जाने होइन त लमजुङको सुन्दर ‘भलामचौर गाउँ’ ?

 मंसिर २२, २०७५ शनिबार ११:३७:३६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – हिमालको काखैमा छ, भलामचौर गाउँ । यस गाउँले ग्रामिण पर्यटन विकासको उच्च सम्भावना बोकेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानीमा रहेको भलामचौर गाउँ हेर्दा निकै सुन्दर लाग्छ । 

गाउँबाटै देखिने मनास्लु, डा. हर्कपिकलगायतका मनै लोभ्याउने दर्जनौँ हिमऋङ्खला, चञ्चल पारामा छाल हानी नागबेली पारामा बग्ने मर्स्याङ्दी र मनोरम प्राकृतिक वातावरणले यहाँ आउने जोकोहीलाई ‘लट्ठै’ पारिदिन्छ । गाउँपालिकाको विकास र समृद्धिका लागि मर्स्याङ्दी गाउँपालिकाले भलामचौरलाई आफ्नो पर्यटकीय गन्तव्यको रुपमा राखेको छ ।

भलामचौरमै होमस्टे

स्थानीय सरकारसँगै स्थानीय बासिन्दा अहिले भलामचौरको पर्यटन प्रवद्र्धनमा अघि सरेका छन् । भलामचौर होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लुकुमारी गुरुङका अनुसार सिंगो गाउँपालिकाको समृद्धिका साथै स्थानीयको जीवनस्तर माथि उकास्ने हेतुका साथ अहिले भलामचौरमा होमस्टे सञ्चालनमा ल्याइएको छ । 

सुरुवातमा गाउँमा अहिले १० घरले होमस्टे सञ्चालन गरेका छन् । अब ५ घरमा छिट्टै होमस्टे सञ्चालन गर्ने तयारी छ । ‘भलामचौरमा आउने पर्यटकले स्थानीय मौलिक संस्कृति, प्राकृतिक सौन्दर्यमा रमाउनुका साथै स्थानीय कृषि उत्पादनको परिकार चाख्न पाउने छन्’, उहाँले भन्नुभयो ।

पर्यटक ओइरिनेमा ढुक्क   

लमजुङ–बेसीशहरबाट खुदी गोपालडाँडा हुँदै साँढे ५ किलोमिटरको दूरी पार गरेपछि भलामचौर गाउँ पुग्न सकिन्छ । गाउँमा उलेख्य संख्यामा आन्तरिक तथा बाह्य पर्यटकको भित्रिनेमा हुनेमा स्थानीय ढुक्क छन् ।

गाउँ आउने पर्यटकको लागि खर्चको प्याकेज निर्धारण गरिएको छ । भलामचौरको होमस्टेमा एक रात बिताउने पर्यटकलाई ७ सय रुपैयाँको प्याकेज छ । प्याकेजभित्र साँझको खाना, खाजा, सुत्ने कोठा र बिहानको खाजाको व्यवस्था छ । 

पर्यटकको सुविधाका लागि स्थानीय होमस्टे सञ्चालकले उचित शौचालय, बाथरुम, बेडरुम लगायतका  भौतिक संरचना पनि बनाएका छन् । होमस्टे व्यवस्थापन समितिका सचिव तेजबहादुर गुरुङका अनुसार गाउँमा रहेका होमस्टेमा ५० जनासम्म पाहुना राख्न सकिन्छ । होमस्टे सञ्चालनमा आएपछि गाउँमा ५ घरमा इन्टरनेट जोडिएको छ । 

स्थानीयले गाउँ आउने पर्यटकलाई स्वागत गरिहाल्छन् । पर्यटकलाई रोजाइअनुसारका स्थानीय परिकार खुवाउनुका साथै गुरुङ सँस्कृतिमा आधारित घाँटु, सोरठी, कृष्णचरित्रलगायत मौलिक संस्कृति पस्कन्छन् । 

होमस्टे विकासमा स्थानीय सरकारको साथ

स्थानीयका अनुसार गाउँ नजिकै बाइसे-चौबिसे राजाको पालाको गढी छ । ठूला ओढार, सुन्दर तलाउ, तीन कन्या देवी मन्दिर, पहराको कलादेवी, सिद्ध मन्दिर पनि पर्यटकको रोजाईँमा पर्ने गरेका छन् । भलामचौरसँगै मर्स्याङ्दी गाउँपालिका भित्र पर्ने थुप्रै गाउँमा होमस्टे सञ्चालनमा छन् । 

मर्स्याङ्दी गाउँपालिका नायुँ, सिउरुङ, छापा, मिप्रा, खानीगाउँ, भुष्मेलगायतका गाउँमा होमस्टे सञ्चालनमा रहेका छन् । गाउँपालिकाको समृद्धि र पर्यटन प्रवद्र्धनको लागि गाउँपालिकाले उच्च प्राथमिकताका साथ भूमिका निर्वाह गर्ने मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिनुभयो ।

 
 

अन्तिम अपडेट: चैत १४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया