विप्लवलाई प्रचण्डजीले नै चिन्नुहुन्छ, सहमतिमा ल्याउने काम उहाँकै हो : नेता पौडेल

 चैत १, २०७५ शुक्रबार १९:३६:३२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आतंककारीको बिल्ला भिराई राजनैतिक प्रतिबन्ध लगाउनुको साटो वार्ता र संवादको माध्यमबाट सहमतिमा ल्याउनुपर्ने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो ।

विप्लव समूहलाई मूल धारको राजनितिमा समावेश गराउन सरकारले विशेष जोड दिनु पर्ने वरिष्ठ नेता पौडेलले बताउनुभयो ।  

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ ले यशोधरा गाउँपालिकामा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले विप्लव समूहलाई सहमतिमा ल्याउने मुख्य जिम्मेवारी सत्तारुढ दलका नेता पुष्पकमल दाहालकै रहेको बताउनु भएको छ । ‘सर्पको खुट्टा सर्पले नै देख्छ’, नेता पौडेलले भन्नुभयो, ‘हिजो सँगै हिंसात्मक कथित जनयुद्धका सहयात्री विप्लवलाई प्रचण्डले नै राम्ररी चिन्नु हुन्छ । अब यसको व्यवस्थापन कसरी गर्नु हुन्छ प्रचण्डजीले हेर्न चाहेको छु ।’

त्यस अवसरमा नेता पौडेलले सीके राउतले विखण्डनकारी नीति अझै नछोडेको भन्दै राउतले सरकारलाई नराम्ररी झुक्याएको आरोप लगाउनुभयो ।

आम सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अतहर कमाल, जिल्ला सभापति सुरेन्द्रराज आचार्य, भारतका लागि पूर्व राजदूत दिपकुमार उपाध्याय, प्रदेश सभा सदस्य रिना नेपाल, पूर्व पार्टी सभापतिहरु सुधाकर पाण्डेय, राजेश आचार्य, क्षेत्रीय सभापति गिरिजेश पाण्डेयलगायतले सम्बोधन गर्नु भएको थियो ।

 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया