अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
नेपालमा पछिल्ला केही वर्षदेखि पर्यटक बढिरहेका छन् । सरकारसँगै हामी पर्यटक व्यवसायीका लागि पनि पर्यटक बढ्नु सुखद कुरा नै हो ।
गएको अंग्रेजी वर्ष अर्थात सन् २०१८ मा चाहिँ पछिल्ला केही वर्षभन्दा निकै नै धेरै पर्यटक आएका छन् । हामीले थाहा पाएअनुसार ११ लाख ७३ हजार पर्यटक गएको वर्ष नेपाल घुम्न आएका छन् । यसले हामी सबैलाई उत्साहित बनाएको छ । सन् २०२० मा नेपालमा २० लाख पर्यटक ल्याउनको लागि घोषणा भएको नेपाल भ्रमण वर्षलाई पनि गएको वर्षको तथ्यांकले हौसाएको छ ।
तर पर्यटक बढे भनेर हामी खुसीले बुर्कुसी मानुपर्ने अवस्था छ त ? भनेर पनि सोच्नुपर्ने अवस्था आएको छ । हामीले गएको वर्ष नेपालमा १२ लाख पर्यटक ल्यायौँ भनेर मख्ख परिरहँदा पर्यटनसँग सम्बन्धित व्यवसायमा त्यसले सकारात्मक प्रभाव पा¥यो कि पारेन भनेर पनि विचार गर्नैपर्ला ।
पर्यटक वृद्धिका २/३ वटा कारण हुन्छन् । पहिलो कारण स्वभाविक वृद्धि हो । यस्तो वृद्धि हामीले भएको वातावरण बिगारेनौँ र थप राम्रो पनि बनाएको भने पर्यटक स्वभाविक रुपमा अलिअलि बढिरहन्छन् । नेपालमा त्यो भएको पनि हुन सक्छ ।
दोस्रो कुरा देशमा राजनीतिक स्थिरता भयो, पछिल्लो समय बन्द हड्ताल भएको छैन । धेरै लुटपाट र पर्यटक असुरक्षाका घटना पनि धेरै भएका छैनन्, त्यसैले पनि नेपालमा पर्यटक बढिरहेका हुन सक्छन् ।
पर्यटक बढ्ने तेस्रो कारण भनेको राज्य र निजी क्षेत्रले पर्यटन प्रवद्र्धनको लागि गरेका प्रयासहरु नै हुन् । हामीकहाँ पनि पछिल्लो समय राज्य र निजी क्षेत्र दुवैले पर्यटकहरु नेपाल भित्र्याउन धेरै पहल गरिरहेका छन्, त्यसैको सकारात्मक प्रभाव गएको अंग्रेजी वर्षमा देखियो ।
पर्यटकको संख्या बढेको तथ्यांकले हामी दुःखी हुनपर्ने छैन, मज्जाले खुशी हुनुपर्छ । तर हामीले संख्या बढ्यो भनेर खुसी हुँदाहुँदै पनि केही कुरालाई भने ख्याल गर्नैपर्छ । म यौटा पर्यटन व्यवसायी, त्यसमा पनि पदयात्रा व्यसायीहरुको संगठनको अध्यक्षको हिसाबले मैले भन्नैपर्छ, जुन संख्या अहिले सार्वजनिक गरिएको छ, त्यसले पर्यटन व्यवसायीलाई पर्यटक वृद्धिको अनुभव दिन सकेको छैन ।
हामीले पर्यटक बढेको तथ्यांक सार्वजनिक गरिरहँदा कुन प्रकारका पर्यटक नेपालमा आएका हुन भनेर पनि ख्याल गर्नैपर्ला । हामीले नेपाल आउने गैरआवासीय नेपालीलाई पनि गन्यौँ, दोहोरो–तेहेरो प्रवेशलाई पनि गन्यौँ कि, नेपाल आएर व्यापार गर्ने विदेशीलाई पनि गन्यौँ कि अथवा टुरिष्ट भिसामा नेपाल आएर आईएनजीओमा काम गर्ने विदेशीलाई पनि गनिएको होला ।
हामीले पर्यटक बढे भनेर भाषण गरिरहँदा कम्तीमा तीनवटा कुरा त हुनै पर्यो
एक – व्यवसायीको व्यवसाय सप्रिनुपर्यो, आम्दानी बढ्नुपर्यो
दुई – रोजगारीमा वृद्धि हुनुपर्यो
तीन – हाम्रो कुल ग्राह्थ उत्पादन अर्थात जिडिपीमा पर्यटन क्षेत्रको योगदान पनि बढ्नुपर्यो ।
तर अहिले त संख्या १२ लाख पुग्यो भनियो, पर्यटन व्यवसायीले त संख्या बढेको अनुभूति त गर्न सकेनन् नि । हामीले त्यस्ता पर्यटकलाई नेपाल ल्याउनुप¥यो, जो २ हप्ताभन्दा धेरै नेपालमा बसून्, एडभेन्चर क्रियाकलापमा सहभागी बनून्, मनग्य खर्च गरुन र विदेश गएर अरु पर्यटकलाई पनि नेपाल पठाउन प्रेरित गरून् ।
पदयात्रा, र्याफ्टिङ, बन्जीलगायतका क्षेत्रमा पर्यटक बढे भने धेरै आम्दानी हुने हो । हामीले त्यस्ता पर्यटकको खोजी गर्नुप¥यो र योजना पनि त्यस्तै गरेर बनाउनुपर्यो ।
मैले विगतदेखि नै विभिन्न फोरममा पर्यटकको संख्यालाई धेरै महत्व नदिऔँ भन्दै आएको छु । अहिले पनि म भन्न चाहन्छु कि, संख्यालाई गनौँ तर धेरै महत्व नदिऔँ । हामीले संख्या मात्रै गन्ने हो भने त गलत दिशातर्फ जाने निश्चित नै छ । हामीले दिन सक्ने सेवा उपभोग गर्ने र राम्ररी खर्च गर्ने हो हामीलाई लाखौँ लाख पर्यटक नचाहिन पनि सक्छ ।
पर्यटक भिसा लगाएर नेपाल आउने जो सुकैलाई पर्यटकको संख्यामा गन्ने र नम्बरमै रमाउन लाग्यौँ भनेर त फेरि न हाम्रो रोजगारी बढ्छ, न व्यसायीको व्यवसाय सुध्रन्छ, न त जीडीपीमै सुधार आउँछ । पर्यटन क्षेत्रको योगदान बढ्नुपर्यो ।
जुनसुकै क्षेत्रमा पनि पूर्ण निखारिएको त के नै हुन्छ र । हामी पनि पूर्ण निखारिएका नहोला । तर हामी नेपालमा मनग्य खर्च गर्ने पर्यटक आए भने पनि गुणस्तरीय सेवा दिन तयार छौँ । हामीले पनि एक खालको स्टान्डर्ड बनाएर बसेका छौँ । अहिलेको मात्रै कुरा होइन सन् २०२० मा २० लाख पर्यटक ल्याउने भनेका छौँ, हामी त त्यसको लागि तयार भएर बसेका छौँ ।
ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल टानका अध्यक्ष नवराज दाहालसँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाहाल ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल टानका अध्यक्ष हुनुहुन्छ ।
Hari Prasad Khanal
Jan. 15, 2019, 11:28 a.m.मेरो पहिलो प्रश्न; कस्ता मानिसलाई पर्यटक भन्ने? दोस्रो; आन्तरिक पर्यटकलाई पर्यटन व्यवसायीले कुन स्थानमा राख्ने? यी दुई प्रश्नको पर्यटन व्यवसयी बीच राम्रो बहस चलाउनुहोस् महाशय। किनभने मेरो तीतो अनुभव छ, घुमघाम गर्न मन पराउँछु, तर फजुल खर्च गर्ने बानी छैन। रक्सी पिउँदिन, पिज्जा बर्गर खाँदिन। सादा दालभात बेच्दा पनि व्यापार त तपाईँहरुकोनै हुने होला नी! तपाईँहरुका कोठामा हामिले पनि बेड चार्ज तिरेर नै सुत्ने गरेका छौँ। गोआ भन्दा पहिले रारा जानु पर्छ, मनाङ जानु पर्छ, जनकपुर घुम्नु पर्छ, चाँदनी दोधारा जोड्ने १.४ किमीको पूल तर्नुपर्छ भन्ने मानिस हो म। तर के तपाईहरुले म जस्ता साथीहरुलाई हार्दिकताका साथ पर्यटकको रुपमा हेर्न सक्नुहुन्छ? स्मरण रहोस् मेरो प्रश्न नवराज दहाल लाई मात्र नभएर सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई हो।