तामिलनाडु : यौन उत्पीडनको भिडियो बनाउने यो समूह

 चैत १, २०७५ शुक्रबार १०:५२:४९ | एजेन्सी
unn.prixa.net

भारतीय सोसल मिडियामा एउटा भिडियो तीब्र रुपमा फैलिरहेको छ । उक्त भिडियोमा एक युवती रोइ कराई गरिरहेकी छिन् । उनी आफ्ना ‘प्रेमी’ र उनका साथीसँग यौन उत्पीडन नगर्न आग्रह गरिरहेकी छिन् । 

यो घटना दक्षिण भारतको तामिलनाडुको कोयंबतुर जिल्लाको हो । यस घटनामा संलग्न रहेका चार अभियुक्तको नाम सार्वजनिक भएको छ – वसन्त कुमार, सबरीश, सतिश र तिरुनावकरसु । तिरुनावकरसुलाई मुख्य अभियुक्तका रुपमा हेरिएको छ । यी चारै अभियुक्तलाई पुलिसले पक्राउ पनि गरिसकेको छ ।

यी चारैजना पोल्लाची शहरमा बस्दै आएका छन् । उनीहरुविरुद्ध सामाजिक सञ्जालमार्फत युवतीसँग साथी बन्ने र उनीहरुलाई सुनसान ठाउँमा लगेर यौन उत्पीडनको भिडियो बनाउने गरेको र भिडियो सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गर्ने गरेको आरोप लागेको छ ।

पीडितको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनका भाइले पोल्लाची पुलिस चौकीमा उजुरी दिएका थिए । घटनाका बारेमा पीडितका भाइले उजुरी दिएपछि पीडितका भाइलाई केही मानिसहरुले हमला गरेका थिए । हमला गर्नेमध्ये वसन्त कुमार, सेन्तिल र नागराजलाई पनि पुलिसले पक्राउ गरेको छ ।

पुलिसले दिएको जानकारी अनुसार उनीहरुले अभियुक्तबाट चारओटा मोबाइल  फोन जफत गरेका छन् जसमा चार महिलाको यौन उत्पीडनको भिडियो भेटिएको छ । तिरुनावकरसु आफ्नो महिला साथीकै कारण कयौँ पटक पुलिसबाट बचेका छन् । पुलिसले ती महिलाको पहिचान भने खुलाएको छैन ।
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया