गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न अल्पक...
बैशाख २, २०८२ मंगलबार
काठमाण्डौ – नयाँ वर्ष २०८२ को अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतादेखि पूर्वराजासम्मले शुभकामना सन्देश दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवद्र्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताउनुभएको छ । नव वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश दिँर्दै उहाँले आजको दिन नागरिकको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न आग्रह गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना सन्देश दिँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउन संविधानका कमीकमजोरीलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताउनुुभएको छ ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ,‘राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ ।’
देशमा आज विकास केवल सपना नभइ यथार्थ बनिरहेका, यस बीचमा ग्रामीण भेगहरूमा बनेका भौतिक पूर्वाधार, तिनले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि भएका प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।
यसैगरी सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८२ मा रोजगारी सिर्जना गर्दै उद्यमशीलताको प्रवर्द्धन र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार हुने विश्वास गर्नुभएको छ ।
रष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ वर्षमा बाँकी रहेका सबै ऐन कानून छिटो छरितो निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभकामना सन्देशमार्फत समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ । उहाँले वर्ष २०८२ मा आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारीको सिर्जनासँगै सुशासनका नयाँ मानक स्थापित गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै नेपालीहरु एकआपसबीच द्वन्द्व नहोस् र परस्परमा हिंसाको दुखद् मनस्थिति नबनोस् भन्नेमा आफू सधैँ सचेत र संवेदनशील रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले केही दिनअघि तीनकुनेमा भएको हिंसा, आगजनी, तोडफोड तथा प्रदर्शनका क्रममा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति दुःख व्यक्त पनि गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।