ताप्लेजुङको आकाशमा अहिलेसम्म तीन मन्त्रीले गुमाए ज्यान

 फागुन १५, २०७५ बुधबार १९:३७:३१ | केशवप्रसाद भट्टराई
unn.prixa.net

बुधबार हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री अधिकारीसहितका अन्य व्यक्तिकाे शव ल्याउँदै सेनाकाे हेलिकप्टर तस्बिर - रासस

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा अहिलेसम्म भएका हेलिकप्टर तथा जहाज दुर्घटनामा तीन मन्त्रीहरुको निधन भएको छ । 

ताप्लेजुङमा १३ वर्ष पछि पुनः अर्को ठूलो हवाई दुर्घटना भएको हो । बुधबार (आज) भएको दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाएका छन् । 

बुधबार  भएको दुर्घटनामा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाएका छन् । 

देशमै चर्चित पाथीभराको दर्शन गरेर उडेको एकै मिनेटमा फुङलिङ नगारपालिका १० को फुरुम्बुको दारेभिरमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डीएसपी सञ्जय सिंह थापाले बताउनुभयो । दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयर लायन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर ध्रुव भोछिभोया, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन अधिकारीको मृत्यु भएको छ । 

आज भन्दा १३ वर्ष अर्थात २०६३ साल असोज ७ गते कञ्जनजंघा संरक्षण क्षेत्र आयोजना समुदायमा हस्तान्तरण गर्न ताप्लेजुङ आइपुगेका तत्कालीन वन मन्त्री गोपाल राईलगायत चढेको हेलिकप्टर घुन्साको ढुङ्जे पहाडमा ठोक्किएर २४ जनाको मृत्यु भएको थियो । 

त्यतिखेर मृत्यु हुनेहरुमा मन्त्री राईसहित उहाँकी श्रीमती मिना राई, भूगोलविद हर्क गुरुङ,  विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि चन्द्रप्रसाद गुरुङ, वन सचिव दामोदर पराजुली, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक नारायणप्रसाद पौडेल र पूर्व महानिर्देशक तीर्थमान मास्के, वन विभागका महानिर्देशक शरद राई, संरक्षणविद्हरु मिङ्मा नोर्बु शेर्पा, यशिछोडेन लामा, दावाछिरिङ शेर्पा, नेपालका लागि फिनल्याण्डका राजदूत पाउली मुस्टोनेन, यूएसएआईडीका उप–महानिर्देशक मार्गरे अलेक्जेन्डर, बिना आचार्य, विश्व वन्यजन्तु कोष यूकेका जील बोविङ र जेनिफर हेड्ली, म्याथ्यो पिरस र नेपाल टेलिभिजनका पत्रकार हेमराज भण्डारी र सुनिल सिंहका साथै ताप्लेजुङका व्यवसायी विजय श्रेष्ठको ज्यान गएको थियो । 

त्यति मात्र होइन, पञ्चायत कालमा ताप्लेजुङबाट नै प्रतिनिधत्व गर्दै पहिलो पटक राज्यमन्त्री बनेका चन्द्रबहादुर पालुवासमेतको हवाई जहाज दुर्घटनामा परि ज्यान गएको थियो । 

ताप्लेजुङको सुकेटारबाट उडेको केही मिनेटमा नै जहाज आकाशमै आगो लागेर दुर्घटना भएको  र मन्त्री पालुवासँगै ११ जनाले ज्यान गुमाएको स्थानीयवासी बताउँछन् ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया