सेस फेब्रिगास मोनाकोमा अनुबन्धित

 पुष २८, २०७५ शनिबार ६:५०:२९ | एजेन्सी
unn.prixa.net

चेल्सीका मिडफिल्डर सेस फेब्रिगास फ्रान्सेली लिग वान क्लब मोनाकोमा अनुबन्ध भएका छन् ।

आर्सनलका पूर्व टिममेट फ्रान्सेली लिजेन्ट थिएरी हेनरीले प्रशिक्षण गरिरहेको मोनाकोसँग फेब्रिगासले साढे तीन वर्षको सम्झौता गरेका हुन् ।

गएको शनिबार एफए कप अन्तर्गत नटिंघम फरेस्टविरुद्धको खेल सकिएपछि बाहिरिँदै गर्दा समर्थकले फेब्रिगासलाई अन्तिम बिदाइ गरेका थिए । त्यतिबेला ३१ वर्षीय स्पेनिस कप्तान भावुक बनेका थिए ।

फेब्रिगास सन् २०१४ मा बार्सिलोनाबाट चेल्सीमा अनुबन्ध भएका हुन् । त्यसअघि उनी प्रिमियर लिगको अर्को क्लव आर्सनलमा सन् २००३ देखि २०११ सम्म बिताएका थिए ।

फेब्रिगासले नयाँ अनुबन्धलाई नयाँ प्रोजेक्ट भनेका छन् । त्यस्तै आफ्ना लागि ठूलो सम्मान बताएका छन् । ‘म टिमलाई सहयोग गर्न यहाँ आएको हूँ । म सुरुवात गर्न चाहन्छु र धेरै उत्साही छु’, उनले भनेका छन् ।

मोनाकोले फेब्रिगासको पारिश्रमिक तोकेको छैन । यद्यपि उनको प्रदर्शनको आधारमा चेल्सीलाई बोनस उपलब्ध गराइनेछ ।

इंग्लिस फुटबलमा ५०१ खेल खेलेका फेब्रिगासले २ पटक प्रिमियर लिग उपाधि, दुई पटक एफए कप उपाधि र एक पटक लिग कप उपाधि जितेका छन् । आर्सनलमा रहँदा उनले सन् २००६ मा एफए कप जितेका थिए भने त्यही वर्ष च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनासँग पराजित भएका थिए ।

सन् २०११ मा बार्सिलोनामा आबद्ध भएयता ला लिगा र क्लब विश्वकपसहित ६ उपाधि जितेपछि पुनः इंग्लिस फुटबलमा फर्किएका फेब्रिगासले चेल्सीबाट तीन वर्षको अवधिमा दुई प्रिमियर लिगको उपाधि जिते ।

स्टाम्फोर्ड ब्रिजमा सम्झौताको अन्तिम वर्ष नयाँ प्रशिक्षक माउरिजियो सर्ररीको प्रशिक्षणमा फेब्रिगासले प्रिमियर लिगमा एउटा मात्र खेल खेल्ने अवसर पाए । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै फेब्रिगासले चेल्सी र उसका समर्थकलाई धन्यवाद दिएका छन् ।

‘अहिलेसम्मको यात्रा निकै उल्लेखनीय रह्यो । बिदाईको हात हल्लाउनुपर्दाको क्षण जसका लागि पनि अप्रिय नै हुन्छ । म सबैलाई सम्झिरहनेछु र सबैलाई सुखद भविष्यका लागि शुभकामना दिन चाहन्छु’, फेब्रिगासले भनेका छन् ।

आफूले फुटबल सुरु गरेको टिम मोनाकोका लागि फ्रान्सेली महान खेलाडी थिएरी हेनरीले प्रशिक्षण गरिरहेका छन् । तर, मोनाकोले भने लिगमा अहिलेसम्म २ खेलमात्र जितेको छ । १८ खेलमा १३ अंकका साथ लिगमा पुछारबाट  दोस्रो स्थानमा छ ।

‘मोनाकोमा सेस फेब्रिगासलाई स्वागत छ । विश्वस्तरीय व्यावसायिक खेलाडीको आगमनले हामी आफ्नो सपना पूरा हुनेमा आशावादी छौँ’, क्लबका  उपाध्यक्ष भादिम भासिलेभले भने ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया