प्रदेशको नाम र स्थायी राजधानी तोक्न ढिलाई

 जेठ ३१, २०७५ बिहिबार ९:९:१० | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – प्रदेशको नामाङ्कन र राजधानीको विषय टुंगो नलगाउँदा प्रदेश ४ को प्रदेशसभा बैठकमा झडप नै भयो । नामाङ्कन र राजधानीका बारेमा पेश भइसकेको विधेयकमाथि छिटो छलफल गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसद अवरुद्ध पार्न खोज्दा झडपको अवस्था आएको थियो । 

तत्कालीन प्रदेश नम्बर ६ ले सबैभन्दा पहिले नाम कर्णाली र राजधानी सुर्खेत राख्ने निर्णय फागुन १२ गतेको बैठकले गरेको हो । प्रदेशको राजधानी र नामाकरण टुंङ्याउने विषयमा प्रदेश नम्वर ४ ले तयारी अन्तिम चरणमा पुर्याएको छ । 

प्रदेशको स्थायी राजधानी तथा नामाङ्कन तय गर्न प्रदेश नम्बर ४ म विन्दुकुमार थापा नेतृत्वमा गठन भएको समितिले प्रदेशको ११ जिल्लाबाट संकलन गरेको सुझाव सदनमा टेबल गरिसकेको छ । धेरैजसोले गण्डकी प्रदेश राख्न सहमति जनाएको भए पनि समितिले छलफलका लागि गण्डकीसँगै, तमुवान–मगरात, गोरखा र धवलागिरी नाम सिफारिस गरिएको थापाले बताउनुभयो ।

बाँकी प्रदेशमा भने नाम र राजधानी टुंगो लगाउने विषयमा खासै तयारी भएको छैन ।

प्रदेश १

नाम र राधजानीका विषयमा अनेक चर्चा चल्ने गरेको भएपनि अहिलेसम्म औपचारिक छलफल भने नभएको कांग्रेसका नेता राजु कोइरालाले बताउनुभयो । यो प्रदेशमा पहाडमा किरात समुदाय अर्थात राई र लिम्बु समुदायको ऐतिहासिक थातथलो छ । तराईले कोच समुदायको इतिहास बोकेको छ । त्यसैले अहिले नाम के राख्ने भन्ने टुंगो छैन । त्यस्तै, सर्वोच्च शिखर सगरमाथा र देशकै सवैभन्दा ठुलो नदी सप्तकोशी पनि यही प्रदेशमा पर्ने भएकाले नाम सगरमाथा, सप्तकोशी वा कोशी हुनुपर्छ भन्ने माग पनि छ ।

प्रदेश १ को नामका बारेमा प्रदेशसभाका सदस्यहरु पनि विभाजित छन् । माथिल्लो पहाडी क्षेत्रका सांसद सगरमाथा प्रदेश राख्नुपर्ने पक्षमा छन् । तल्लो भेगका सांसद कोशी प्रदेशको पक्षमा छन् । 

विगतमा तत्कालीन माओवादीले किराँत, लिम्बुवान र कोचिला प्रदेश भन्ने गरेको भूभाग अहिले सिंगै १ नम्बरमा पर्छ । तत्कालिन एमालेले बहुपहिचानका आधारमा किराँत लिम्बुवान कोशी प्रदेश भनेको थियो । अहिले दुवै पार्टी एक भएका छन् । अब सबैलाई मान्य हुनेगरी सगरमाथा वा सप्तकोशी प्रदेशमा सहमति खोज्न सकिने प्रतिपक्षी दलका नेता कोइरालाले बताउनुभयो । 

राजधानीको विषयमा भने धनकुटा, धरान, इटहरीका स्थानीयवासिन्दाले आफ्नै सहरमा हुनुपर्ने माग राखेपनि अहिले अस्थायी मुकाम तोकिएको विराटनगरलाई नै स्थायी राजधानी कायम हुने सम्भावना पनि छ । 

प्रदेश २

मधेशका आठ जिल्ला समेटिएको प्रदेश २ को नाम के राख्ने भनेर संसद बैठकमा अहिलेसम्म छलफलै भएको छैन । तर, प्रदेशको नाम मधेश, मिथिला, विदेह, मिथिला भोजपुरा लगायत नाम  राख्ने भन्ने विषयमा भने दलहरुको आआफ्नै धारणा छ । सम्भवतः प्रदेश २ को नाम मिथिला वा मधेश प्रदेश रहन सक्ने सम्भावना धेरै रहेको नेताहरुले बताएका छन् । राजधानी भने हाल रहेकै स्थान जनकपुर रहने पक्कापक्कि जस्तै छ ।

वीरगंज र सप्तरीले राजधानीको दावी गरेपनि ऐतिहासिक तथा जनकपुर नै राजधानी रहने सम्भावना धेरै देखिएको हो । प्रदेश नम्बर २ मा कामकाजको भाषा हिन्दीलाई बनाउने चलखेल भएको भन्दै कांग्रेसले विरोध जनाइरहेको छ ।  

प्रदेश ३

प्रदेश ३ को नाम भन्दा पनि राजधानी कहाँ राख्ने भन्ने बारेको बहश चर्को छ  । राजधानीको टुंगो नलागी प्रदेशको नाममा छलफल अघि बढ्न नसक्ने सांसदहरु बताउँछन् । अहिले अस्थायी मुकाम तोकिएको हेटौंडाबाट राजधानी सार्नुपर्ने धेरै सांसदको तर्क छ तर कहाँ सार्ने भन्नेमा चाहि एकमत छैन । केहीले काभ्रे, केहीले भक्तपुर, केहीले ललितपर त केहीले चितवन सार्नुपर्ने पक्षमा अडान राख्ने गरेका छन् । केहीले हेटौँडा नै ठीक भएको पनि चर्चा गरिरहेका छन् । 

राजधानी निर्धारण गर्न गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले बुधबार मात्रै भक्तपुर जिल्लाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति दीपक निरौलासहितको सदस्य टोलीले भक्तपुरको स्थलगत अध्ययन गरेको हो । 

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशको राजधानी र नामका विषय विवादरहित रुपमा निकास निकाल्न आग्रह गर्नुभएको थियो । प्रदेश कहाँ रहने, नाम के रहने भन्ने विषयमा विवाद गर्न भन्दा पनि विकासका काम कसरी गर्ने भन्ने बारेमा बहस चलाउन उहाँको आग्रह थियो । 

प्रदेश ३ को नाममा पनि बिभिन्न विकल्पहरु आएका छन् । प्रदेश ३ को नाम बागमती प्रदेश राख्ने सन्दर्भमा सबै दल एक ठाउँमा आउने सम्भावना छ । वागमती नदीको नाममात्र नभएर ऐतिहासिक मानव सभ्यता समेत भएकाले वागमतीले सबै समुदायको भावना जोड्नेमा सांसदहरु एकमतको नजिक छन् । 

तत्कालीन एमालेले यो प्रदेशको नाम नेवाः ताम्सालिङ बागमती प्रदेश समेत भनेको थियो । तत्कालिन माओवादीले विगतमा नेवाः प्रदेश र ताम्सालिङ प्रदेशको अभ्यास यही प्रदेशभित्र गरेको थियो । तर अहिले दुवै पार्टी एक भइसकेकाले दुवैको साझा धारणा आउनेछ । यसका अलावा नेपाल मण्डल प्रदेश, राजधानी प्रदेश र शैलुङ प्रदेशको नाममा समेत सांसदहरुबीच चर्चा चल्ने गरेको छ ।   

प्रदेश ५

प्रदेश नम्बर ५ मगर, थारु, मधेशी र खसआर्यको मिश्रित बसोबास रहेको प्रदेश हो । प्रदेश राजधानी बुटवल कि दाङ भन्ने विवाद अहिले पनि कायमै छ । प्रदेशको ५ को नाम लुम्बिनी प्रदेश रहने चर्चा छ । यद्यपी लुम्बिनीले निश्चित स्थानको मात्र प्रतिनिधित्व गर्ने भएकाले सबैलाई समेट्ने खालको नाम सुझाउन लागिएको छ । बुद्धभूमि प्रदेशमा सबैको भावनात्मक एकता समेट्ने भएकाले यसैमा पनि दलहरु सहमत हुनसक्ने देखिएको छ ।  

प्रदेश ७

खसआर्य र थारु समुदायको मिश्रित बसोबास रहेको यो प्रदेशको नामका लागि बिभिन्न विकल्पमाथि छलफल भइरहेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहका अनुसार सबैको भावना समेटिने गरी नाम तय हुनेछ । तर यस प्रदेशको  राजधानीको नाम भने खप्तड प्रदेश राख्नेमा दलहरु सहमत नजिक रहेका छन् ।  

यद्यपी, अहिले सेती महाकाली थरुहट प्रदेश, खप्तड प्रदेश, मानसखण्ड प्रदेश र डोटी प्रदेश नाममाथि पनि आन्तरिक छलफल भने भइरहेको उहाँले बताउनुभयो । प्रदेश राजधानी धनगढी नै राख्न लगभग सबै दल सहमत रहेकाले नामपनि सहमतिकै आधारमा राख्ने सांसदहरु बताउँछन् । औपचारिक रुपमा संसदमा छलफल सुरु भएपछि नाम र राजधानी सहजै टुंगो लाग्ने कानुन मन्त्री शाहले दावी गर्नुभयो । 

अन्तिम अपडेट: चैत २२, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया