फेरि अर्को पश्चिमी वायु, भोलिदेखि बदलीको सम्भावना

 माघ २७, २०७५ आइतबार ८:६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केहीदिनदेखि भैरहेको लगातार वर्षा र हिमपातपछि आइतबार मौसम सफा भएको छ । आइतबार काठमाण्डौसहित देशका धेरैजसो भूभागमा घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलले दिनुभएको जानकारी अनुसार पश्चिमी भेगमा आइतबार पनि आंशिक बदलीको सम्भावना रहेको छ । उहाँका अनुसार गएको बुधबार भित्रिएको पश्चिमी वायुको प्रभाव पूर्ण रुपमा हटेको भए पनि पश्चिमबाट फेरि आउन लागेको अर्को पानी पार्ने प्रणालीका कारण पश्चिमको मौसममा आंशिक बदली हुने देखिन्छ । 

सोमबारदेखि फेरि देशभरको मौसम बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।  

पछिल्लो समय लगातार रुपमा पश्चिमी वायु भित्रिरहेको छ । गएको पुस अन्तिममामात्र उपत्यकामा पहिलो पटक हिउँदे वर्षा भएको थियो । 

त्यसपछि माघको पहिलो साता आएको अर्को पश्चिमी वायुको प्रणालीले देशभर वर्षा र हिमपात भएको थियो । त्यसको प्रभाव नसकिँदै लगत्तै अर्को पश्चिमी वायु भित्रिएको थियो, जसले माघको दोस्रो साता पनि देशका विभिन्न ठाउँमा वर्षा र हिमपात गराएको थियो । 

गएको बुधबार भत्रिएको प्रणालीले बिहीबारदेखि तीन दिन लगातार देशका सबैजसो ठाउँमा वर्षा र उच पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको थियो । वर्षा र हिमपातका कारण जनजीवनसमेत प्रभावित भएको थियो । काठमाण्डौ वरिपरीका चन्द्रागिरि, फुल्चोकी, नगरकोट, शिवपुरी, तारेभिरलगायतका ठाउँमा पनि बाक्लो हिमपात भएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया