झुलाघाटमा पक्की पुल निर्माणका लागि दबाब समिति गठन

 माघ २१, २०७५ सोमबार १२:४३:१० | जयराज अवस्थी
unn.prixa.net

बैतडी – नेपाल भारत सीमा झुलाघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि दबाब समिति गठन गरिएको छ । बैतडी उद्योग वाणिज्य संघको पहलमा माघ १५ गते सुख्खा फलफूल विकास केन्द्रको हेलिप्याड डाँडामा भएको सरोकारवालाहरुको बैठकले पुल निर्माण पहलका लागि सरकारलाई दबाब दिन समिति गठन गरिएको हो ।

झुलाघाटमा पक्की पुल नभएकै कारण भारतसँग सीधा व्यापार गर्न नसकिएको, भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याउन नसकिएकाले पक्की पुल निर्माणका लागि दबाब समिति गठन गरिएको समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताउनुभयो । २०५२ साल यता बनेका हरेक सरकारले झुलाघाटमा पक्की पुल निर्माणको आश्वासन दिने गरेको तर आश्वासनमै सीमित रहेकाले आफूहरुले समिति गठन गरेको उहाँले बताउनुभयो । 

समितिले सरकारलाई झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि लिखित रुपमै आग्रह गर्ने निर्णयसमेत गरेको छ । झुलाघाटमा पक्की पुल निर्माणका लागि दवाब दिन २७ जनाको समिति बनाइएको समितिका सदस्य एवं रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीले जानकारी दिनुभयो । सतबाँझमा केही दिन अघि परेको हिमपातले आन्तरिक पर्यटक तानेको तर पुल नभएकै कारण भारतीय पर्यटक आउन नसकेकाले पुल निर्माणार्थ दबाब दिन सतबाँझमा बैठक गरिएको उहाँले बताउनुभयो । 

झुलाघाटमा पक्की पुल निर्माण गर्न सकिए भारतबाट धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकिने र यसले यो क्षेत्रको आर्थिक गतिविधिमा बढावा दिने समितिका सदस्य एवं बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले जानकारी दिनुभयो । समितिले चरणबद्ध रुपमा पुल निर्माणका लागि दबाब दिने उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया