कानून समितिको वार्षिक प्रतिवेदन पारित
बैशाख ५, २०८२ शुक्रबार
कञ्चनपुर – पहिले चुलोचौकामा मात्रै सीमित महिला हिजोआज घरबाहिर निस्केर पुरुषले जस्तै काम गर्न सक्ने हैसियतमा पुगेका छन् । प्रायः सबै ठाउँमा महिलाको पहुँच पुगिसकेको छ । यस्तै गाउँठाउँमै बसेर आयआर्जन गर्ने महिलाको संख्या बढ्दै गएको छ । आफ्नै पौरखमा काम गर्ने यस्ता महिला समाजका लागि उदाहरणीय बनेका छन् ।
पापडले फेरेको परिचय
मेहनत र परिश्रमममा विश्वास गर्ने महिला हरेक काममा सफल हुँदै आएका छन् । हौसला भएका यस्ता महिला अवसर पाएमा सफल मात्रै होइन उदाहरणीय पनि बनेका छन् । यस्तै, उदाहरणीय बन्नुभएको छ कञ्चनपुरको भीमदत्त नगरपालिका १८ की माया भट्ट ।
भट्टलाई जिल्लामा मात्र होइन, अरु धेरै ठाउँका मानिसले पनि चिन्छन् । २०७० सालमा देशभरबाट उत्कृष्ट महिला उद्यमीका रुपमा छानिनुभएकी भट्टलाई यो ठाँउसम्म पुग्न निकै मेहनत गर्नुपरेको थियो ।
आफूले धेरै संघर्ष र मेहनत गरेर यो ठाँउमा पुगेको उहाँले बताउनुभयो ।
‘मलाई यो ठाँउसम्म पुग्न निकै कठिन बाटो हिँड्नुपर्यो’, उहाँले भन्नुभयो ‘समस्या परिसकेपछि मान्छेले त्यसबाट छुटकारा पाउनका लागि पनि परिश्रम गर्न सिक्दो रहेछ ।’
श्रीमान वाणिज्य बैंकमा जागिरे भएकाले दुई छोरा र दुई छोरीको पालनपोषण र पढाईमा कुनै कमी थिएन । न त कुनै व्यापार व्यवसाय गर्ने उहाँको लक्ष्य नै थियो ।
जब २०५७ साल फागुनमा जागिरे श्रीमानको निधन भयो, त्यसपछि भट्टलाई बज्रपात पर्याे । श्रीमानको जागिरबाट आएको तीन लाख रुपैयाँ काजकिरिया र ऋण तिर्दा सकियो । घरखर्च र छोराछोरीको पढाइ खर्च चलाउन उहाँसँग आम्दानीको कुनै स्रोत भएन । त्यसपछि २०६३ सालमा हेल्बिटासबाट पापडको तालिम लिएर उहाँ उद्यमतर्फ लाग्नुभयो ।
पापडको तालिम लिन साथीहरुले नमानेको सम्झँदै भट्ट भन्नुहुन्छ ‘अरुलाई त काम नगरे पनि पुग्ने थियो । मलाई त छोराछोरी पढाउन र घरखर्च चलाउन केही काम गर्नैपर्ने बाध्यता थियो ।’
पापडबाट उद्यमशीलतामा लाग्नुभएकी भट्टले अहिले लिटो, नमकिन, चिप्सलगायतका सामाग्री उत्पादन गर्नुहुन्छ ।
आफूले उत्पादन गरेका सामाग्रीको अहिले देशैभर नै माग रहेको उहाँको भनाइ छ ।‘मैले बनाएका पापड, चिप्स र लिटोको अहिले धेरै ठाँमा माग छ’ उहाँले भन्नुभयो ‘तर, माग अनुसारको उत्पादन गर्न सकिरहेकी छैन ।’
काम सानो ठूलो नहुँने बताउदै आँट र जाँगर हुने हो भने पुरुष भन्दा महिला नै बढी सफल हुने उहाँ बताउनुहुन्छ । ‘काम गर्न मन छ र गर्न सक्छु भन्ने आँट छ भने तपाईलाई पैसाले पनि रोक्दैन’, उहाँले भन्नुभयो ‘मैले पनि सानो कामबाटै सुरुवात गरेकी हुँ । अहिले म मात्रै चिनिएकी छैन, मैले बनाएको लिटो देशभरीकै सर्वोत्कृष्ट लिटोको रुपमा चिनिन्छ ।’
विगतमा आफूलाई काममा असहयोग गर्नेहरु पनि अहिले घर खर्च चलाएर मासिक ३५÷४० हजार रुपैयाँ बचत गर्दा छक्क परेको उहाँ बताउनुहुन्छ ।
‘पहिले मसँग एउटा दुई काठे घर र थोरै जग्गा मात्रै थियो । तर, आयस्रोतको कुनै बाटो थिएन्’, उहाँले भन्नुभयो ‘उद्यममा लागेपछि छोरीछोरीलाई निजी विद्यालयमै पढाएँ । मासिक ३५ हजार बचत गर्छु साथै अढाई करोड जतिको सम्पत्ति पनि जोडेकी छु ।’
कृषिमा महिला
भीमदत्त नगरपालिका १० तिलाचौरकी पार्वती साउद पनि जिल्लामा उत्कृष्ट महिलामा पर्नुहुन्छ । विगत १० वर्षदेखि केरा व्यवसाय गर्दै आउनुभएकी साउदले पनि कामलाई सानो ठान्नु भएन । बरु बाँझो खेतमा पसिना बगाएर सफल व्यवसायी बन्नुभयो । केरा व्यवसायबाटै छोराछोरीलाई विदेशमा उच्च शिक्षा पढाउँदै गर्नुभएकी साउद आफ्नो परिश्रम र मेहनतमा सन्तुष्ट हुनुहुन्छ ।
परम्परागत खेतीमा भन्दा व्यवसायिक रुपमा केरा खेतीमा लागेपछि आम्दानी समेत राम्रो भएको उहाँले बताउनुभयो ।
‘सिंचाईको व्यवस्था नभएकाले जति मेहनत गरे पनि अन्नबाली त्यति फल्थेन’ उहाँले भन्नुभयो ‘पछि कृषिको अनुदानमा बोरिङको व्यवस्था भयो । अनि केरा खेतीमा लागेर अहिले राम्रो आम्दानी भइरहेको छ ।’
जिल्ला र राष्ट्रियस्तरबाट पुरस्कृत हुनुभएकी साउदले व्यवसायिक रुपमा कृषिमा लागेका महिलालाई सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
महिलाको पिठ्युँमा सिमेन्टको भारी
हिजोआज धेरै महिला पुरुषले मात्र गर्ने भनिएका अरु काममा पनि आकर्षित छन् । यसको उदाहरण बनेका छन् बेदकोट नगरपालिका ६ मुसेपानीका महिला । उनीहरुले फुर्सदका बेला महाकाली सिंचाई तेस्रो चरण अन्तर्गतको नहर निर्माणका लागि आएको सिमेन्ट अनलोड गर्ने काम गर्छन् ।
गाउँमा अरु रोजगारी नभएपछि घरखर्च चलाउनकै लागि पनि आफूहरुले सिमेन्ट अनलोडको काम गर्ने गरेको स्थानीय मिना विष्टले बताउनुभयो । उहाँले अनलोड गरेवापत प्रतिबोरा ५ रुपैयाँ आम्दानी हुने बताउनुभयो ।
‘अरु केही काम पाईंदैन, सिमेन्ट नबोकेर के गर्नु ?’ प्रश्न गर्दै उहाँ भन्नुहुन्छ ‘गाडी आएको बेला एकदिन बोक्न पायौं भने पाँच सय रुपैयाँ जति हुन्छ । त्यति भए अलि दिनलाई नुन तेल पुग्छ ।’
उहाँका अनुसार यस क्षेत्रमा रहेका विपन्न परिवारका झण्डै २५ जना महिलाहरुले यस्तो काम गर्ने गर्दछन् ।
काम गर्न लाज मान्न नहुने बताउँदै पुरुषले गर्ने काम महिलाले पनि गर्न सक्ने अर्की स्थानीय पार्वती बडुले बताउनुभयो ।
‘गाडीमा लोड अनलोडको काम धेरैजसो पुरुषले गर्ने भएकाले पनि महिलाले काम गर्न लाज मान्ने चलन छ’ उहाँले भन्नुभयो ‘तर काम गर्न लाज मान्नु हुदैन, आफूले सकिन्छ भने जुनसुकै काम गर्दा हुन्छ, त्यसमा महिला र पुरुषले गर्ने भन्ने कुरा हुँदैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।