चाबहिल–साँखु सडकखण्डमा यात्रुलाई सास्ती

 माघ २७, २०७५ आइतबार १०:१५:१९ | रासस
unn.prixa.net

काठमाण्डाै – अहिले बन्दै गरेको चाबहिल–साँखु सडकखण्डमा लगातार तीन दिनकोे झरीले साँखुसम्म सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ । 

काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा माघ ७ गतेबाट लागेको माधवनारायण शाली नदी मेला भर्न विभिन्न जिल्लाबाट आउने भक्तजनले सडकका कारण निकै सास्ती भोग्नुपरेको दुखेसो पोखेका छन् । 

सडकमा भएका ठूला खाल्डो र सडक दायाँबायाँ बढाउने कार्य भइरहेकाले चाबहिलबाट साँखु जाने सवारी साधन ठाँउठाँउमा फस्ने गरेका छन् भने मोटरसाइकललाई गन्तव्यसम्म पुग्न निकै मुस्किल पर्ने गरेको छ । 

तीन दिनको झरीले यो सडकमा यात्रा गर्न निकै सास्ती छ । तीर्थयात्री प्रकाश कुँवर भन्नुहुन्छ, “मोटरसाइकल चिप्लिएर सडकमै पल्टिने गरेको छ, स्कुटर लान त झन निकै समस्या छ । मोटरसाइकलको आधा भाग हिलोमै गाडिन्छ ।” 

लामो सवारी जाम पर्ने तथा हिलोले दुर्घटनाको जोखिम पनि बढेको छ । मेला हेर्न आउने भक्तजन धेरै हुने गरेकाले सो सडकमा यातायातको निकै चाप हुने गरेको छ । गन्तव्यसम्म सवारीसाधन पुग्न नसक्दा तीर्थयात्री तथा सर्वसाधारण हिलाम्मे सडकमा पैदलकै भरमा मन्दिर जान बाध्य छन् ।

चाबहिल हुँदै साँखुसम्म पुग्ने सरल तथा वैकल्पिकमार्ग छैन । सोही एउटै सडकको प्रयोगमार्फत मात्रै साँखु पुग्न सकिन्छ । सोही कारणले पनि सवारी जामको समस्या खेप्न बाध्य हुनुपरेको रामप्रसाद दुलाल बताउनुहुन्छ । 

सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि टेण्डर आह्वान निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया