‘सेकेण्ड लेफ्टिनेन्ट’ हूँ भन्दै प्रहरीलाई नै ‘ब्ल्याकमेल’ गर्ने ठकुरी पक्राउ

नेकपाकी नेतृ चाैधरीले भनिन, 'मलार्इ पनि ठकुरीले फसायाे'

 पुस १, २०७५ आइतबार १५:४:१३ | सुमन पुरी
unn.prixa.net

सुनसरी – ‘सेकेण्ड लेफ्टिनेन्ट’ हूँ भन्दै प्रहरी तथा स्थानीयवासीलाई ‘ब्ल्याकमेल’ गर्ने सुगम ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । उनी यसअघि पनि बलात्कार मुद्धामा पक्राउ परेको खुलेको छ ।

सेनाको सेकेण्ड लेफ्टिनेन्ट रहेको भन्दै ठगी गरिरहेका सुगम ठकुरीले यसअघि बलात्कार काण्डबाट समेत उन्मुक्ती पाएको खुलेको छ । सुनसरी दुहवी नगरपालिका सुभद्राका स्थायी बासिन्दा सुगम ठकुरीले बलात्कार मुद्धामा अदालतबाट उन्मुक्त पाएका थिए । २०६७ सालमा सात वर्षकी एक बालिकालाई बलत्कार गरेको अभियोगमा उनी  पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालय दुहवीबाट पक्राउ परेका ठकुरी त्यसबेला १४ वर्षका मात्रै थिए । १४ वर्षकै उमेरमा बलात्कार काण्डमा पक्राउ परेका ठकुरीलाई जिल्ला अदालतले भने नाबालक भन्दै अविभावकलाई जिम्मा लगाएको थियो ।

इलाका प्रहरी कार्यालय दुहवीका अनुसार प्रहरीले ठकुरीलाई पक्राउ गरी अदालत बुझाएको थियो । तर अदालतको फैसलाबारे आफूहरुलाई थाहा नभएको प्रहरीले बताएको छ ।

यसरी फसिन भगवती

प्रदेश र संघको चुनावको रस्साकस्सी चलिरहेको थियो । सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी थिइन् भगवती चौधरी । यसअघि पनि सोही निर्वाचन क्षेत्रमा प्रभावशाली नेता विजय गच्छदारसँग पराजित भएकी भगवती यस निर्वाचनमा भने जसरी पनि जित हासिल गर्ने पक्षमा थिइन ।

यसका लागि उनको प्रचार प्रसारमा लाग्ने मानिसहरुको आवश्यकता थियो । त्यही बेला भगवतीको आखाँमा परे सुगम ठकुरी । उनी भगवती चौधरीका छोरा द्रव्यका नजिकका साथी थिए ।

यसअघि कुनै सार्वजनिक कार्यक्रममा देखा नपरेका सुगम ठकुरी सार्वजनिक कार्यक्रममा देखिन थाले । शुरुमा सामाजिक सञ्जालमा चुनावी प्रचार सामाग्री बनाउन र पोष्ट गर्न जिम्मेवारी पाएका सुगमले पछि भने भगवतीसँग–सँगै हिँड्ने काम गर्न थाले ।

चुनावमा सँगै हिँडेका ठाकुरीले भने एमाले नेता भगवती चौधरीको चुनाव प्रचार प्रसारबाट फाइदा लिने मौका बनाएका रहेछन् । केही दिनअघि सेनाको लेफ्टिनेन्ट भन्दै ठगी गरेको आरोपमा सुगम ठकुरी पक्राउ परेपछि एमाले नेता भगवती चौधरी समेत यो प्रकरणमा मुछिएकी छन् ।

भगवती उपस्थित कार्यक्रममा सेनाको युनिर्फम लगाएर सुगम समेत हिँडेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले चौधरीमाथि स्थानीय स्तरमा दवाव बढ्दो छ ।

कतिपयले त भगवती चौधरीलाई समेत कारबाही हुनु पर्ने माग गरेका छन् । ‘नक्कली सेनाको मान्छे भनेर जान्दा जान्दै भगवतीले किन सुगमलाई गार्ड बनाइन् ?’ सामाजिक सञ्जालमा अहिले बहसको विषय बनेको छ  ।

लेफ्टिनेन्टको रामकाहानी

चुनावको परिणामपछि पनि सुगमले भगवती चौधरीलाई छाडेनन् । छोराको मिल्ने साथी भएपछि ठकुरी भगवतीका किचेन सदस्य भए । दुई चार दिन भगवतीकै  घरमा बस्ने गर्थे ।

भगवतीको छोरा द्रव्य काठमाडौं जाँदा पनि सँगै जान थालेपछि सुगमले भगवतीलाई अण्टिबाट ‘मम्मी’को साइनो लाउन थाले । यही बेला सुगमले भगवतीलाई भने, ‘म सेनाको ‘सेकेण्ड लेफ्टिनेन्ट’मा भिड्छु ।’ मम्मी भन्न थालेपछि भगवतीले सेनामा सेकेण्ड लेप्mिटनेन्टमा सुगमलाई जागिर लगाउन सबै शक्ति लगाइन् ।

श्रोतका अनुसार फर्म भर्न जाँदै सुगमले भगवतीको छोरा भनेर परिचय दिए । त्यसपछि सेनाका मेजर केशव कार्कीले भगवतीलाई सोधेँ, ‘तपाईँको छोरा भनेर एउटा केटो आएको छ ।’ भगवतीले जवाफ दिइन, ‘मेरो छोराको साथी हो । मेरै घरमा बस्छ ।’

त्यसपछि सुगमको सेनाको भर्ती प्रकृया शुरु भयो । भगवतीलाई ‘मम्मी’ भन्ने सेनाका अधिकारीलाई भगवतीले सोर्स लगाइदिँदै गइन् । भर्ना प्रकृयाका विभिन्न बिधामा सुगम फेल भएपनि भगवतीका कारण उनी सेकेण्ड लेफ्टिनेन्टमा भर्ना भए ।

सुगमलाई जागिर लगाउनका लागि भगवतीले कर्णेल, जर्नेलसम्मलाई भनेकी थिइन । श्रोतका अनुसार अफूले मात्रै भनेर नहुने भएपछि प्रधानमन्त्री कार्यालयबाट समेत दवाव गएको थियो । यति ठूलो दवावमा सुगम भर्ना भए पनि तालिम भने पूरा गर्न सकेनन् । उल्टो नक्कली परिचय पत्र बनाएर सर्वसाधारणलाई ठग्दै हिँडे ।

‘मम्मी’ भन्दै ‘ब्ल्याकमेल’

नक्कली सेना प्रकरणले भगवती चौधरीलाई समेत तानेपछि उनले आफू ‘मम्मी’ शब्दका कारण फसेको बताइन् । ‘मलाई नौ आमा भन्न थालेपछि मैले त्यो केटाको ‘ब्याक ग्राउण्ड के हो ? भनेर सोधखोज गरिन्’, चौधरीले भनिन्, ‘तालिम नै नलिइ आएको रैछ ।

मैले आफैँ जागिर लाइदिएकाले ‘सेकेण्ड लेफ्टिनेन्ट’ भएकोमा ढुक्क भएँ । ‘सेकेण्ड लेफ्टिनेन्ट’ भए पनि युनिर्फम लगाएर किन कार्यक्रममा लगेको भन्ने जिज्ञासामा उनले भनिन्, ‘मैले पटक–पटक नलगा भनेँ तर उसले युर्निफर्म लगाएर आयो ।’

मम्मी भनेर सम्बोधन गरेका कारण आफू समस्यामा परेको उनको तर्क छ । प्रकरणमा ऐमाले नेता भगवती चौधरी थप विवादमा फसेकी छन् । सेनाको ‘सेकण्ड लेफ्टिनेन्ट’ भन्दै ठगी गरेको पाइएपछि केही दिनअघि प्रहरीले सुनसरी दुहवीका सुगम ठकुरीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका ठकुरीले विभिन्न व्यक्तिहरुलाई सेनाको ‘सेकण्ड लेफ्टिनेन्ट’ र भगवती चौधरीको छोरा भन्दै ठगी गरेको पाइएको छ । नक्कली आइडी बनाएर हिँडेको, प्रहरीलाई ठगेको, सर्वसाधारणलाई जागिर लगाइदिने भन्दै ठगेको, युनिफर्म लगाएर ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले ठाकुरीलाई पक्राउ गरेको हो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया