पहिलेकै पग्लेको छैन, फेरि पर्‍यो म्याग्दीमा हिउँ (फोटोसहित)

 माघ २६, २०७५ शनिबार १०:५४:४५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – बिहीबारदेखि परिरहेको निरन्तरको वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको छ । 

उच्च पहाडी जिल्ला म्याग्दीमा वर्षाका कारण भारी हिमपात भएको छ । १२ वर्षको अन्तरालमा जिल्लाको तल्लो क्षेत्रहरुमा पुनः दोस्रोपटक भारी हिमपात भएको हो ।

माथिल्लो क्षेत्रसहित तल्लो क्षेत्रको अधिकांश ठाउँहरुमा वर्षासँगै हिमपात भएको छ । समुन्द्री सतहदेखि १ हजार ३ सय मिटरको उचाइमा रहेका बस्तीहरुसम्मै हिउँ परेको छ । हिमपातपछि अहिले म्याग्दीका डाँडाकाँडाहरु सेताम्मे देखिएका छन् । 

म्याग्दी सदरमुकामदेखि २६ कोष टाढा रहेको विकट तथा दुर्गम गूर्जा गाउँमा तीन फिटभन्दा बढी हिउँ जमेपछि अहिले त्यहाँ सञ्चार सम्पर्कबिच्छेद भएको गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । 

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीका अधिकांश क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले स्थानीयको घर, आँगन र छानाहरु ढाकिएका छन् । जिल्लाको उच्च क्षेत्रका सबै बस्तीहरुमा बाक्लो हिमपात भएको छ ।

माघको दोस्रो साता परेको हिउँ पग्लिन नपाउँदै शनिबार बिहानैदेखि फेरि हिमपात भएपछि स्थानीयको दैनिकी थप कष्टकर बनेको छ । भारी हिमपात र अत्यधिक चिसोका कारण धाराको पानी जमेपछि समस्या भएको बेनी नगरपालिका–५, गाजनेका निलकण्ठ शर्माले जानकारी दिनुभयो । 

लेकाली बस्तीहरुको घर आँगनको कुना कुनासम्म हिउँ जमेको छ । म्याग्दीको उच्च भेगहरुमा ३ फिटभन्दा माथिसम्म हिमपात भएको छ भने तल्लो बस्तीका अधिकांश ठाउँहरुमा झण्डै १ फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातका कारण स्थानीयवासिन्दालाई भने घरको दैनिक कामकाज गर्न कठिनाई भएको छ । हिमपातपछि चिसो बढेको हुँदा स्थानीयलाई घर बाहिर निस्कन, शौचालय जान र वस्तुभाउलाई घाँसपानी र कुँडो खुवाउनै समस्या भएको छ । 

म्याग्दीको उपल्लो क्षेत्रमा पर्ने गूर्जा, मुदी, मल्कबाङ, खोप्रालेक, घोडेपानी, पुनहिल, महरेडाँडा लगायतका क्षेत्रमा बिहीबारदेखि नै हिमपात भए पनि बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्ली, पुलाचौर, पात्लेखेतलगायतका ठाउँमा शनिबार बिहानैदेखि बाक्लो हिमपात भएको स्थानीयको भनाइ छ । 

हिमपातपछि सदरमुकाम बेनीदेखि ग्रामी क्षेत्रमा चल्ने यातायात सेवा अवरुद्ध बनेको छ भने सवारीसाधनहरु नचल्दा सडक सुनसान छन् । मानिसहरु घरभित्र बसिरहेका छन् भने बाहिरी जनजीवन अस्तव्यस्त बनेको छ । 

लामो समयपछि परेको हिउँ खेलेर भने स्थानीय वासिन्दा रमाएका छन् । यता स्वास्थ्यकर्मीहरुले भने वर्षा र हिमपातले चिसो अत्यधिक बढेको हुँदा तत्कालै असर गर्न सक्ने भएकाले चिसोमा नबस्न, तात्तातो खानेकुरा खान र न्यानो कपडा लगाएर बस्न सर्वसाधारणलाई सुझाएका छन् । 

यसैबीच भारी वर्षा र हिमपातका कारण पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध बनेको छ । अन्नपूर्ण गाउँपालिका–३, दाना क्षेत्रमा पहिरो जाँदो सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अहिले सडक खुलाउने कार्य भैरहेको पनि बताइएको छ । 


 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया