खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
स्विडेनकी एक १६ वर्षे किशाेरी ग्रेटा थुन्बर्ग नोबेल शान्ति पुरस्कारको लागि मनोनयनमा परेकी छिन् । जलवायु परिवर्तनका लागि लडेको र यसबारे विभिन्न अभियान चलाएको भन्दै यो वर्षको नोबेल शान्ति पुरस्कारको लागि उनको उम्मेद्वारी मनोनित गरिएको हो ।
तीन जना नर्वेली सांसदले नोबेल पुरस्कारका लागि उनको नाम दर्ता गराएका हुन् । यदि उनले यो पुरस्कार जितिन् भने उनी सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता बन्नेछिन् । पाकिस्तानकी मलाला युसुफजाई अहिलेसम्मकै सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता हुन् । यो पुरस्कार पाउँदा उनी जम्मा १७ वर्षकी थिइन् ।
थन्बर्गले मनोनयनमा परेकोमा आफू सम्मानित भएको भन्दै ट्वीट गरेकी छिन् ।
नर्वेका समाजवादी सांसद फ्रेडी आन्द्रेले भनेका छन्, ‘हामीहरुले ग्रेटा थनबर्गको नाम प्रस्तावित गरेका छौँ । किनभने यदि जलवायु परिवर्तन रोक्नको लागि केही पनि गरेनौ भने हामी युद्धको कारण बन्न सक्छौँ ।’ उनले भने, ‘ग्रेटा थनबर्गले विभिन्न अभियानहरु सञ्चालन गरेकी छन्, जसलाई मैले शान्तिको लागि गरिएको प्रमुख योगदान ठानेको छुँ ।’
सय भन्दा बढी देशहरुमा शुक्रबारको दिन हजारौँ स्कुले विद्यार्थीहरु जलवायु परिवर्तनको विरुद्ध आन्दोलनमा उत्रिन्छन् । भविष्यका लागि शुक्रबार भन्ने ह्यासट्यागसहितकाे यो स्कुले अभियान ग्रेटाले नै चलाएकी हुन् ।
अहिले यो अभियान फैलिएर विश्वव्यापी बनिसकेको छ । जर्मनी, फ्रान्स, बेलायत, बेल्जियम, अष्ट्रेलिया, जापानलगायत विश्वका विकसित देशहरुमा यो अभियान छाइरहेको छ ।
को हुन्, ग्रेटा ?
स्विडेनकी एक किशोरी । जसले आफ्नो ट्विटरमा आफैलाई वर्णन गरेकी छिन्, ‘एउटी १६ वर्षे जलवायु अभियानकर्ता’ ।
Honoured and very grateful for this nomination ❤️ https://t.co/axO4CAFXcz
— Greta Thunberg (@GretaThunberg) March 14, 2019
गएको वर्षको अगस्टमा स्विडेनको संसद अगाडि प्रदर्शन गर्दै उनले यो स्कुले आन्दोलनको सुरुवात गरेकी थिइन् । त्यसपछि सधैँको शुक्रबार उनी आफ्नो कक्षाको पढाइ छुटाउँछिन्, जलवायु परिवर्तनकोविरुद्ध आवाज उठाउन ।
गएको डिसेम्बरमा पोल्याण्डमा आयोजित एक संयुक्त राष्ट्रसंघको कार्यक्रममा र जनवरीमा डेभोसमा आयोजित विश्व आर्थिक फोरममा उनले जलवायुको बारेमा बोलेकी थिइन् ।
त्यसपछि जलवायु परिवर्तनमाथि विश्वव्यापी ध्यानाकर्षण गर्न उनी निरन्तर रुपमा लागिरहेकी छिन् । ग्लोबल इकोनोमिकका अगुवासँग उनले भनिन्, ‘जलवायु परिवर्तनबारे असफल भएको कुरा हामीले स्वीकार गर्नुपर्ने हुन्छ ।’
नोबेल पुरस्कारको लागि मनोनयन र छनौट कसरी गरिन्छ ?
राष्ट्रिय राजनीतिज्ञ, अन्तर्राष्ट्रिय अधिकारीहरु, वौद्धिक वर्ग तथा पूर्व नोबेल पुरस्कार विजेताहरुले उपयुक्त ठानेको व्यक्तिको नाम नोबेल पुरस्कारको लागि मनोनित गर्न सक्छन् ।
नोबेल पुरस्कारको घोषणा हरेक वर्षको अक्टोबरमा हुन्छ र डिसेम्बरमा नर्वेको राजधानी ओस्लोमा पुरस्कार प्रदान गरिन्छ ।
सन् २०१९ मा नोबेल शान्ति पुरस्कारको लागि ३ सय १ जना मनोनयनमा परेका छन् । तिनीहरुमध्ये २ सय २३ व्यक्तिगत र ७८ संघसंस्था रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।