अष्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा भारतको ऐतिहासिक जित, ७१ वर्षपछि अष्ट्रेलियन भूमिमा पहिलो जित

 पुष २३, २०७५ सोमबार १३:३३:२३ | एजेन्सी
unn.prixa.net

अष्ट्रेलियाविरुद्धको चार टेस्टको शृङ्खलामा भारत दुई–एकले विजयी भएको छ । अष्ट्रेलियन भूमिमा भारतले टेस्ट शृङ्खला जितेको यो ७१ वर्षपछि पहिलो पटक हो ।

चौथो तथा अन्तिम टेस्टमा वर्षाका कारण अष्ट्रेलियाको दोस्रो पारी बिथोलिएपछि खेल बराबरीमा सकियो । जसका कारण भारतले पहिलो पटक अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जित्न सफल भयो । सन् १९४८ पछि अष्ट्रेलियन भूमिमा सिरीज जित्नका लागि चेतेश्वर पुजारा र कुलदिप यादवको प्रदर्शन निकै महत्वपूर्ण रह्यो ।

पहिले ब्याटिङ गरेको भारतले ६२२/७ को अवस्थामा पहिलो पाली समाप्त गरेको थियो । भारतका लागि युवा विकेटकीपर ऋषभ पन्त र चेतेश्वर पुजाराले शतक प्रहार गरेका थिए । शानदार शतक प्रहार गरेका पन्त १ सय ८९ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ५९ मा अविजित रहे । त्यसअघि चेतेश्वर पुजारा दोहोरो शतक बनाउन मात्र ७ रनले चुक्न पुगे । १ सय ३० ओभरको अन्तिम बलमा नाथन लायनले आफै क्याच लिँदै १ सय ९३ रनमा पुजारालाई पेभिलिएन फर्काए । पुजाराको योगफलमा २२ चौका समावेश थियो ।

रवीन्द्र जडेजा र पन्तले ७औँ विकेटका लागि २ सय ४ रनको कीर्तिमानी साझेदारी गर्दै भारतलाई विशाल रन सम्म पुर्‍याएका हुन् । जडेजा ८१ रनमा आउट भएपछि भारतले पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । जडेजाले ११४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै युवा खेलाडी मयंक अग्रवालले, ७७, हनुमान विहारी ४२,कप्तान विराट कोहलीले २३,अजिंक्या रहाणे १८ र केएल राहुल ९ रनको योगदान दिए ।

जवाफमा घरेलु टिम पहिलो पारीमा तीन सय रनमा अलआउट भयो । जसका कारण अष्ट्रेलिया ३१ वर्षपछि फलोअनमा पर्यो । दोस्रो पारीको सुरूवात गरेको उसले मात्र ६ रन बनाउँदा लगातार बर्षा भएपछि खेल सम्भव भएन ।अष्ट्रेलियाका लागि लाथन लायनले ४, जोश हेजलवुडले दुई र मिचेल स्टार्कले १ विकेट लिए । 

पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो । तेस्रो टेस्टमा भारत १ सय ३७ रनले विजयी भएको थियो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया