खप्तड गाेल्डकप: संकटालाई टाइब्रेकरमा हराउँदै पुलिस क्लब फाइनलमा, उपाधिका लागि थ्रीस्टारसँग खेल्ने

 माघ ३, २०७५ बिहिबार १९:१९:१८ | निर्मला खडायत
unn.prixa.net

काठमाण्डाै - संकटा क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको हो ।

बुधबार धनगढी रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलको १३ औं मिनेटमा पुलिसका अभिषेक रिजालको क्रसमा तिर्थ रानाको हेडरले पोस्टको दिशा लिन सकेन । 

२७ औं मिनेटमा संकटाले अग्रता लिने सुवर्ण अवसर गुमायो । सुभाष गुरुङको पासमा एलोन म्याक्सवेलले गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले सहजै बचाए ।

४२ औं मिनेटमा तेज तामाङको क्रसमा अभिषेक रिजालको प्रहारलाई संकटाका गोलरक्षक राजाबाबु थापाले उत्कृष्ट डाइभ दिँदै विफल पारे ।
दोस्रो हाफमा दुवै टोलीले अपेक्षित रुपमा आक्रामक लय बुन्न सकेनन् । संकटा ८० औं मिनेटमा अग्रता लिनबाट चुक्यो । 

पुलिसका गोलरक्षक शत्रुघन चौधरीले पन्च गरेपछि पोजिसनमा नहुँदा सुभाष गुरुङले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
८५ औं मिनेटमा पुलिसका रवी पासवानको क्रसमा निरकुमार राईको प्रहारलाई गोलरक्षकले सहजै बचाए ।

टाइब्रेकरमा संकटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले गोल गरे । पाँचौ प्रहारमा सुभाष गुरुङको प्रहार रोशन खड्काले बचाए । 
पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तिर्थ राना र विक्रम धिमाल पेनाल्टीमा सफल भए । यस जितसँगै विजयी टोलीले प्रतियोगिताको उपाधि प्रतिस्पर्धामा शनिबार थ्रीस्टारको सामना गर्ने भएको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया