भारतीय पक्षले नेपाली पक्षसँग समन्वय नै नगरी दशगजामा तारबार लगायो

 माघ १०, २०७५ बिहिबार २०:८:२३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - भारतीय पक्षले नेपालसँग समन्वय नै नगरी दशगजा क्षेत्रमा खाल्डो खनेर तारबार लगाउने काम सुरु गरेको छ । 

वन्यजन्तुको संरक्षणका लागि भन्दै भारतले कञ्चनपुरको पुनर्वास नगरपालिका–११, डोकेबजारमा रहेको सीमा स्तम्भ नम्बर १७१ देखि करिब २ किलोमिटरको क्षेत्रफलमा तारबार लगाउन थालेको हो ।

दुधुवा नेशनल पार्क संरक्षण गर्न भारतको वनविभागले दशगजा क्षेत्रमा पर्ने आफ्नो जंगलमा तारबारको काम गरेको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताउनुभयो । 

उहाँले भारतीय वनविभागले वन्यजन्तुको संरक्षणका लागि दशगजामा रहेको आफ्नो भूमिमा ट्रेन्च खन्ने काम सुरु गरेको बताउँदै नेपाली पक्षसँग भने समन्वय नगरेकाे बताउनुभयो ।

‘दुधुवा नेशनल पार्कबाट आउने जनावरलाई रोकथाम गर्न भारतीय वनले दुईतीन दिनदेखि तारबारको काम गरिरहेको थियो’,उहाँले भन्नुभया,े‘बिहीबार सो क्षेत्रमा खाल्डो खन्ने काम पनि भइरहेको जानकारी सर्भे टोलीका प्रमुखसहितको टोलीलाई बुझ्न पठाएका छौँ ।’

उहाँका अनुसार भारतीय पक्षले दशगजा क्षेत्रबाट झण्डै २० मिटर टाढा भारतीय भूमीमा दूरीमा खाल्डो खनेको छ । 

‘बस्तीलाई प्रभाव पर्ने नपर्नेबारे अहिले भन्न सकिने अवस्था छैन’, उहाँले भन्नुभयो ‘हामीले अहिलेलाई खाल्डो खन्ने काम स्थगित गर्न भनेका छौ ।’  
यसअघि पनि भारतको वनविभागले दुधुवा नेशनल पार्क संरक्षण गर्ने भन्दै कञ्चनपुरको पुनर्वासमा रहेको दशगजा नजिकै भूमिमा खाडल खनेर तारबार लगाउने काम गरेको थियो । 

तस्बिर: निर्मला खडायत

नेपाली पक्षबाट चर्को विरोध भएपछि भारतले उक्त काम रोकेको थियो । चार वर्षपछि फेरि दशगजा नजिकै क्षेत्रमा डोजर चलाएर भारतीय वनविभागले तारबारका लागि खाडल खन्ने काम सुरु गरेको पुनर्वास नगरपालिका–११ का वडाध्यक्ष तुलसी अर्यालले बताउनुभयो । 

वनविभागले गर्न थालेको कामले नेपालीभूमि वर्षातमा डुबानमा पर्ने खतरा रहेको स्थानीयले बताएका छन् ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया