नेपालमा भारतीय हस्तक्षेपको पराकाष्ठा : आफ्नै भूमिमा सडक बनाउन दिँदैन

 चैत ८, २०७५ शुक्रबार १९:२०:३० | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – नेपाली भूमिमै सडक निमार्णका क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हस्तक्षेप गरेको छ । 

भीमदत्त नगरपालिका–९, ब्रह्मदेव बजारनजिकै आफ्नै भूमिमा सडक निर्माण गरिरहका बेला एसएसबीका जवानले भीमदत्त नगरपालिकाको काम गर्न रोकेका हुन् । उनीहरुले त्यो क्षेत्र विवादित रहको भन्दै सीमा सर्भे टोलीले नक्साङ्कन नगरुञ्जेल सडक निर्माण गर्न अवरोध गरेको भीमदत्त नगरपालिका–९, का वडाध्यक्ष राम नाथले बताउनभयो । एसएसबीको अवरोधपछि सडक निर्माणको काम अलपत्र परेको उहाँले बताउनुभयो ।

आफ्नो भूमि भएको दाबी गर्छ भारत

यसअघि, गएको साउनमा त्यसै क्षेत्रमा भारतले एकलौटी ढंगले सडक निर्माण गर्न खोजेको थियो । तर, स्थानीयले अवरोध गरेपछि भारतले नेपालतर्फ पर्ने १ सय ५० मिटर सडकमा काम रोकेको थियो ।

त्यसलगतत्तै दुवै पक्षका उच्च अधिकारीहरुको बैठकले आ–आफ्नो भूमिमा पर्ने सडक आफै निर्माण गर्ने मौखिक सहमति भएको थियो । सहमतिअनुसार भारतले आफ्नो भूमिमा पर्ने १२ सय मिटर आरसीसी गरेको छ भने नेपालतर्फ पर्ने १ सय ५० मिटर सडक कालोपत्रे गर्न भीमदत्त नगरपालिकाले ४३ लाखमा न्यू जोशी कन्स्ट्रक्सनसँग सम्झौता गरेको छ । तर, सम्झौताअनुसार सडक निर्माणका लागि जाँदा एसएसबीले काम गर्न नदिएको वडाध्यक्ष राम नाथको भनाइ छ । 

३ नम्बर सीमास्तम्भ नै गायब

टनकपुर बाँध निर्माणकै बेला ३ नम्बर सीमास्तम्भ हराएको स्थानीयले बताउने गरेका छन् । भारतले बाँध निर्माण गरेपछि स्तम्भ पानीभित्र डुबेको थियो । तर, डुबेको सीमास्तम्भलाई बाहिर राख्ने विषयमा नेपाल सरकारले चासो नदेखाएकाले त्यस क्षेत्र सधैँ विवादित बनेको स्थानीयले केशवसिंह नायकले बताउनुभयो ।
उहाँले स्तम्भकै आसपास पर्ने बाँधमा रहेको सिँढीलाई नै स्थानीयले सीमास्तम्भ मान्दै आएको बताउनुभयो । 

सरकारले बाँध निर्माण गर्दा सीमास्तम्भका बारेमा ध्यान नदिएकाले आफूहरुले सधैँ भारतीयको सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ । 

यता, भारतले सन् १९९६ को केन्द्रीय सहमति भएको बताउँदै टनकपुर ब्यारेजदेखि ब्रम्हदेव बजारसम्म आफ्ना भूमि दाबी गर्ने गरेको छ । तर, समयमै सीमा विवाद नटुंग्याएकाले पनि सीमा क्षेत्रमा बस्ने नेपाली भारतीयको हस्तक्षेपबाट पीडित हुने गरेका छन् । 

दशगजामा भारतको मनपरी

नेपाललाई सर्भे टोलीले काम गरिरहेको भन्दै दशगजा क्षेत्रमा काम गर्न रोक्ने भारतीय पक्षले आफूले भने दशगजा क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ ।

गएको माघमा कञ्चनपुरकै डोकेबजारमा एकलौटी रुपमा टे«ञ्च खनेको भारतले अहिले अन्तर्राष्ट्रियस्तरको जैविक मार्ग नै बन्द हुने गरी तारबार लगाउने कामसमेत गरेको छ । तर, भारतीय ज्यादतीविरुद्ध नेपाली प्रशासनले भने खासै ठोस कदम चाल्न सकेको देखिँदैन । बरु, सीमामा दुवै देशका सर्भे टोलीले काम गरिहेको भन्दै आफू भने पन्छिने गरेका छन् । 

दुवै देशका सर्भे टोलीले हाल सीमा क्षेत्रमा काम गरिरेकाले त्यसको समाधान पनि सर्भे टोलीले नै गर्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो । उहाँले नेपाल भारतका उच्च अधिकारीको बैठकमा यसबारे कुरा राख्ने बताउँदै तत्कालका लागि दुवै पक्षले काम रोक्ने सहमति गरेको बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया