राजसंस्थाको एजेण्डा बोकेको पार्टी पटक–पटक सरकारमा गएको नागरिकले मन पराएनन्

 माघ २०, २०७५ आइतबार १३:४५:१५ | कमल थापा
unn.prixa.net

सर्वप्रथम केन्द्रीय कार्यसमितिको यस बैठकमा म सम्पूर्ण साथीहरुमा हार्दिक स्वागत अभिवादन गर्दछु । खासगरी काठमाण्डौ बाहिरबाट पाल्नु हुने साथीहरुमा विशेष धन्यवाद समेत अर्पण गर्दछु । यस बैठकमा मुख्य रुपले देशको वर्तमान अवस्थाको समीक्षा तथा पार्टीको भावि कार्ययोजनाका बारेमा हामी छलफल गर्नेछौँ ।

(१) २०७५ साल जेष्ठ महिनामा वीरगञ्जमा सम्पन्न राप्रपा केन्द्रीय परिषदको बैठकले मुलुकको एक दशक लामो राजनीतिक संक्रमण र त्यसले नेपाली समाजमा पारेको प्रभावको विश्लेषण गर्दै पार्टीको भावी वैचारिक कार्यदिशा, राणनीति र कार्यनीति निर्धारण गरेको थियो । केन्द्रीय परिषदको उक्त मार्गनिर्देशन अनुरुप हामी अहिले क्रियाशील रहेका छौ । वर्तमान अवस्थामा पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने सन्दर्भमा एकता महाधिवेशन र केन्द्रीय परिषद बैठकका मार्गदर्शनहरुको सिंहावलोकन गर्नु उपयुक्त हुनेछ । केन्द्रीय परिषद बैठकको मुख्य सन्देश र ठहर देहायबमोजिम रहेको छ :

(क) निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको विभाजन, नेपाली कांग्रेससँगको सहकार्यमा इमान्दारिताको अभाव, हिन्दूराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी पटक–पटक सरकारमा गएको जनताले मन नपराउनु तथा आमजनतामा पार्टीले एजेण्डा छोडेको भ्रम पर्नुजस्ता कारणले गत आमचुनावमा राप्रपाको अत्यन्त निराशाजनक परिणाम आयो । साथै, कमजोर संगठन रहनु, अत्यन्त न्यून स्थानमा उमेदवार खडा गर्नु तथा साधन श्रोतको अभाव पनि निर्वाचनमा पराजयका कारणहरु हुन् । 

(ख) यसरी प्राप्त निराशाजनक निर्वाचन परिणामका बाबजुद राष्ट्रको बृहत्तर हितका निमित्त पार्टीले अवलम्बन गरेका नीति, विचार र सिद्धान्तको औचित्य र महत्व यथावत कायम रहेकोे छ । यस वास्तविकतालाई विगत एकदशकको राजनीतिक घटनाक्रम र देशको अवस्थाले समेत प्रमाणित गरेको छ । संविधान  जारी भै भएको पहिलो आमचुनावपछि गठन भएको दुईतिहाई बहुमतको सरकारको असफलताले समेत उपरोक्त तथ्यलाई पुष्टि गरेको छ । 

(ग) राप्रपाको एकता महाधिवेशनले सम्वर्द्धनवादलाई पार्टीको वैचारिक दर्शनको रुपमा स्थापित गरेको छ । साथै सनातन हिन्दूराष्ट्र, राजसंस्था सहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई पार्टीको बैचारिक आधारस्तम्भको रुपमा अंगिकार गरेको छ ।

(घ) उपरोक्त पृष्ठभूूमिमा पार्टीको दीर्घकालीन लक्ष्य हासिल गर्न तथा राप्रपालाई देशको एक अग्रणी शक्तिका रुपमा स्थापित गर्न संगठन निर्माण, जनपरिचालन कार्यक्रम, पार्टी एकता र जनसंघर्षलाई भावी कार्यनीतिको रुपमा अवलम्बन गरेको छ । 

(२) नयाँ संविधान अनुरुप सम्पन्न पहिलो आमचुनाव पछि गठन भएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले एक वर्ष पूरा गर्नलागेको पूर्वसन्ध्यामा यो बैठक बसिरहेको हुँदा सरकारको एकवर्षे कार्यकालको समीक्षा गर्नु स्वाभविक र प्रासांगिक समेत हुनेछ ।

राष्ट्रियता, स्थिर सरकार र आर्थिक सम्मृद्धिको मूल नारा लिएर निर्वाचनमा गएको नेकपालाई जनताले सबैभन्दा ठूलो शक्तिका रुपमा स्थापित गरे । अहिले के पि ओली नेतृत्वको सरकारलाई संसदमा दुईतिहाई बहुमतको समर्थन प्राप्त छ । तर संसदीय अंकगणितमा बलियो देखिएता पनि यो सरकारले आमजनतालाई परिवर्तनको अनुभूति दिन सकेको छैन । एकाध अपवादलाई छोडने हो भने सरकार प्रायः सबैक्षेत्रमा असफल प्रमाणित भएको छ ।

यथार्थमा भन्ने हो भने २०६३ सालदेखि हालसम्म गठन भएका पूववर्ति सरकारहरु कै असफलता र अकर्मण्यताको पदचिन्हमा वर्तमान सरकारसमेत हिँडिरहेको छ । नयाँ संविधान जारी हुनु पूर्वका सरकारहरु भन्दा यो सरकार कुनै दृष्टिकोणबाट पनि अग्रगामी, प्रगतिशील छैन तथा कार्यशैलीको आधारमा समेत फरक देखिँदैन । यद्यपि, हाल देशमा देखिएका विकृति, विसंगति र अनियमितता वर्तमान सरकारको मात्र सिर्जना होइन । तर वर्तमान सरकारले विगत एक दशकको असफलतालाई भने अझ व्यापक बनाएको छ र तीव्रता प्रदान गरेको छ ।

  • विगत एक दशकभित्र सबैभन्दा घातक आक्रमणको निशानामा नेपालको अखण्डता, एकता र राष्ट्रिय पहिचान परेको छ । २०६२/६३ को आन्दोलन अन्त भएको एक महिना नबित्दै हिन्दूराष्ट्रको पहिचानलाई समाप्त पारी कथित धर्मनिरपेक्षता लादने काम भयो । धर्मनिरपेक्षताको आडमा संगठित र योजनाबद्धरुपमा लोभलालच दिएर तथा भ्रम सिर्जना गरेर हिन्दू, बौद्ध र किरांत धर्माबलम्बीहरुको धर्मपरिवर्तन गर्ने गराउने कार्य भैरहेको छ । राजधानी काठमाण्डौमा इसाई धर्मप्रचारक संस्थाले आयोजना गरेको एक विवादास्पद कार्यक्रममा सरकारको सक्रिय उपस्थिति तथा १३ करोड आर्थिक सहयोगले धर्मपरिवर्तन कार्य तथा त्यस कार्यमा क्रियाशील गिरोहलाई स्वयं सरकार र सत्तारुढ  दलकै संरक्षण र प्रोत्साहन रहेको स्पष्ट हुन्छ । हाल भैरहेको धर्मपरिवर्तनको गतिलाई नियन्त्रण नगर्ने हो भने निकट भविष्यमा नै परम्परादेखि नेपाली समाजमा कायम रहंदै आएको सांस्कृतिक सदभाव र एकता खलबलिने तथा देश धार्मिक द्वन्द्वको दलदलमा फस्न सक्ने खतरा टडकारो देखिन्छ ।
  • ६२-६३ को आन्दोलन पश्चात परिवर्तनलाई संस्थागत गर्नेक्रममा अबलम्वन गरिएका गलत नीति र त्रुटिपूर्ण मार्गचित्रको परिणामस्वरुप राष्ट्रिय एकता र नेपाली जनताको सार्वभौम निर्णायकत्व कमजोर हुनपुगेको छ । नेपालको इतिहासमा पहिलोपटक देश टुक्राउन चाहने विखण्डनकारी शक्तिसमेत सतहमा देखिएको छ । केही समय अघि तराईका केही जिल्लाहरुमा ‘मधेस नेपाल होइन, मधेस स्वतन्त्र राष्ट्र हो’ भन्ने व्यानर र प्लेकार्डसहित प्रदर्शन हुँदा राज्यसंयन्त्र मौन दर्शक बन्नुले अनेक आशंका र चिन्ता जन्माएको छ । राष्ट्रबादको चर्को नारा दिएर सत्तारोहण भएको वर्तमान सरकार विखण्डनकारीको अगाडि किन लाचार बन्यो रहस्यमय छ ।  
  • वर्तमान समयको अर्को खतरा बाह्य शक्तिको बढदो चलखेल र प्रभाव पनि हो । प्रमुख राजनीतिक दलका नेताहरुमा सत्तामा पुग्न तथा पुगिसके पछि टिकेर बस्न बाह्य शक्तिको सहयोग र आशिर्वाद आबश्यक छ भन्ने आत्मसमर्पणवादी मानसिकता हावी भएको छ । यो प्रवृत्तिको कारणले गर्दा बाह्य शक्तिहरुको मनोबल बढेको छ तथा भूमिका व्यापक हुँदै गएको देखिन्छ । यही क्रममा नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुने प्रारम्भिक संकेतहरु देखिएका छन् । अपरिपक्व र असन्तुलित परराष्ट्र नीतिको सञ्चालनले थप जटिलता सिर्जना गरिरहेको छ । भेनेजुएलाको घटनाक्रमवारे नेपालको वक्तव्य प्रकरण यसको पछिल्लो उदाहरण हो ।
  • अहिले लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र चलिरहेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद काण्ड, एनसेलको करछली, सुन काण्ड, बुढिगण्डकी जलविद्युत काण्डहरु विगत केही वर्षदेखि मौलाउँदै गइरहको ब्रम्हलुटका केही नमुनाहरु हुन् । यसैगरी विदेशका विभिन्न बैंकहरुमा गैरकानुुनी रुपले कालोधन लुकाउने र नेपालबाट पठाईएका कालोधनलाई बिदेशमा लगि लगानीको रुपमा सेतोधन बनाएर फिर्ता ल्याउने धन्दा व्यापक भएको छ । यसबारे हालै सनसनीखेज तथ्यहरु सार्वजनिक भएका छन् । तर, यस्ता भ्रष्टाचार काण्डहरुवारे गम्भीर र इमान्दार छानबिन भएकै छैन, केही छानबिन भएका काण्डहरुलाई पनि गुपचुप पार्ने प्रयास जिम्मेवार तहबाट नै भैरहेको छ । यस्ता अरबौ रुपैयाँको घोटाला राजनीतिक तहको संरक्षणबिना हुनै सक्दैन, त्यही कारणले गर्दा नै भ्रष्टाचार काण्डको छानबिन र कारबाही बीचमै तुहिने गरेको छ ।
  • देशको अर्थतन्त्र पनि दिनपर दिन नाजुक हुँदै गएको छ । देशको कुल आम्दानीको करिब ३५ प्रतिशत विप्रेषणबाट प्राप्त हुने गरेको देखिन्छ । कुनै कारणवश विश्वबजारमा मन्दी आएर वैदेशिक रोजगारीमा नकरात्मक प्रभाव पर्‍यो भने नेपालको अर्थतन्त्र धराशयी हुने खतरा छ । कृषि, पर्यटन र जलश्रोतको अपेक्षित विकास हुन सकेको छैन । स्वदेशी तथा बिदेशी लगानी अत्यन्त निराशाजनक छ । अनुत्पादक क्षेत्रमा पुंजी खेर गैरहेको छ । दिगो आर्थिक विकासको आधार तयार भएको छैन । गरिब र धनीबीचको खाडल ठूलो हुँदै गएको छ । व्यापार घाटा बढिरहेको छ तथा शोधनान्तर स्थिति पनि प्रतिकुल हुँदै गैरहेको छ । रोजगारीको खोजिमा प्रत्येक दिन १५ सय भन्दा बढी युवाहरु विदेश पलायन हुन बाध्य छन् । हाल लगभग ४० लाख उत्पादनशील तथा सिर्जनशील युवावर्ग वैदेशिक रोजगारीमा छन् । समग्रमा भन्ने हो भने राजनीतिक अस्थिरता, नीतिगत अन्यौल तथा स्वार्थी र भ्रष्ट प्रवृत्तिको कारण हाम्रो अर्थतन्त्र संकटको भूमरीमा परेको छ ।
  • राष्ट्रिय सुरक्षाका सम्बन्धमा समेत सम्भावित खतराका कालो बादल छिटफुट रुपमा देखिन थालेको छ । वर्तमान सरकारको असफलताको पृष्ठभूमिमा निकट भविष्यमा नै राजनीतिक अस्थिरता र अरजकताको अर्को श्रृंखला सुरु हुने संकेतहरु देखा परेका छन् ।  विखण्डनकारी शक्ति अहिले आफ्नो प्रभाव र संगठन विस्तारमा लागेको छ । यस समुहले उपयुक्त समय हेरेर तराईका विभिन्न जिल्लाहरुमा अराजकता खडा गर्न सक्दछ । आमूल परिवर्तनको पक्षधर तथा वर्तमान राजनीतिक प्रणालीलाई विस्थापित गर्न चाहने विप्लव नेतृत्वको माओवादीले विभिन्न जिल्लाहरुमा गतिविधि तीव्र पारिरहेको छ । शक्ति सञ्चय गर्दै ठूलै वितण्डा मच्चाउने तयारीमा रहेको आभाष हुन्छ ।
  • वर्तमान कम्युनिष्ट सत्ताको कार्यबाट सर्वसत्तावादको खतरा देख्ने संसदवादी गैरकम्युनिष्ट राजनीतिक दलहरु आफ्नो वर्चस्व रक्षाका खातिर विभिन्न बहानामा सडक र संसद तताउने तयारीमा रहेको प्रष्टै देखिन्छ । अर्कोतर्फ सत्तारुढ दल नेकपा भित्र नै विवाद र अन्तरविरोध चर्काएर अस्थिरतालाई मलजल गर्ने गराउने खेल प्रारम्भ भैसकेको अनुभूत हुन्छ । यसरी विभिन्न कोणहरुबाट भैरहेका गतिविधिहरुले अन्ततः देशलाई अस्थिरता र अराजकतातर्फ धकेल्ने सम्भावना देखिन्छ । यस प्रवृत्तिले राष्ट्रिय सुरक्षालाई जोखिममा पार्न सक्दछ । भारतमा हुने आगामी निर्वाचनको परिणामले पनि उपरोक्त गतिविधिलाई प्रभावित गर्ने नै छ ।
  • अर्कोतर्फ यस्तो कठिन स्थितिमा स्थाई सरकारको रुपमा रहने प्रशासनिक, संबैधानिक र सुरक्षा संयन्त्रहरु निष्प्रभावि बन्दै गएका छन् । राज्यका प्रायः सबै अंगहरुमा भैरहेको पार्टीकरणको परिणामस्वरुप राज्यसंयन्त्रको प्रभावकारिता र कार्यक्षमताका व्यापक ह्रास आएको छ । स्वयं न्यायपालिका, सुरक्षा निकाय र संबैधानिक अंगहरु समेत यस प्रवृत्तिबाट अछुतो छैनन् ।

(३) स्वभाविक रुपले प्रश्न उठछ उल्लेखित संकट र समस्याको मुख्य कारण के हो ? मुख्य कारक राजनीतिक क्षेत्र र दलहरु हुन भन्ने वारे विवाद छैनन । तर, कारण के हो ? के अमुक व्यक्ति वा दलको अदूरदर्शिता, अकर्मण्यता  र असक्षमताले मात्र यस्तो विकराल परिस्थिति सिर्जना भएको हो त ? निश्चय पनि असफलताको नैतिक र वैधानिक जिम्मेवारी राजनीतिक दल र नेताहरुमा नै जान्छ । तर, नेता र दलहरुको शुद्धिकरणबाट मात्र समस्याको समाधान हुने अवस्था अब छैन ।

किनभने असफलताको मुल जड व्यक्ति र दलका अकर्मण्यताका साथै नीति, व्यवस्था र मार्गचित्रमा रहेको छ । परिवर्तनलाई संस्थागत गर्ने क्रममा बिदेशीको दवाव, प्रभाव र स्वार्थमा कतिपय नयाँ र अपरिचित विचारहरुलाई नेपाली परिवेशको कसीमा नखारिकन लादने काम गरियो । ती अवधारणाहरुलाई नेपाली समाज र संस्कारले धान्न सकिरहेको छैन । यो तितो सत्यलाई स्विकार गर्दै धर्मनिरपेक्षता, गणतन्त्र र संघियता जस्ता मुलभूत विषयहरुको कार्यान्वनवारे पुनर्विचार र समिक्षा गर्नु अब आवश्यक मात्र होइन अनिवार्य समेत भैसकेको छ । सम्भव भएसम्म वर्तमान संबिधान कै परिवेश र आधारभूमिबाट सबै राजनीतिक विचार र शक्ति अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास र स्थापना तर्फ राजनीतिक दल, नागरिक समाज, बुद्धिजीविवर्ग र आमजनताको ध्यान जानु पर्दछ भन्ने राप्रपाको धारणा रहेको छ ।

(४) राप्रपा मन, वचन र कर्मले जनताको सर्वोच्चता र प्रजातान्त्रिक प्रणालीप्रति आस्था र विश्वास राख्दछ । फरक फरक बिचार, धार र मार्गचित्रहरु बीचको प्रतिस्पर्धाले प्रजातन्त्रलाई बलियो पार्दछ । यहि मान्यतालाई आत्मसात गर्दै नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा अन्य दलहरु भन्दा फरक विचार बोकेर क्रियाशील रहेको छ । राष्ट्रनिर्माणका अहिले दुई प्रमुख धारहरु देखिएका छन् । पहिलो धार, सुरुमा माओवादीले अबलम्बन गरेको र पछि अन्य दलहरुले समेत अनुसरण गरेको बिचार अर्थात धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको मान्यता । दोस्रो धार राप्रपाले आत्मसात गरेको सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वातन्त्रता सहितको सनातन हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र र बलियो स्थानीय स्वायत्त शासन प्रणालीको मान्यता ।

देशको वर्तमान संकट र संभावित खतरालाई सामना गर्न उपरोक्त दुई बैचारिक धारहरुका बीचमा सामञ्जस्यता र समन्वय खोज्नु उपयुक्त हुनेछ । त्यही नै देशको बृहत्तर हितमा हुनेछ । यदी सामञ्जस्य कायम गर्न सकिन्न भने मुलभूत बिषयहरुमा जनताको प्रत्यक्ष जनमत हासिल गर्न राष्ट्रिय जनमत संग्रहमा जानु उपयुक्त हुनेछ । अन्यथा, विद्यमान प्रवृत्ति, नीति र मार्गचित्रलाई जवर्जस्ती निरन्तरता दिंदै जाने हो भने नेपाल असफल राष्ट्र बन्ने, विदेशी हस्तक्षेप बढने र अन्तत्वगत्वा राष्ट्र बिखण्डनमा जाने डरालाग्दो खतरा देखिन्छ । यो सम्भावित खतराबारे जनतालाई सचेत गराउने तथा आफ्नो समन्वयवादी धारणा र मान्यतालाई राप्रपाले आगामी दिनमा विभिन्न कार्यक्रमहरुको माध्यमबाट जनसमक्ष पुर्‍याउने छ ।

(५) केन्द्रीय परिषदको म्याण्डेट अनुसार राप्रपाले संगठन निर्माण, जनपरिचालन, पार्टी एकता र जनसंघर्षको कार्यनीतिलाई आगामी दिनहरुमा अझ प्रभावकारी र सशक्त ढंगबाट अघि बढाउने छ । संगठन निर्माणको क्रममा देशका सम्पूर्ण ७५३ गाउँपालिका र नगरपालिकाका वडाहरुका पार्टी इकाईको गठन/पुनर्गठनलाई निरन्तरता दिइने छ । साथै, चार वर्ष अर्थात आगामी आमचुनाव अगावै पार्टीको ५ लाख सक्रिय सदस्यहरु बनाउने लक्ष्य पूरा गरिने छ । पार्टींसँग आबद्ध सबै भातृसंगठनहरुको महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गरिने छ । प्रदेश कार्यसमितिहरुलाई अधिकार सम्पन्न र प्रभावकारी तुल्याइने छ ।

  • हाल जारी रहेको हिन्दूराष्ट्र पुनर्स्थापना राष्ट्रिय जनजागरण अभियानलाई निरन्तरता दिइने छ । पहिलो चरणमा गाउँपालिका र नगरपालिकाका केन्द्रहरुमा र दोस्रो चरणमा प्रत्येक वडाहरुमा यो अभियान संचालन गरिने छ ।
  • मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई दुई चरणमा गरी सम्पूर्ण ७७ जिल्लाहरुमा संचालन गरिने छ । पहिलो चरणमा फाल्गुन १५ देखि ३० गते सम्म ताप्लेजुङ देखि कंचनपुर हुँदै काठमाण्डौसम्मका ३५ जिल्लाहरु र दोस्रो चरण उत्तर दक्षीण राजमार्गहरु हुंदै बांकी सबै जिल्लाहरुमा यो यात्रा पुग्नेछ । यस यात्राको माध्यमबाट माथि उल्लेख भए अनुरुपका पार्टीका नीति तथा धारणाहरु आमजनता समक्ष प्रत्यक्षरुपले पुर्‍याइने छ । यस कार्यक्रमबाट सम्पूर्ण जिल्ला र अधिकांश गांउपालिका र नगरपालिकाका लाखौ जनतासँग राप्रपाको प्रत्यक्ष सम्पर्क र सम्बन्ध स्थापित हुनेछ । 
  • देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने क्रममा समान बिचारधारा भएका राजनीतिक दलहरुसंग एकता कायम गर्ने प्रयास जारी रहने छ । पार्टीको एकता महाधिवेशनको म्याण्डेट अन्य दलहरुसँगको एकताको आधार हुनेछ । 
  • माथि उल्लेख भए बमोजिमका संगठन निर्माण, हिन्दूराष्ट्र पुनर्स्थापना जनजागरण अभियान, राष्ट्रिय स्वाभिमान यात्रा जस्ता कार्यक्रमहरुको कार्यान्वयनले आगामी फागुन ७ गतेबाट शुरु गरिने जनसंघर्षलाई उपयुक्त वातावरण र उर्जा प्रदान गर्नेछ । फाल्गुन ७ गते काठमाण्डौ उपत्यकामा सम्माननिय प्रधानमन्त्रि, प्रदेश राजधानीहरुमा माननिय मुख्यमन्त्री र जिल्ला सदरमुकामहरुमा प्रमुख जिल्ला अधिकारीलाई हिन्दूराष्ट्र पुनर्स्थापनालगायतका विभिन्न मागहरु राखेर ज्ञापनपत्र बुझाइने छ । शान्तिपूर्ण जनसंघर्षको स्वरुप र विस्तृत कार्यक्रम फागुन ३० गते हुने राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहमा घोषणा गरिने छ ।

(६) आमजनताको भावनालाई सम्मान गर्दै राप्रपाले आगामि दिनमा सत्ताकेन्द्रित होइन नैतिकता, सिद्धान्त र आदर्शमूखी राजनीतिमा आफूलाई समर्पित गर्नेछ । पार्टी भित्र विधि विधानको सम्मान, संस्थागत कार्यशैली र पारदर्शितालाई प्रोत्साहित गर्दै आन्तरिक प्रजातन्त्र सुदृढ तुल्याइने छ ।

गत निर्वाचनको पराजयलाई इखको रुपमा लिएर राप्रपाले आगामी आमचुनाव सम्ममा पार्टीलाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्ने तथा पार्टीले अबलम्बन गरेका हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापना गर्ने तथा देशको सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणमा नेतृत्वकारी भूमिका खेल्ने यो बैठक संकल्प गर्दछ ।

-राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा  अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन


 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कमल थापा

कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुनुहुन्छ । 

1 Comments

  • Suresh khadge

    Feb. 6, 2019, 1:05 p.m.

    कमल थापा जी ! .....गी सक्यो , दैलाे देख्यो भन्ने उखान तपाईंलाई थाहा नभएको हैन हाेला।

  •  0 Reply

तपाईको प्रतिक्रिया