पेलोसी बनिन् अमेरिकाकी सबैभन्दा शक्तिशाली महिला

 पुस २०, २०७५ शुक्रबार ११:३६:३३ | एजेन्सी
unn.prixa.net

अमेरिकाको क्यालिफोर्नियाबाट निर्वाचित डेमोक्रेटिक पार्टीकी सांसद न्यान्सी पेलोसी अमेरिकी प्रतिनिधिसभाको सभामुख चुनिएकी छिन् । 

सभामुखमा चुनिएसँगै पेलोसी अमेरिकाकी सबैभन्दा शक्तिशाली महिला बनेकी छिन् । अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिपछि सभामुख पद शक्तिशाली मानिन्छ । 

अमेरिकामा हालै मात्र भएको मध्यावधि चुनावको तल्लो सदन अर्थात हाउस अफ् रिप्रजेन्टेटिभमा डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने भनेकै बेला भएको पेलोसीको जितलाई महत्वका साथ हेरिएको छ । पेलोसीले पर्खाल बनाउने ट्रम्पको नीतिको विरोध गर्दै आएकी छिन् । 

सभामुखमा चुनिएपछि पेलोसीले भनेकी छिन्, ‘मलाई गर्व छ कि म यो संसदको सभामुखमा चुनिएकी छु । यो वर्ष अमेरिकी महिलालाई प्राप्त मताधिकारको १००औँ वर्षगाँठ समेत हो । सदनमा अहिले एक सयभन्दा बढी महिला सांसद छन् । यो संख्या अमेरिकी लोकतन्त्रको इतिहासमै सबैभन्दा धेरै हो ।’

पेलोसीको राजनीतिक यात्रा

न्यान्सी पेलोसी अब सभामुख मात्रै होइनन्, उनले अमेरिकी संसदमा विपक्षी दलको नेतृत्वसमेत गर्नेछिन् । सन् २००७ मा केही समयका लागि उनी सभामुखमा चुनिएकी थिइन् । साथै सन् २०१८ को मध्यावधि चुनावमा उनी डेमोक्रेटिक पार्टीकी रणनीतिकार पनि थिइन् ।

पेलोसी सधैँ रिपब्लिकन पार्टीको निशानामा पर्दै आएकी छिन् । रिपब्लिकन पार्टीले उनलाई असल सभामुख नभएको आरोप लगाउँदै आएको छ । 

सभामुखको शक्ति

अमेरिकी संविधानमा सभामुखलाई च्याम्बरको नेताका रुपमा हेरिन्छ । यसको अर्थ आवश्यक भएको खण्डमा सभामुखले उपराष्ट्रपति पछि राष्ट्रपतिको स्थान लिन सक्नेछन् । 

हाउस अफ् रिप्रजेन्टेटिभमा बहुमत हुने दलको संसदीय एजेन्डामा नियन्त्रण रहन्छ । 

पेलोसीले बाराक ओबामा सरकारको स्वास्थ्य योजना ‘अफोर्डेबल केयर’ लाई स्वीकृत गराउन पनि अहम भूमिका खेलेकी थिइन् । 

 


 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया