पूर्वाधार विकासको पर्खाइमा छ सुन्दरताको खानी ‘सोलेडाँडा’ (फोटोफिचर)

 फागुन १८, २०७५ शनिबार १६:३४:९ | प्रताप बानियाँ

म्याग्दी – सिरसिर बतास चलिरहने ठाउँ । पहाडको उच्च र सम्म परेको भू–भाग । वरिपरी घना वनजङ्गलले घेरिएको । चराचुरुङ्गीको चिरबिर–चिरबिर आवाज सुन्न पाइने । पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ ओझेलमा परेको छ । पर्यटकीयस्थल भए पनि ओखरबोटको सोलेडाँडा ओझेलमा पर्न गएको हो । 

प्रशस्तै मात्रामा पर्यटकीय सम्भावना भएर पनि ओखरबोटको सोलेडाँडा पूर्वाधार विकासको पर्खाइमा रहेको छ । पहाडको उच्च भागमा अवस्थित म्याग्दी जिल्ला र छिमेकी बागलुङ जिल्लाको सिमानामा पर्ने पर्यटकीयस्थल सोलेडाँडाले वर्षौंदेखि विकासका पूर्वाधारहरुलाई पर्खिरहेको छ । 

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटमा पर्ने पर्यटकीयस्थल सोलेडाँडा पर्याप्त सम्भावना हुँदाहुँदै पनि पूर्वाधार विकास नहुँदा ओझेलमा पर्दै जान थालेको हो । 

सोलेडाँडासम्म सडकको पहुँच पुगे पनि अन्य पूर्वाधारहरुको विकास नहुँदा पर्यटकीय क्षेत्र सोलेडाँडाले अभाव झेल्दै आइरहेको छ । 

म्याग्दीको रुम, ओखरबोट र बागलुङको पश्चिमी तमान, लाम्मेला क्षेत्रमा फैलिएको सोलेडाँडामा सडक विस्तारसँगै आन्तरिक पर्यटकको गन्तव्य बने पनि आवश्यक पूर्वाधारको अभावमा समस्या भएको छ । सोलेडाँडामा सडक विस्तार भए पनि विकासका अन्य पूर्वाधारहरु बन्न सकेका छैनन् । 

ओखरबोट गाउँको शिरमा पर्ने सोलेडाँडा बागलुङको तमानखोला गाउँपालिकासँग जोडिएको छ । सोलेडाँडामा पछिल्लोपटक आन्तरिक पर्यटकको चहलपहल बढेको ओखरबोटका स्थानीय नन्दबहादुर घर्तीमगरले बताउँदै यसको विकासका लागि दुवै जिल्लाका सरोकारवालाले ध्यान दिनुपर्ने माग गर्नुभयो । 

म्याग्दी सदरमुकाम बेनीबाट यातायातमार्फत एकै दिनमा सोलेडाँडा पुग्न सकिन्छ । 

म्याग्दीका चर्चित लोकगायक खड्ग गर्बुजाले ‘हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालाई....... भन्ने बोलको गीत गाएर चिनाएको भए पनि पर्यटकीयस्थल सोलेडाँडामा अझै आवश्यक पूर्वाधारहरु बनेका छैनन् । 

सोलेडाँडा घुम्न आउने पर्यटकहरुको सङ्ख्या बढ्दै गए पनि त्यहाँ बस्नका लागि उचित ठाउँ नहुँदा समस्या हुने गरेको छ । 

पर्यटकीयस्थल सोलेडाँडा पुग्ने स्वदेशी र विदेशी पर्यटकहरुका लागि पूर्वाधारको आवश्यकता परेको छ । जिल्ला बाहिरबाट सडकमार्ग भएर आउने पर्यटकहरुका लागि सोलेडाँडामा व्यवस्थित खानेपानी, शौचालय, टेन्ट लगायतका आवश्यक पूर्वाधारहरुको विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । 

यसैगरी खान र बस्नका लागि होटल, लज र रेष्टुरेन्ट समेत निर्माण गर्नुपर्नेछ । पिकनिक स्थलका लागि पनि यो ठाउँ उपयुक्त रहेको छ । 

म्याग्दीको पश्चिमी भेगसहित बागलुङको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत पर्ने तमान, खुङ्खानी, बुङ्गादोभान र खुङ्गालगायत क्षेत्रका बासिन्दाले आफ्नो जिल्लाको सदरमुकाम बागलुङ पुग्न सोलेडाँडाको बाटो प्रयोग गर्दै आइरहेका छन् ।

बागलुङको पश्चिमी क्षेत्र ढोरपाटन, बुर्तिबाङ र तमानखोलाका स्थानीयवासी बागलुङ जानका लागि सोलेडाँडा भएर जाने गरेका छन् । उनीहरु बागलुङ जानका लागि सोलेडाँडाको बाटो छोटो हुने भएकाले म्याग्दी भएर जाने गर्दछन् । 

ढोरपाटन जाने विदेशी पर्यटकहरु पनि म्याग्दीको पश्चिमी क्षेत्र हुँदै सोलेडाँडा भएर ढोरपाटन र रुकुम जाने गरेका छन् । समुन्द्री सतहदेखि करिब तीन हजार मिटरको उचाइमा रहेको सोलेडाँडा सडक सञ्जालसँग जोडिएपछि बागलुङको विकट क्षेत्रका बासिन्दाले समेत तीन दिन लगाएर सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएको छ । 

सोलेडाँडा सुन्दरताको खानी

पर्यटकीय क्षेत्र ओखरबोटको सोलेडाँडा सुन्दरताको खानीका रुपमा चिनिन्छ । सोलेडाँडाबाट आसपासका जङ्गलमा ढकमक्क फुलेका विभिन्न प्रजातिका लालीगुराँस, प्राकृतिक सुन्दरताको साथै धौलागिरि, गूर्जा, चुरेन, अन्नपूर्ण, निलगिरी, माछापुच्छे«लगायत आधा दर्जन हिमशृङ्खलाहरु देख्न सकिन्छ । 

सोलेडाँडामा चैत, वैशाखमा राताम्मे लालीगुराँस र पुस, माघमा सेताम्मे हिमालहरु देख्न पाइन्छ । यसैगरी लालीगुराँसको फुल समातेर हिमाललाई पृष्ठभूमिमा पारेर सेल्फी खिचेर रमाउन सकिन्छ । सोलेडाँडामा पुग्ने आन्तरिक पर्यटकहरु नजिकै रहेको गाँडाखसुङ तालमा पनि पुग्ने गरेका छन् । 

जडिबुटी र वन्यजन्तु पाइने

सोलेडाँडामा सुन्दरतासँगै पर्याप्त मात्रामा जडिबुटीहरु पाइन्छन् भने विभिन्न वन्यजन्तुहरु समेत भेटिन्छन् ।

यस क्षेत्रको वनजङ्गलमा सतुवा, निरमसी, तीतेलगायत महत्वपूर्ण जडिबुटीहरु पाइन्छ । त्यस्तै भुङ, खस्रुङ, गुराँस र गोब्रेसल्लाका रुखहरु सोलेडाँडाको वनजङ्गमा रहेका छन् । 

गुराँसको दारबाट बनेका ठेकामा राखेको दही र मोही खानका लागि एकदमै मीठो मानिन्छ । यो क्षेत्रमा रतुवा, मृग, बाघ, स्याल, चिर कालीज जस्ता बन्यजन्तु जनावर र पशुपंक्षीहरुको बासस्थान रहेको स्थानीयवासी बताउँछन् । 

हिउँमा रमाउन पाइने

पर्यटकीयस्थल सोलेडाँडामा पुस माघको महिनामा हिउँ परिरहने हुँदा त्यहाँ पुगेर हिउँ खेल्न पाइन्छ । हिउँसँग रमाएर आनन्द लिँदै मोबाइलमा सेल्फी खिचेर रमाउन सकिने सोलेको डाँडाबाट वरिपरीको दृश्यहरु निकै आकर्षक र मनमोहक देखिन्छ ।

यसपटक हिमाली क्षेत्रमा तीनचार पटकसम्म परेको हिउँ अझै पग्लिसकेको छैन । सोलेडाँडा पुग्ने सडकको दायाँबाया हिउँले ढपक्कै ढाकेको छ । सम्म परेको सोलेडाँडाको पाखामा रहेको हिउँको सिरकमाथि बसेर फोटो र भिडियो खिच्न सकिन्छ । 

दुई दिनको पैदलयात्रा सडक विस्तारसँगै चार घन्टामा सीमित भएपछि पश्चिम म्याग्दीका दरबाङ, देविस्थान, निस्कोट, रुमका विद्यालयबाट शिक्षक, विद्यार्थीहरु शैक्षिक भ्रमण तथा वनभोजका लागि सोलेडाँडा पुग्ने गरेका छन् । 

पर्यटकीय गन्तव्य बनाउनुपर्ने माग 

ओखरबोट र तमानखोला गाउँका स्थानीयबासिन्दाले पर्यटकीयस्थल सोलेडाँडालाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने माग गरेका छन् । स्वर्गद्वारी पुग्न सजिलो र छोटो दूरीको मार्गका रुपमा समेत चिनिने सोलेडाँडालाई उनीहरुले पर्यटकीय गन्तव्य रुपमा विकास गर्नुपर्ने माग गरेका हुन् । 

होमस्टे, भ्यूटावरलगायत पर्यटकलाई आकर्षित गर्ने खालका पूर्वाधार बनाउन दुवै जिल्लाबाट लगानीको आवश्यकता रहेको तमानखोला गाउँपालिका–१, बागलुङका लालबहादुर रोकाको भनाइ छ । 

सोलेडाँडा पुग्ने सडक विस्तारका साथै मर्मतसम्भार गर्ने गरिएको बताउँदै मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले गुरुयोजना बनाएर पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन गरिने बताउनुभयो । 
 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया