वार्ताबाटै समस्याकाे हल निकालाैँ, माहाेल बिग्रिए नियन्त्रण गर्ने कुरा न मेरो हातमा छ, न मोदीको हातमा : इमरान खान

 फागुन १६, २०७५ बिहिबार १३:६:५४ | एजेन्सी
unn.prixa.net

भारत र पाकिस्तानबीच  तनाव बढिरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फेरि एक पटक वार्ताबाटै समस्या समाधान गर्न अपिल गरेका छन् । 

बुधबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले परमाणु शक्तिसम्पन्न राष्ट्रबीच द्वन्द्व चर्काउनुभन्दा कुराकानीबाटै समस्याको हल गरिनुपर्ने बताए । 

युद्धबाट कसैको पनि भलाइ नहुने भन्दै उनले युद्ध कता जान्छ भन्ने थाहा नहुने बताएका छन् । साथै उनले दुवै पक्षले बुद्धिमतापूर्वक समस्याको हल निकाल्नुपर्ने बताएका छन् । 

प्रधानमन्त्री खानले सम्बोधनका क्रममा भने, ‘म भारतसँग सोध्छु, जुन हतियार तपाईँहरुसँग छ, ती हतियार हामीसँग पनि छ । यस्तो अवस्थामा हामी कुनै गल्ती गरेर बस्न सक्दैनौँ । यहाँबाट अवस्था बिग्रँदै गयो भने कता जान्छ ? त्यतिबेलाको अवस्था न मेरो नियन्त्रमा हुनेछ, न त मोदीको नियन्त्रण्मा । त्यसैले म फेरि पनि तपाईँलाई निम्ता दिन चाहन्छु, आउनुहोस् वार्ता गरौँ ।’ 

उनले अगाडि भने, ‘म फेरि पनि भन्छु, हामी वार्ताबाटै समस्याको हल गरौँ ।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने, ‘हामी पुलवामा आक्रमणका मारिएका व्यक्तिको परिवारको दुःख बुझ्दछौँ । हामी आफै दशकौँदेखि आतंकवादको शिकारमा रहेका छौँ । बम विस्फोटमा घाइते भएकाहरुलाई अस्पतालमा भेट्दै र मृत्यु भएका व्यक्तिका परिवार पनि भेट्दै आएको छु । हामीलाई युद्ध के हो राम्रोसँग थाहा छ । हामीले पहिलेदेखि नै भनेका छौँ कि पुलवामा आक्रमणका बारेमा प्रमाण दिए हामी संलग्नलाई कारबाही गर्छौँ ।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बुधबार नियन्त्रण रेखा पार गरेका भारतीय वायु सेनाका दुई वटा लडाकु विमान खसालेको दाबी पनि गरे । खानले भने, ‘हामी मात्रै आफ्नो क्षमता देखाउन चाहन्थ्यौँ ।  पाकिस्तानी आकाशमा आएका दुई वटा मिग विमानलाई हामीले खसाल्यौँ । म यो पनि बताउन चाहन्छु कि एक पाइलट हामीसँगै छन् । म भारतसँग वार्ता गर्न चाहन्छु । म भारतलाई समझदारी कायम राख्न र गम्भीरतापूर्वक सोच्न आग्रह गर्न चाहन्छु ।’

पाकिस्तानी प्रधानमन्त्रीले वार्ताको आह्वान गरे पनि भारतीय पक्षले भने आधिकारिक रुपमा यसको प्रतिक्रिया जनाएको छैन ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Kamal Bikram Garamja

    Feb. 28, 2019, 1:59 p.m.

    Really great Imran i slute you ye hui na badapwan wali baat.

  •  0 Reply

तपाईको प्रतिक्रिया