विषाक्त मदिरा सेवनबाट भारतमा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी, २०० जना बिरामी

 फागुन १२, २०७५ आइतबार ६:३३:१८ | एजेन्सी
unn.prixa.net

भारतको पूर्वी–उत्तर राज्य असममा विषाक्त मदिरा सेवन गर्दा ज्यान जानेकाे सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् । दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ । विरामीमध्ये महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् । 

स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताइएको छ । दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो । 

असमको गोलाघाट र जोरहाट जिल्लामा भएका बगानमा काम गर्ने मानिसहरूले विषाक्त मदिरा सेवन गर्न पुगेका थिए । गोलाघाटका प्रमुख प्रशासक धिरेन हजारिकाले त्यस्तो मदिरा सेवन गर्नेहरूमध्ये पहिलो व्यक्तिको मृत्यु बिहीवार भएको जनाइएको छ । 

गोलाघाट जिल्लामा मात्रै ५८ जनाको मृत्यु भएको प्रहरी अधिकारी पुष्कर सिंहले बताउनुभयो । अर्को स्रोतका अनुसार १२ जनाको मृत्यु जोरहाट जिल्लामा भएको छ । गोलाघाट स्वास्थ्य विभागका सहनिर्देशक डा. रतुल बोरदोलोईका अनुसार पीडितहरू बान्ता गर्दै र छाती दुख्ने एवम् सास फेर्न गाह्रो हुने गम्भीर समस्यासहित अस्पताल पुगेका थिए । 

गोलाघाट अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिका अनुसार उनी बिहीवार चिया बगानमा थिए ।अधिकारीहरूका अनुसार यो घटनाको छानिबिन गर्न एउटा समिति बनाइएको छ । 

राज्य प्रहरीका अनुसार उनीहरूले एक जनालाई अवैध मदिरा बेचेको आरोपमा समातेको छ । त्यस्तो मदिरा बिक्रीवितरण रोक्न नसकेको भन्दै दुईजना अधिकारीहरूलाई पनि निलम्बन गरिएको जनाइएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया