पूर्व भारतीय क्रिकेटर गौतम गम्भीर बीजेपीमा सहभागी, के उनी चुनावमा उठ्दैछन् ?

 चैत ८, २०७५ शुक्रबार १४:५७:१५ | एजेन्सी
unn.prixa.net

भारतीय क्रिकेटर गौतम गम्भीर अब राजनीतिक पिचमा ब्याटिङ गर्दैछन् । यो ब्याटिङ उनी भारतीय जनता पार्टीको लागि गर्नेछन् । उनले बीजेपीका वरिष्ठ नेता अरुण जेटली र रविशंकर प्रसादको उपस्थितिमा पार्टी प्रवेश गरे ।

गौतम गम्भीरले आफू नरेन्द्र मोदीबाट प्रभावित भएर राजनीतिमा उत्रेको र अब देशको लागि केही गर्न चाहेको बताए । यता अरुण जेटलीले भने गम्भीरले चुनाव लड्ने की नलड्ने केही पनि बताएनन् । उनले भने, ‘यसको निर्णय पार्टीले नै गर्ने छ ।’

पाकिस्तानी क्रिकेटरसँग लड्दै गरेको गम्भीरको सबैभन्दा चर्चित तस्बिर सम्झिँदै अरुण जेटलीले भने त्यो त उनको खुबी थियो । उनले भने, ‘खासमा त गौतम गम्भीर र शाहीद अफ्रिदीकाे बीच मैदानमा भएको भिडन्त एकदमै चर्चित भएको थियो ।’ उनले थपे, ‘यदि यस्तै आवश्यकता पर्‍यो भने उनले सडकमा पनि त्यस्तै खाले आक्रामकता देखाउन सक्छन् ।’

गम्भीर राजनीतिमा के-के गर्नेछन्, त्यो त भविष्यले नै बताउनेछ । तर खेलाडीको रुपमा गम्भीर धेरै पटक हिरो बनिसकेका छन् । सन् २००७ को टी-२० फाइनलमा पाकिस्तानविरुद्ध कोही ब्याट्सम्यान पनि टिक्न सकेका थिएनन् । तर गम्भीरले एक साइड सम्हाली राखे र ७५ रनको शानदार पारी खेल्दै भारतीय टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएरै छाडे ।

सन् २०१४ मा अरुण जेटलीकाे पक्षमा प्रचार गर्दै गौतम गम्भीर

चार वर्षपछि मुम्बईको वानखेडे स्टेडियम । श्रीलंकाको चुनौतीपूर्ण स्कोरलाई पछ्याउन उत्रेको भारतीय टोलीले विरेन्द्र सहवाग र सचिन तेन्दुलकरको विकेट गुमाइदिए । तर गम्भीरले एकपटक फेरि ९७ रनको  पारी खले र टिमलाई सम्हाले । तर यो दुइटै मौकामा मेहेन्द्र सिंह धोनी, उनको कप्तानी र क्षमताको निकै प्रशंसा भयो । तर पनि गौतम गम्भीरका यी र यस्तै खाले प्रस्तुतिहरु उनीबाट कसैले पनि खोस्न सक्दैन ।

क्रिकेटबाट सन्यास लिएपछि केही मान्छेले उनलाई कमेन्टेटरको रुपमा त कसैले क्रिकेट कोचको रुपमा हेर्न थाले । तर उनी राजनीतिमा पनि आउने छन् भन्ने कुरा भने कमैलाई मात्र थाहा थियो । मानिसहरुले पहिलेदेखि नै उनी भाजपामा प्रवेश गर्न सक्छन् भन्दै सामाजिक सञ्जालमा लेखिरहेका थिए ।

गम्भीरले पहिला पनि भाजपा नेताको लागि चुनाव प्रचारप्रसारमा सहयोग गरेका थिए । अनि उनको सामाजिक सञ्जालका प्रतिक्रियाहरु हेरेर यो पनि थाहा हुन्छ कि, उनी दिल्लीको आप सरकार र विशेषगरी अरबिन्द केजरिवालमाथि कटाक्ष प्रहार गर्छन् र कांग्रेसलाई पनि टेर्दैनन् ।

सन् २०१४ मा उनी अरुण जेटलीको पक्षमा चुनाव प्रचार गर्नको लागि अमृतसरसम्म पुगेका थिए । नोभेम्बर ४ मा उनले कांग्रेस नेता तथा पूर्व कप्तान मोहम्मद अजहरुद्धीनको एक तस्बिर पोष्ट गर्दै लेखेका थिए, ‘आज भारतीय टिमले इडेन गार्डेनमा जिते पनि बीसीसीआई, सीओए र सीएबीले हारेका छन् । यस्तो लाग्दै छ कि आइतबार भ्रष्टकोविरुद्ध नो टोलरेन्स पोलिसी पनि बिदा मनाउन जाँदो रहेछ ।’

गौतम गम्भीरले ५८ टेस्ट म्याचमा ४१ दशमलब ९५ को औसतमा जम्मा ४ हजार १ सय ५४ रन बनाएका छन् । यसमा ९ शतक र २२ अर्धशतक पनि समावेश छन् । गम्भीरले जम्मा ३७ टी-२० म्याच खेलेका छन् । जसमा उनले २७ दशमलब ४१ को औसतमा ९ सय ३२ रन बनाएका छन् ।
 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया