थारु समुदायमा माघीको रौनक

 माघ १, २०७५ मंगलबार ८:२८:२७ | भावुक योगी
unn.prixa.net

बर्दिया – “माघ लाहाइली, सुरीक सिकार खैलि रे हाँ, सखिय हो, माघक पिली, गुरी गुरी जाँड”  यस्तै मघौटा, हुरदंगवा, सखिया, गीतमा नाचगान गर्ने, माघे सङ्क्रान्तिको अघिल्लो दिन जिता मार्ने, मिठा परिकार खाने र माघी नुहाउने थारु समुदायमा परम्परागत चलन छ ।

थारु समुदायमा मनाइने माघी पर्वमा पुस मसान्तको अघिल्लो दिन खोला र नदीमा माछा मार्ने, मसान्तका दिन जिता मार्ने (सुँगुर बंगुर मार्ने) नयाँ धान कुटाएर राखिएको चामलको पिठोबाट बनाइने ढिक्रीलगायतका परीकार बनाएर नाचगान गर्दै मिलेर खाने गर्छन् । साथै माघे सङ्क्रान्तिको दिन बिहानै खोला वा नदीमा माघी नुहाउने र नजिकैको मन्दिरमा पूजा गर्न जाने परम्परागत चलन पनि छ ।

थारु समुदायको बाहूल्यता रहेको पश्चिम तराइका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा बसोबास गर्ने थारु समुदायले माघे संक्रान्तिका दिनलाई ठूलो चाडका रुपमा मनाउने गर्दछन् भने थारु समुदायले माघलाई नयाँ वर्षका रुपमा पनि लिने गर्छन् ।

माघी पर्वका अवसरमा थारु समुदायले मघौटा नाचगान गर्ने परम्परा बिस्तारै हराउँदै गएको छ । होमस्टे, केही संघ संस्था र क्लवहरुले थारुहरुको संस्कृति जगर्ने गर्ने कार्यक्रम भने गर्दै आएका छन् । 

माघी पर्वसँगै थारु जातीमा खेतबारी अधिया बटैँया लगाउने, गाँउको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्न खुजनी बुजनी (पक्कापक्की) गर्ने परम्परागत चलन पनि कायमै छ । 

दैलेख, कालीकोट, मुगु, जुम्लालगायतका पहाडी जिल्लाबाट बसाइँसरी बर्दियामा बसोबास गर्दै आइरहेका महिला पुरुषहरुले पहाडी क्षेत्रको मेलामा गाइने देउडा गीत गाएर माघी मेलालाई रमाइलो बनाउने गर्छन् ।

ठाकुरद्वारा मन्दिरमा माघी तथा पर्यटन महोत्सव

पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारामा ‘बर्दिया माघी तथा पर्यटन महोत्सव २०७५’ मंगलबारदेखि सुरु भएको छ । 

बर्दियाका मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि ठाकुरद्वाराको ऐतिहासिक ठाकुरद्वारा मन्दिर परिसरमा बर्दिया माघी तथा पर्यटन महोत्सव २०७५ आयोजना गरिएको जिल्ला समन्वय समितिका अध्यक्ष शंकर थारुले जानकारी दिनुभयो ।

बर्दियाको कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यका साथ राज्यको पुर्नसंरचनासँगैै स्थानीय तह भएपछि यस क्षेत्रमै पहिलोपटक पुस ३० गते रातिदेखि माघ ४ गतेसम्म महोत्सवको आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो । 

भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठद्धारा मंगलबार दिउँसो महोत्सव उद्घाटन हुने आयोजकले जनाएको छ । महोत्सवमा आउने मन्त्रीसँगै बर्दियासहित छिमेकी जिल्लाका संघ र प्रदेशका सांसदहरु र स्थानीय तहका प्रमुख, उपप्रमुखलगायतको टोलीले पहिलो दिन ठाकुरद्वारा महोत्सव उद्घाटन पश्चात् बर्दियाका आठ ओटै स्थानीय तह भित्र रहेका प्रमुख पर्यटकीय स्थलको अवलोकन गर्ने र ४ गते बढैयातालमा समापन गर्ने जनाइएको छ ।

यस क्षेत्रको मौलिक कला, संस्कतिको जगेर्ना गर्दै बर्दियालाई प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न बर्दियाका ८ वटै स्थानिय तह र सरोकारवाला निकायहरुको सहयोग रहेको छ । परम्परा देखि यस मन्दिर परिसरमा हरेक वर्ष माघे सङ्क्रान्ति मेला लाग्ने भएकाले यसपटक मेलालाई महोत्सवको रुप दिइएको भए पनि महोत्सव प्रवेशका लागि शुल्क नलाग्ने आयोजकले जनाएको छ । 

महोत्सवमा राष्ट्रिय कलाकारसँंगै स्थानीय थारु कला संस्कृति र देउडा संस्कृति प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रदर्शनी रहने जनाइएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया