ईपीएल फुटबलमा नटिङ्घम फरेस्ट , आर्सनल र वुल्भ्स विजयी
चैत २०, २०८१ बुधबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकालाई तराई र पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्गको यात्रा अझै सहज भएको छैन । असाेजको बाढी पहिरोले क्षति पुगेको सडक अहिले पनि जस्ताको तस्तै छ ।
६ महिनाअघि असाेजको बाढीले बीपी राजमार्गको झन्डै ९ किलोमिटर सडक पूर्णरूपमा बगाएपछि यात्रु बगरकै बाटो भएर यात्रा गर्न बाध्य छन् ।
कालढुङ्गा चौकीडाँडा खण्डमा मात्र १२ किलोमिटर सडक क्षति भएको छ जसमा ८ किलोमिटर सडक खोलाले बगाएको छ । अहिले अस्थायी रूपमा बगरबाट बनाइएको बाटो प्रयोग गरिँदैछ । खोलाले सडक बगाएर बगर बनाइसकेपछि पनि यात्रु र गाडी त्यही जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य छन् ।
सिन्धुली–काठमाण्डौ रुटमा ११ वर्षदेखि गाडी चलाउँदै आएका सुशील अधिकारी प्रायः यही बाटो काठमाण्डौ आउजाउ गर्नुहुन्छ । ‘सरकारले बाटो बिग्रिएको ६ महिनाभन्दा बढी भइसक्दा पनि केवल टेन्डर मात्र खोल्ने काम गरेको छ । वर्षा शुरू हुने बेला बल्ल खोलाको जोखिम भएका ठाउँमा काम भइरहेको छ तर त्यो पनि पर्याप्त देखिएको छैन । असोज ११ र १२ गतेजस्तो पानी पर्याे भने भएको बाटोसमेत बग्ने खतरा छ । यसपालि त बाटै बन्द हुन सक्छ’, उहाँले भन्नुभयो ।
जाबो १० किलोमिटरको बाटो बनाउन नसकेर अरूको सहयोगको आश गर्ने सरकारलाई विकास र सुशासनको नारा लगाउने अधिकार नभएको उहाँको भनाइ छ । ‘बाटो बन्द भएपछि हामीले के खाने ? सरकारलाई नागरिक बाँचे पनि मरे पनि कुनै मतलब छैन’, सुशीलले आक्रोश पोख्नुभयो ।
अहिले अस्थायी रूपमा बाटो बनाउने काम भए पनि यात्रु र चालक ढुक्क हुन सकेका छैनन् । जब पानी पर्न थाल्छ, तब पहिरोले बाटो भत्काउने डर हुन्छ । खोलाको बाटो प्रयोग गर्दा दुर्घटनाको जोखिम झन् बढ्छ । भक्तपुरमा बसोबास गर्ने उदयपुर कटारीका विद्यार्थी सरोज पोख्रेललाई यो नै ठूलो चिन्ता बनेको छ । वर्षा शुरू भएपछि घर जाने बाटो बन्द हुन्छ कि भन्ने डरले उहाँलाई सताइरहेको छ ।
‘अहिले पनि रोशीखोलाको बाटो हिँड्न गाह्रो छ । पानी परेपछि त्यो बाटो झन् बिग्रन्छ । यसपालि त गाडी नै चल्न सक्दैन होला, मान्छेहरूको बिचल्ली हुन्छ’, सरोजले चिन्तित हुँदै भन्नुभयो ।
असोज महिनाको भारी वर्षाले क्षति पुर्याएको बीपी राजमार्ग अहिले अस्थायी रूपमा सञ्चालनमा छ । खोलाको बगरबाट डाइभर्सन खोलेर गाडी चलाउने व्यवस्था मिलाइएको छ । क्षतिग्रस्त सडकमा ठाउँठाउँमा ग्राभेल हालेर सम्याउने काम भएको छ जसले गर्दा अहिले गाडीहरू आवतजावत गर्न सकिरहेका छन् ।
असाेजको बाढीले राजमार्गको ९ किलोमिटर सडक पूर्णरूपमा बगाएको छ भने थप ३ किलोमिटर सडकमा चिरा परेको र कतिपय ठाउँमा पहिरो खसेको छ । कुल १२ किलोमिटर क्षेत्रमा वैकल्पिक डाइभर्सन बनाएर गाडी चलाइँदैछ ।
सरकारले बीपी राजमार्गको पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको छ । यसमध्ये काभ्रे खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुली खण्डका लागि १ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । स्थायी पुनर्निर्माणका लागि अहिले ठेक्का लगाउने प्रक्रिया अघि बढाइएको छ ।
अहिले काभ्रेको चौकीडाँडादेखि नेपालथोकसम्म अस्थायी मर्मत भइरहेको छ । भक्तपुर डिभिजन सडक कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर सुमन योगेशका अनुसार ग्रेडिङ र रोलिङको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । ‘आउँदो वर्षाका लागि राजमार्गलाई थप सुरक्षित बनाउन काठमाण्डौ र हेटौँडाबाट उपकरण मगाएर डाइभर्सनलाई अझै मजबुत बनाउने तयारी भइरहेको छ’, उहाँले भन्नुभयाे । ग्याबिन पर्खाल लगाएर सडक सुरक्षित बनाउने योजना रहेको उहाँले सुनाउनुभयो ।
दुई वर्षभित्र बीपी राजमार्गको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सरकारले बर्खाअघि नै बीपी राजमार्ग मर्मत कार्य सम्पन्न गर्ने दाबी गरे पनि काम ढिलो भएकाले यात्रु र चालकमा चिन्ता बढेको छ । सडक बिग्रिएका कारण यात्रा सहज नहुने डर छ ।
सडक विभागका सूचना अधिकारी अमित शर्माका अनुसार अहिलेको मुख्य प्राथमिकता यात्रुहरूको सुरक्षा हो । ‘बीपी राजमार्ग सरकारको प्रमुख प्राथमिकतामा छ र हामी यातायात व्यवस्थित बनाउन निरन्तर काम गरिरहेका छौँ’, उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ ।