ताप्लेजुङमा पहिरोको कहर : विश्वकप हेरेर फर्कँदै गरेका सनम बेपत्ता, दर्जनौँ गाउँ सम्पर्कविहीन

 असार १, २०७५ शुक्रबार १६:४३:२० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङको विभिन्न क्षेत्रमा गएको पहिरोले बगाउँदा एक जना युवक बेपत्ता बनेका छन् । फुङलिङ नगरपालिका –९, हाङदेवामा बिहीबार साँझ विश्वकप फुटबल प्रतियोगिता हेर्न गएका २६ वर्षीय सनम राईलाई हाङदेवा खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लजुङका प्रमुख डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

‘बस्नेत बिहीबार साँझ विश्वकप हेर्न भनेर गएका रहेका छन् । राति ११ बजे स्थानीयले यतै बस नजा भन्दाभन्दै  अटेर गरेर हिँडेछन् ।’ पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्ने इलामका सनम राई बिहानसम्म पनि वर्कसपमा नआएपछि सञ्चालक सञ्जय पताङवाले प्रहरीलाई खबर गर्नुभएको थियो । 

विश्वकप हेरेर मोटरसाइकलमा हिँडेका राईको अवस्था अहिलेसम्म पत्ता लागेको छैन । राई चढेको मोटरसाइकल खोलाले बगाएर करिब ५ मिटर तल पुर्याएको अवस्थामा फेला परेको छ । 

जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले धेरै परिवारहरु विस्थापित हुने अवस्था रहेको समते बताइएको छ । वास्तविक तत्थ्याङ्क नआए पनि अहिले जिल्ला सदरमुकाममै रहेको लाक्पा शेर्पाको घरमाथिबाट ढिस्को खस्दा पर्खाल भत्किएको छ भने जिल्लाका झण्डै ६० घर विस्थापित हुने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

जिल्लाका विभिन्न ग्रमिण क्षेत्रमा जाने एक दर्जन बढी ग्रामीण बस्तीमा जाने सडकमा पहिरोले क्षति पुर्याएपछि यातायात सम्पर्क विच्छेद भएको छ । सुकेटार विमानस्थल जाने बाटोका विभिन्न ठाउँमा गएको पहिरो पन्छाइएको छ भने अन्य ग्रामिण बस्तीमा जाने सडकहरु अहिले नै पन्छाउने अवस्थामा रहेको छैन ।

ताप्लेजुङ–दोभान सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको ताप्लेजुङ–ओलाङचुङगोला सडक आयोजनाले बताएको छ । त्यस खण्डको केनिम, नागेसोरी क्षेत्रका साथै अन्य विभिन्न ठाउँमा सडक अवरुद्ध भएको र त्यसलाई खुलाउने प्रयास भइरहेको कार्यालयले बताएको छ । 

पहिरोले सडक बिगारेपछि मैवाखोला गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मिरिङदेन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको सदरमुकामसँग यातायात सम्पर्क विच्छेद भएको छ । यस्तै पाथीभरा याङ्वरक गाउँपालिका, थेचम्बुबाट बिर्तामोडतर्फ जाने बाटो समेत पहिरोले बिगारेपछि यातायात अवरुद्ध भएको छ ।

बर्सेनि पहिरोको चपेटामा परेको ताप्लेजुङ जिल्लामा २०५९ देखि अहिलेसम्ममा १ सय ६० जना मानिसले ज्यान गुमाएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २०५९ सालामा लिङखिम, हाङदेवामा गएको पहिरोमा परि ११ जनाले ज्यान गुमाएका थिए । 

२०७२ सालमा जिल्लाका तत्कलीन गाविसहरु खोक्लिङ, लिबाङ, लिङलेप, सान्थाक्रा साथै विभिन्न भागमा गएको पहिरोका कारण ५९ जनाको मृत्यु भएको थियो । त्यस्तै २०७३ सालमा दोखुमा पहिरो जाँदा ४ जनाको ज्यान गएको थियो भने सयौं परिवारहरुको उठिबास भएको थियो । ती परिवार अहिले  पनि पुनर्स्थापनाका लागि संघर्ष गरिरहेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया