमाण्डाै उपत्यकामा रहेका प्रायः चलचित्र भवनमा पुगेर दर्शकमाझ प्रतिक्रिया लिइरहेका छौँ । चलचित्रको व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन र दोस्रो दिनको तुलनामा तेस्रो दिन बढेको छ । चलचित्र हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, यस कारण आउँदा दिनमा व्यापार बढ्नेमा हामी विश्वस्त छौँ’, उनले भने ।

वितरक श्रेष्ठले चलचित्र प्रदर्शनको चौथो दिन आइतवार र पाँचौं दिन आज पनि दर्शकको उपस्थिति राम्रो रहेको जानकारी दिँदै थप व्यावसायिक तथ्याङ्क आउँदो केही दिनमा सार्वजनिक गर्ने बताए ।

कप्तान सुब्बा आफैँले अभिनय गरेका कारण दर्शक उनको सङ्घर्ष र सफलतासँग भावनात्मक रूपमा जोडिएका निर्देशक मिलन चाम्स बताउँछन् ।

‘कप्तान सुब्बाको कथा सुनेपछि यसले अन्यलाई प्रेरणा दिन्छ भनेर चलचित्र निर्देशन गर्न सहमत भएको थिएँ । हामीले रुचाएको कथालाई दर्शकले पनि रुचाउनुभयो । यो सफलताले आउँदा दिनमा अन्य खेलाडीको कथामा चलचित्र निर्माण गर्न हौसला थपेको छ’, निर्देशक चाम्सले भने ।

चलचित्रमा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन् ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया