एप्पललाई ठूलो झट्का, एकैदिन गुमायो ७५ अर्ब अमेरिकी डलर

 पुष २०, २०७५ शुक्रबार ७:४४:४७ | एजेन्सी

विश्वकै ठूला कम्पनीमा समावेश अमेरिकी कम्पनी एप्पलको शेयरमा बिहीबार भारी गिरावट आएको छ । एकै दिनमा कम्पनीले ७५ अर्ब अमेरिकी डलर गुमाएको छ । 

एप्पलले बुधबार मात्रै सन् २०१८को पछिल्लो तीन महिनामा अनुमान गरेको भन्दा कम कमाई हुने बताएको थियो । कम्पनीले पहिले ८९ अर्ब अमेरिकी डलरको आम्दानीको अनुमान लगाए पनि बुधबार भने ८४ अर्ब डलर मात्रै हुन सक्ने बताएको थियो । 

पछिल्लो १६ वर्षमा पहिलो पटक एप्पलले आफ्नो आम्दानीको अनुमानमा कटौती गरेको हो । एप्पलले आफ्नो आम्दानी घट्न सक्ने बताउनुमा चीनमा आईफोनको बिक्री घट्नु पनि प्रमुख कारण हो । 

एप्पलले आफ्नो आम्दानी घट्न सक्ने बताएपछि अमेरिकाको मुख्य बजारमा पनि गिरावट आएको छ ।

एप्पल गएको अगस्टमा विश्वकै पहिलो हजार अर्ब(एक ट्रिलियन) अमेरिकी डलरको कम्पनी बनेको थियो । उसले ठूला कम्पनीहरु अमेजन, माइक्रोसफ्ट तथा फेसबुकलाई पछाडि पार्दै हजार अर्बको आंकडा छोएको थियो । त्यसबेला एप्पलको शेयर एक्कासि बढेको पनि गियो । 

तर अहिले भने लगातार एप्पलको कारोबार घट्दै गएको छ । केही विश्लेषकले यसलाई मामुली झट्का भने पनि धेरैले यसले एप्पललाई ठूलो घाटा पुग्ने चेतावनी दिएका छन् । 

आईफोनको बिक्री घट्नु नै यसको मुख्य कारण हो । पहिले आईफोन लन्च हुनेबित्तिकै उपभोक्ताहरु किन्न उत्सुक हुन्थे । आईफोनको नयाँ मोडल लन्च भएसँगै कम्पनीको शोरुममा लामो लाइन देखिन्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन ।

बीबीसीका प्रविधि संवाददाता डेव ली भन्छन्, ‘आजको समयमा मोबाइलको फोनको गुणवत्ताका कारण हामी नयाँ मोडल किन्न खासै उत्सुक हुँदैनौँ । अब नयाँ आईफोनको मूल्य नै एक हजार डलरसम्म आइपुग्यो ।’

त्यसो त एप्पलले आफ्नो मोबाइल फोनको बिक्री घटेको हेक्का नराखेको भने होइन । त्यसैले उसले आजको दिनमा स्वास्थ्य तथा फिटनेसलगायतका क्षेत्रमा समेत ठूलो लगानी गरेको छ । फेसबुकले कमाउने जति पैसा त एप्पलले सेवा क्षेत्रबाटै कमाउने गरेको छ । ली भन्छन्, ‘त्यसैले एप्पल कठिन परिस्थितिमा छ भन्नु गलत हुन्छ ।’

अर्कोतर्फ चिनियाँ अर्थव्यवस्था कमजोर बन्दै गएको छ । त्यही कारण चिनियाँ बजारमा आईफोनको बिक्री घटेको बताइन्छ । चीन र अमेरिकाबीचको व्यापारिक तनावका कारण पनि एप्पलको व्यापारमा कमी आएको छ ।

एप्पलका सीईओ टिम कुक यसका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिम्मेवार ठान्छन् । कुकले शेयरधनीहरुसँग भनेका थिए, ‘व्यापार युद्धको असर अब देखिन थालेको छ । त्यसैले ग्राहकहरुको भरोसा टुट्दै गएको छ ।’

एप्पलले भलै ठूलो नोक्सानी व्यहोर्दै गएको छ, उसँग भएको सम्पत्तिले अन्य क्षेत्रमा समेत लगानी गर्दै आफूलाई स्थापित गर्ने हैसियत भने अझै छ । 

 


 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया