जम्मू–कश्मीरमा ठूलो आतंकवादी आक्रमण : ३० जना प्रहरीको ज्यान गयो, ४३ जना गम्भीर घाइते

 फागुन २, २०७५ बिहिबार १९:३३:२८ | एजेन्सी
unn.prixa.net

भारतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा परि केन्द्रीय रिजर्भ प्रहरी बल(सीआरपीएफ)का ३० जवानको ज्यान गएको छ ।

आक्रमणमा परि ४३ जना प्रहरी जवान गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय आतंकवादी जैश–ए–मुहम्मदले लिएको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार जैश–ए–मुहम्मदका आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको बस सीआरपीएफको बसमा ठोक्काएका थिए । विस्फोटबाट सीआरपीएफका जवान चढेको बस टुक्रा–टुक्रा भएको थियो । यो बस सीआरपीएफको ५४औँ बटालियनको थियो ।

संदिग्ध आतंकवादी आदिल अहमद डार

भारतीय समाचार संस्थाहरुले पुलावामामा बसेर आतंकवादी क्रियाकलापमा सलंग्न आदिल अहमद डारले आक्रमण गराएको बताएका छन् । 

सीआरपीएफ(अपरेसन्स) का आईजी जुल्फिकर हसनले आक्रमणको पुष्टि गर्दै भनेका छन्, ‘सीआरपीएफका समूहमा २० गाडी थिए । त्यसमध्ये एउटा गाडीमा आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काए । बस जम्मूबाट श्रीनगर जाँदै थिए ।’

जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकले राज्यमा अहिंसा फैलाएर अस्थिरता पैदा गर्ने समूहले आक्रमण गरेको बताएका छन् । 

त्यस्तै भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आक्रमणलाई कायरताको संज्ञा दिँदै घटनाबाट आफू निकै दुःखी भएको बताएका छन् । 

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणलाई निन्दनीय बताउँदै आक्रमणमा शहीद भएकाहरुको बलिदानी त्यसै खेर जान नदिने बताएका छन् ।

 

जम्मू–कश्मीरमा ठूलो आक्रमण भएपछि केन्द्रीय गृहमन्त्री राजनाथ सिंह शुक्रबार जम्मू कश्मीर जाने भएका छन् ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया