अब कसले गाउँछ मृत्यु संस्कारमा भजन ?

मृत्यु संस्कारमा भजन गाउने परम्परा लाेप हुँदै

 पुस ६, २०७५ शुक्रबार १६:२४:९ | सुमन पुरी
unn.prixa.net

मृत्यु स‌ंस्कारमा सहभागी स्थानीयवासी

सुनसरी – सुनसरी साहेबगञ्जका सुरेन्द्र यादव ७० वर्ष पुग्न अब केही वर्ष मात्रै बाँकी छ । उमेरले डाँडो काट्यो । तर उहाँ कसैको मृत्यु भयो भनेर खबर सुन्न साथ घाँटीमा हारमोनियम झुण्डयाएर त्यतै दगुर्नुहुन्छ ।

उहाँसँगै ढोलक, झ्याली बोकेर अरु साथी पनि पछि–पछि लाग्छन् । मूली भएका हिसाबले सुरेन्द्र मृतकको घरमा पुग्नु हुन्छ । आँगनमा पलेटी कस्नुहुन्छ र जीवनलाई नै पटक–पटक झस्काउने शब्द उनेर भजन गाउनु थाल्नुहुन्छ ।

यसपछि मात्रै मृतकको अन्तिम संस्कार गर्ने कार्यक्रम सुरु हुन्छ । रामनारयण यादवले मृत्यु संस्कारका बेला भजन गाउन थालेको सानै उमेरदेखि हो । उहाँ ‘कति जनाको अन्तिम सस्कारमा गए’ भनेर सम्झन सक्नु हुन्न ।

उहाँ छरछिमेकमा कसैको मृत्यु भएको सुन्न साथ आफ्ना सबै काम छाडेर मृतकको घरतर्फ लाग्नु हुन्छ । अनि मृतकको घरदेखि घाटसम्म भजन गाउनु हुन्छ । भजनमा गाउने शब्द उहाँले आफन्तबाट सिक्नु भएको रहेछ ।

मधेसी समुदायमा मृत्यु संस्कारका बेला ‘जीवनभर जुन कर्म गर्यौं, मृत्युपछि त्यसैको फल पाउँछौं, जन्मिएपछि मर्नु अवश्य छ, त्यसैले कसैको मृत्यु भयो भनेर पिर नगर, जीवन छोटो छ, बाँचुन्जेल सत्कर्म गर, बल्ल–बल्ल पाएको जीवनको सदुपयोग गर’ जस्ता शब्द उनेर भजन किर्तन गाइन्छ ।

त्यही शब्द र लय अहिले पनि उहाँ मृतकको घरदेखि घाटसम्म गुञ्जाइरहनु हुन्छ । तर अब यो परम्परा अगाडि बढ्ने नबढ्नेमा भने उहाँ चिन्तित हुनुहुन्छ । पछिल्लो पुस्ता मृत्यु संस्कारका बेला गाइने भजन किर्तन सिक्न इच्छुक नभएपछि अहिले अग्रजहरुले गरिरहेको परम्परा कसले लैजाने भन्ने चिन्ता भएको रामनारायण यादवले बताउनुभयो ।

‘अहिले हाम्रो कामको बारेमा कसैलाई चासो छैन । हामी आफैले छोरा नातिलाई सिकाउन सकिनौं’, उहाँले प्रश्न गर्नुभयो, ‘यो काम नजानेपछि कसरी अगाडि बढ्छ समाज ?’

मधेसी समुदायमा मृत्यु संस्कारका बेला ‘जीवनभर जुन कर्म गर्यौं, मृत्युपछि त्यसैको फल पाउँछौं, जन्मिएपछि मर्नु अवश्य छ, त्यसैले कसैको मृत्यु भयो भनेर पिर नगर, जीवन छोटो छ, बाँचुन्जेल सत्कर्म गर, बल्ल–बल्ल पाएको जीवनको सदुपयोग गर’ जस्ता शब्द उनेर भजन किर्तन गाइन्छ ।

गाउँटोलमा  कसैको मृत्यु भयो भने घाट पुर्याउनु पहिल्यै किर्तन टोली मृतकको घर पुग्ने र केहीबेर घरमै किर्तन गर्ने चलन छ । त्यसपछि मलामीसँगै बजागाजा बजाउँदै भजन गाउँदै घाट जाने परम्परा छ ।

तर यसरी भजन गाउँनेहरु गाउँ–ठाउँमा नहुँदा समयमा शव उठाउन समेत समस्या हुन थालेको छ ।  ‘गाउँभरिमा एउटा समूह पनि छैन’, सुनसरी  साहेबगञ्जका वीरेन शाहाले भन्नुभयो, ‘यो कर्म जान्ने मान्छे नहुँदा घाट लैजान घण्टौ कुर्नु पर्ने भएको छ ।’

‘हामी नभएपछि कसले यो परम्परा धान्छ ?’, किर्तनका मुखिया सुरेन्द्र यादवले भन्नुभयो, ‘अहिले हाम्रो पछाडि कोही छैन अर्थात हामीले सिकेका कुरा सिक्ने युवा पुस्ता नै छैन ।’ सुरेन्द्र र रामनारायणले त मृत्यु संस्कारका बेला गाउँने भजन किर्तन सिक्नुभयो र अहिलेसम्म यो परम्परा धानिरहनु भएको छ  । तर अहिलेको पुस्ताले भने यो काम जानेको छैन ।

बदलिँदो परिवेश र समयले नयाँ पुस्तालाई यस्ता शब्द र लय नआएपछि यो परम्परा अघि बढ्ने–नबढ्ने जिम्मा ‘उपरवाले’लाई छोड्न बाध्य भएकाछन् मृत्यु संस्कारमा भजन गाउनेहरु । शहर बजारमा त अहिले नै मृत्यु संस्कारका बेला भजन किर्तन गर्ने चलन देख्नै पाइन्न । भित्री मधेस र गाउँमा पनि सीमित मान्छेलाई मात्रै यो कर्मका बारेमा ज्ञान छ ।

आगामी दिनमा यो परम्परा रहनेमा भने अहिले चिन्ता बढ्दै गएको छ । सुनसरी साहेबगञ्जका अगुवा जयप्रकास साहाले यो परम्परा संकटमा परेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो पुस्ताले मृत्यु संस्कारका बेला गाइने भजन सिकेको छैन ।

मृत्यु संस्कारका बेलाभजन  गाउनु अनिवार्य नै हो तर मान्छे नभएपछि अहिले मृत्यु भएको बेला भजन गाइन छाडेको छ ।  मानिस बाँचुञ्जेल ‘तेरो र मेरो’ गरिरहन्छन् ।

धन दौलत, पद प्रतिष्ठाकै पछि कुद्दा कुद्दै समय बित्छ । सत्य यही हो । तर मानिसले यही सत्य भने भुलिरहन्छ हरपल । मधेसी समुदायको मृत्यु संस्कारका बेला गाइने भजनले भने मानिसलाई सतकर्म भएर बाँच्न प्रेरित गर्छ । तर यही परम्परा भने मासिने खतरा छ । संकटमा छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया